सुनसरीका दुई स्थानमा आयोजना गर्न लागिएको मुस्लिम धर्मसभा इज्तेमा स्थगित गृहमन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालयले स्थगित गर्न पत्राचार ग-यो

धरान । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नं. १३ र दुहवी नगरपालिका वडा नं. १ मा आयोजना गर्न लागिएको वृहत मुस्लिम धर्मसभा ‘इज्तेमा’ स्थगित भएको छ । गृहमन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय सुनसरीले आइतबार स्थगित गर्न पत्राचार  गरेपछि इज्तेमा स्थगित भएको हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले यस अगाडि पनि गृह मन्त्रालयकै निर्देनमा कार्तिक २५ गते पहिलो पटक इज्तेमा स्थगन गर्न लिखित निर्देशन दिएको थियो । जिल्ला प्रशासन कार्यालय सुनसरीको निर्देशन पश्चात सुनसरीका अगुवा मुस्लिम नेताहरु, मुस्लिम आयोगका पदाधिकारीहरु, राजनैतिक पार्टीसँग आवद्ध मुस्लिम संघ, संगठनका पदाधिकारीहरुले कार्तिक २८ गते मंगलबार काठमाण्डौ पुगी गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग इज्तेमा आयोजना गर्न दिन आग्रह गरेका थिए । मुस्लिम अगुवाहरुको आग्रहपश्चात गृहमन्त्री श्रेष्ठ  सकारात्मक देखिएपछि उनीहरु सुनसरी फर्किएका थिए । तर गृहमन्त्रालयले ६ दिनसम्म जिल्ला प्रशासन कार्यालय सुनसरीलाई इज्तेमा आयोजना गर्न दिने सम्बन्धी कुनै पत्राचार गरेन । आयोजकहरुले इटहरी उपमहानगरपालिका र दुहवी नगरपालिकामा समेत निवेदन दिए । दुवै नगरपालिकाले उक्त पत्र जिल्ला प्रशासन कार्यालयलाई प्रेसित गरिदियो ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेसँग यसै सम्बन्धमा जिज्ञासा राख्दा गृहले वर्तमान विषम् परिस्थितिमा सुरक्षाको कारण देखाउँदै स्थगन गर्न निर्देशन दिए पश्चात आफूले आयोजकलाई स्थगनको पात्रचार गरेको हो । आयोजकले इज्तेमा आयोजना गर्न नदिन जिल्ला प्रशासन कार्यालयमा पत्राचार गरेपछि उसले गृहसँग राय माग गरेको थियो । प्रमुख जिल्ला अधिकारी पाण्डेले भन्नुभयो गृह मन्त्रालयको निर्देशन कार्यान्वयन गर्नु, गराउनु आफ्नो प्रमुख दायित्व भएकोले सोही बमोजिम निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो आयोजक पक्षले आफ्नो कार्यक्रम स्थगित गर्ने विश्वास छ । जिल्ला प्रशासन कार्यालयको स्वीकृति विना यस्ता सभाहरुको आयोजना गर्न नपाइने र कसैले गरेमा सुरक्षा दिन नसक्ने समेत उहाँले प्रष्ट पार्नुभयो । सुनसरीको खनारमा मंसिर ५ देखि ७ गतेसम्म र दुहवीमा ७ गतेदेखि ९ गतेसम्म इज्तेमा कार्यक्रम आयोजना गर्न लागिएको  थियो । छोटो दुरीमा र समय समेत मिल्दोजुल्दो हुने गरी दुई फरक समूहले इज्तेमा कार्यक्रम आयोजना गर्न लागेका थिए । प्रशासनको स्वीकृति बिनै उनीहरुले कार्यक्रमका लागि तयारी तिब्र पारेका थिए । दुवै स्थानमा हुने इज्तेमामा सहभागी हुन भारत, बंगलादेश, पाकिस्तान, तुर्की, अरब मुलुकहरुबाट मुस्लिमहरु आउने क्रम जारी भएको थियो । जिल्ला प्रशासन कार्यालय सुनसरीले मंसिर ३ गते आइतबार जारी गरेको इज्तेमा कार्यक्रम स्थगन सम्बन्धमा अत्यन्त जरुरी सूचना प्रकाशित गर्दे भनेको छ –‘नेपाल वहुजातीय, वहुभाषिक, वहुधार्मिक, वहु साँस्कृतिक, विविधतायुक्त मुलुक भएको हुँदा सामाजिक, साँस्कृतिक ऐक्यवद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवद्र्धन गर्दै वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक तथा लैंगिक जस्ता पक्षहरुको सम्मान र संरक्षण गर्ने  राज्यको दायित्व र संकल्प भएको र सोही अनुसार राज्य सञ्चालन हुँदै आएको व्यहोरा सबैमा सर्वविद्धितै छ ।
सूचनामा भनिएको छ–‘इस्लाम धर्मालम्बीले इटहरी उपमहानगरपालिका वडा नं. १३ खनारमा मंसिर ५,६,७ गते र दुहवी नगरापलिकामा वडा न. १ स्थित प्रास्टोकिमा ७,८,९ गते गर्ने भनिएको इज्तेमा कार्यक्रम वर्तमान सुरक्षा संवेदनशीलताका कारण तत्काल स्थगन गर्न र गराउन गृह मन्त्रालयको निर्देशन प्राप्त भएकोले जिल्ला सुरक्षा समितिको कार्तिक २५ गतेको बैठकले समेत स्वीकृति, अनुमिति प्रदान नगर्ने भनी निर्णय भई सरोकार पक्षहरुलाई समेत जानकारी गराइसकेको हुँदा सम्बन्धित पक्षको जानकारी तथा सहयोगका लागि सूचना प्रकाशित गरिएको छ ।’


जिल्ला प्रशासन कार्यालय सुनसरीमा मंसिर ४ गते सोमबार प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको अध्यक्षतामा बसेको सर्वपक्षीय, सर्वदलीय बैठकमा सहभागीहरुले समेत इज्तेमा स्थगित गर्नुपर्न सुझाव दिएका थिए । त्यसरी उपस्थिति हुनेहरुमा एमाले प्रदेशसभा सांसद रेवतीरमण भण्डारी, सांसद इसरायल मन्सुरी, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, कृष्णदल इटहरीका प्रमुख सेनानी अमित लामा, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख बिपिन रेग्मी, सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वाटर सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक लकेशकुमार तुम्हाम्फे, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुनसरीका प्रमुख उपअनुसन्धान निरीक्षक तिलक प्रसाई, जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रअ. केशव खतिवडा, नेकपा एमाले सुनसरीका उप सचिव राम कोइराला, नेकपा माओवादी केन्द्र सुनसरीका अध्यक्ष योगेन्द्रप्रसाद मण्डल, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि मनोजकुमार चापागाई, जनता समाजवादी पार्टी सुनसरीका अध्यक्ष भगिरथ खत्वे, राष्ट्रिय प्रजातन्त्र पार्टी सुनसरीका अध्यक्ष दुर्गाबहादुर बस्नेत र नेकपा माओवादी केन्द्र सुनसरीका प्रतिनिधि रमेश भट्टराई उपस्थित रहनु भएको थियो ।

तपाईको प्रतिक्रिया