धरान । संघीय सरकारको निकम्बा र निर्णय क्षमताको कमी हुँदा दक्षिण एसियामै उत्कृष्ट कहलिएको यहाँस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलनरत चिकित्सक, शिक्षक, कर्मचारी र प्रतिष्ठानको व्यवस्थापन पक्षबीच सोमबार ४ बुँदे सहमति भएको छ । सहमति पश्चात आन्दोलनरत पक्ष हाललाई आन्दोलन स्थगित गरी नियमित काममा फर्किएका छन् ।

दुवै पक्षबीच भएको चार बुँदे सहमतिमा नेपाल सरकार, मन्त्रिस्तरीय निर्णय अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको च.नं. १ को ८४, असोज १७ गतेको पत्र सहितको कर्मचारीको प्रस्तावित नियमावली २०७९ को मस्यौदालाई प्रतिष्ठानका कर्मचारी कल्याण समाजलाई ७ दिन समय सीमा दिई सुझाव संकलन गर्ने र संकलित सुझाव सहितको मस्यौदा प्रतिष्ठान कार्यकारिणी समितिको सिफारिस सहित सञ्चालक परिषद्मा स्वीकृतका लागि पेश गर्ने तथा कर्मचारीको आन्तरिक स्थायी बढुवाका लागि पौष २० गते प्रतिष्ठानले प्रकाशित गरेको विज्ञापनमा समावेश रहेकामध्ये अन्तरवार्ता हुन बाँकी रहेका सबै स्थायी तथा परफर्मेन्स करार सेवाका पदहरुका कर्मचारीहरुको अन्तरवार्ता पौष १ गतेदखि पौष मसान्त सम्ममा सम्पन्न गर्ने सहमति भएको छ । अन्तरवार्ता सम्पन्न भएको एक महिनाभित्र सञ्चालक परिषद्को बैठक बस्न पहल गरी नतिजा प्रकाशन गर्ने उल्लेख गरिएको छ । दुवै पक्षबीचको लिखित सहमति अनुसार विज्ञापनमा समावेश रहेको करार सेवाका कर्मचारीहरुको अन्तरवार्ता मंसिर १ गतेदेखि सुचारु गरी मंसिर महिनाभित्रै सम्पन्न गर्ने, आन्दोलनका कारण प्रतिष्ठान व्यवस्थापनले कर्मचारी कल्याण समाजको सदस्य र कुनै कर्मचारीप्रति पूर्वाग्रह नराख्ने, आफ्ना मागहरु उठान गरी आन्दोलरत सम्पूर्ण पक्षहरुले आन्दोलनका सम्पूर्ण कार्यक्रमहरु स्थगित गरी आ–आफ्नो कार्यमा फर्कने लिखित सहमति भएको छ ।
