धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई सम्पाङको अराजकताले पराकाष्ठ नाघेको आइतबार आयोजित एक कार्यक्रममा वक्ताहरुले बताएका छन् । नेपाली काँग्रेसका संस्थापक, प्रजातान्त्रिक समाजवादका प्रवर्तक एवम् नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ११० औं जन्म जयन्तिका अवसरमा धरान १३ स्थित बीपी पार्कमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरुले त्यस्तो बताएका हुन् ।

सो अवसरमा बोल्दै नेपाली काँग्रेस धरान नगर समितिका सभापति श्याम पोख्रेलले मेयर राईको अराजक गतिविधिले पराकाष्ठ नाघेको बताउनुभयो । सामाजिक सञ्जालबाट अपशब्दहरु प्रयोग गर्ने, आपसी सद्भाव भड्काउने, प्रश्न सोधेकै भरमा पक्राउ गरी थुनाउने जस्ता गतिविधि अराजक मात्र नभएरघोर अप्रजातान्त्रिक भएको बताउनुभयो । हिजो एडिवी आयोजना असफल बनाउन मुहानमा गएर पाइप काट्ने, कथित अभियन्ताको नाममा आन्दोलन गर्ने साम्पाङलाई बोर्डको बैठक बोलाउन आग्रह गर्दा हामीलाई गुइँठेको ट्याग लगाउने, गीत बनाएर बजाउने, अदालतको आदेशको अवहेलना गर्ने कार्यलाई अराजकताको संज्ञा दिनु बाहेक अरु हुनै सक्दैन, पोख्रेलले भन्नुभयो । नेपाली काँग्रेस कोशी प्रदेशका महामन्त्री उमेश थापाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नेपाली काँग्रेसका पूर्व जिल्ला समिति सचिव भिष्म काफले लगायतले बीपीका आदर्शका बारेमा धारणा राख्नु भएको थियो भने सञ्चालन नगरसचिव हिमाल श्रेष्ठले गर्नुभएको थियो ।
