धरान । नेपाली राजनीतिका अत्यन्तै शालिन, भद्र र सभ्य व्यक्तित्व एवम् नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ रहनु भएन । सोमबार मध्यराती छातीमा असहजता महसुस भएपछि तत्काल उहाँलाई उपचारार्थ काठमाण्डौको शिक्षण अस्पताल पु¥याइए पनि चिकित्सकहरुले उहाँलाई बँचाउन सकेनन् । इलाम जिल्लाको सुन्तलाबारीमा वि.सं. २००९ सालमा जन्मनु भएका नेम्बाङ २०६२÷०६३ को जनआन्दोलन पश्चात बनेको संविधानसभाको अध्यक्ष हुनुहुन्थ्यो । त्यसभन्दा अगाडिको व्यवस्थापिका संसदको सभामुख समेत रहनु भएको थियो ।

वि.सं. २०४९ र २०५२ सालमा गरी दुई पटक उहाँले राष्ट्रिय सभाको जिम्मेवारी समेत सम्हाल्नु भएको थियो । वि.सं. २०५६ सालको संसदीय निर्वाचनमा इलाम क्षेत्र नं. २ बाट निर्वाचित नेम्बाङ न्याय, कानुन तथा संसदीय व्यवस्था मन्त्री, संसदको सार्वजनिक लेखा समितिको अध्यक्ष हुनु भएको थियो । एमालेका केन्द्रीय उपाध्यक्ष नेम्बाङ कानुन व्यवसायी समेत हुनुहुन्थ्यो । प्राध्यापन पेशा समेत गर्नुभएका नेम्वाङ नेपाल वार एसोसिएसनको महासचिव समेत रहुनु भएको थियो । वि.सं. २०२८ सालमा अनेरास्ववियुको अध्यक्ष समेत भइसक्नु भएका नेम्बाङ अध्ययनमा विशेष रुची राख्नुहुन्थ्यो । विद्यार्थी कालदेखि नै कम्युनिस्ट राजनीतिमा लाग्नु भएका नेम्बाङ २०३३ सालमा राजकाज मुद्धामा जेल पर्नु भएको थियो । त्रिभुवन विश्व विद्यालयबाट कानुनमा स्नातक गर्नुभएका नेम्वाङका दुई छोरा, दुई छोरी र श्रीमति रहनु भएको छ । पछिल्लो पटक उहाँ संघीयता र समावेशी लोकतन्त्रलाई संस्थागत र बलियो बनाउने अभियानमा लाग्नु भएको थियो । वि.सं. २०५१ सालदेखि इलामबाट निरन्तर निर्वाचन जित्दै आउनु भएका नेम्बाङले आफ्नै ल फर्म सञ्चालन गरेर असहायहरुका लागि कानुनी सहायता समेत गर्नुभएको थियो । आफ्नो ल फर्ममा काम गर्ने एक दर्जन भन्दा बढीलाई उहाँले उच्च अदालत र सर्वोच्च अदालतसम्म पु¥याउनु भएको थियो । उहाँले पायोनियर ल एसोसिएट्स चलाउँदा उहाँका अन्य सहयोगीमा भरतराज उप्रेति, वैधनाथ उपाध्यायहरु रहनु भएको थियो ।
