मुलुकमा प्रजातन्त्र स्थापनाका लागि २००६ सालमा मातृका प्रसाद कोइराला, बीपी कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, सूर्य प्रसाद उपाध्याय, टंकप्रसाद आचार्य, डिल्लीरमण रेग्मी लगायत दर्जनौ युवाहरुको सक्रियतामा नेपाली काँग्रेस गठन भएको हो । यी तमाम सम्पूर्ण श्रद्धेय व्यक्तित्वहरुमध्ये राजनैतिक दुरदर्शिता, स्पष्ट विचार, प्रजातान्त्रिक समाजवादका व्याख्याता, नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको यस पटक नेपाली काँग्रेसले ११० औं जन्म जयन्ति अनौपचारिक रुपमा अर्थात मन नलागी नलागी मनाएको छ ।
बीपी कोइराला नेपाली काँग्रेसको आदर्श र प्रणेता हुन् यसमा कुनै दुईमत छैन । तर पछिल्ला बर्षहरुमा बीपीका सम्पूर्ण आदर्शहरुलाई तिलाञ्जली दिएर नेपाली काँगेसका नेतृत्व वर्ग चाहे त्यो केन्द्रीय होस्, चाहे प्रदेश स्तरीय होस्, चाहे जिल्ला स्तरीय होस्, चाहे क्षेत्रीय स्तरीय होस्, चाहे नगर, गाउँ वा वडा स्तरीय होस् केवल सत्ता केन्द्रित, भ्रष्टाचार केन्द्रित, व्यभिचार केन्द्रित भएपछि काँग्रेसप्रति कार्यकर्ता वितृष्णा व्यक्त गर्न थालेका छन् । बर्षौदेखि केवल बीपी र अन्य महापुरुषहरुको नाम भँजाएर स्वार्थ केन्द्रित नेतृत्वको हालीमुहाली अब विस्तारै अवसानतिर जान थालेको छ ।
अब बीपीको नाम भँजाएर नेपाली काँग्रेस आगामी दिनमा चल्न सक्दैन भन्ने उदाहरण विगतको निर्वाचनले देखाइसकेको छ । बीपीका नाममा पसल खोल्ने, मुनाफा आर्जन गर्ने तर त्यो मुनाफा आम नागरिकसम्म पुग्न नदिने प्रवृत्तिको विस्तारै अन्त्य हुँदैछ । अब बीपीका नाममा खोलिने पसलमा मुलुकको समृद्धि, रोजगारी, शिक्षा, स्वास्थ्य सर्वसुलभ रुपमा आम नागरिकको पहुँचमा पुग्नुप¥यो अन्यथा त्यस्ता पसल बन्द हुनुप¥यो । बर्षमा दुई पटक साउन ६ गते र भदौ २४ गते बीपी महान हुनुहुन्थ्यो भनेर ठाउँ ठाउँमा राखिएका शालिकमा अविर दलेर माला लगाइ दिँदैमा काँग्रेस वैतरणी तर्ने अवस्थामा छैन । यसपटकको बीपी स्मृति दिवस र बीपी जयन्तिमा सदावहार लाभको पदमा बस्नेहरुबाहेक कार्यकर्ता पंक्तिमा कुनै उत्साह देखिएन । विगतमा यी दुवै दिनलाई काँग्रेसका कार्यकर्ताहरुले एउटा उत्सवको रुपमा आत्मसात गर्थे तर अब त्यो अवस्था रहेन । आज हजारौ आदर्शवान काँग्रेसका कार्यकर्ताहरु पलायन भइरहेका छन् । उनीहरुको पलायनको अन्तर्य न नेतृत्वले बुझ्ने चेष्ट गरेको छ, न उनीहरुलाई अन्यत्र जानबाट रोक्ने प्रयास नै गरेको छ । गाउँ काँग्रेस विहीन बन्दै गएको छ, नगर र जिल्लाको अवस्था त्यस्तै छ । यही अवस्था निरन्तर रहे आगामी दिनमा काँग्रेसको अवस्था नेपालको पहिलो राजनैतिक दल प्रजा परिषद् भन्दा भिन्न हुँदैन । समयमै काँग्रेसको नेतृत्व वर्गले वास्तविकताको मनन गरी उपयुक्त कदम नचाले काँग्रेस कार्यकर्ता विहीनको अवस्थामा पुग्न कसैले रोक्न सक्दैन ।
