दम्भले सिद्धिएर अरुको भरिया बन्दा पनि चेत खुलेको छैन

राजनीति के को लागि ? यतिबेला हरेक नेपाली समान्य जमघटमा पनि यस्ता कुराहरु माथि बहस गर्न थालेका छन् । जब असन्तुष्टिहरु बढ्दै जान्छ त्यसबेला यस्ता बहसहरु सर्वत्र छेडिन्छन् ।
आखिरी राजनीतिक गरिने नै हो समाज–नागरिक उत्थान र मुलुकको समृद्धिका लागि । तर नेपालको राजनीति पृथक दिशातर्फ मोडिएको छ । निर्वाचनताका गतिला आश्वासन बाँडेर, आर्थिक चलखेल गरेर, बाहुबलबाट बुथ कब्जा गरेर निर्वाचन हुने जुन संस्कार विकसित भएको छ त्यहीँबाट नेपालको राजनीति नागरिकको उत्थान र मुलुकको समृद्धि विपरीत अगाडि बढेको छ ।
नेपालका आदर्शवान राजनीतिज्ञहरु बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई, मनमोहन, पुष्पलाल लगायतको कार्ड अब बजारमा बिक्री हुन छाडेको छ । यही महापुरुषहरुलाई नेपाली जनता अन्तर हृदयदेखि सम्मान गर्छन् तर यिनको नाममा व्यापार गर्नेहरुको बेइमान अनुहार, चरित्रहीनताप्रति घृणा गर्छन् । बस आज यही कारण नेपाली काँग्रेसमा बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई एमालेमा पुष्पलाल, मनमोहन ब्राण्डमाथि अन्य ब्राण्डले धावा बोल्न थालेका छन् । यही नाम भँजाएर विगत ३५ बर्षदेखि नेपाली काँग्रेस, एमाले र पछिल्लो पटक माओवादीले आफ्नो व्यापार चलाइरहेका छन् । तर अब यी तिनै व्यापारीको व्यापारमा ह्रास आएको छ । एकताका मुलुकभरि एकछत्र व्यापार गरेको नेपाली काँग्रेस यतिबेला माओवादी, मधेशवादी, कथित एकीकृत समाजवादी, जनमोर्चा, जनमत लगायतकासँग मर्च गरेर व्यापार गरिरहेको छ भने एमालेले  राप्रपालगायतसँग मर्च गरेर व्यापार धान्ने प्रयास गरिरहेको छ । अर्थात सत्ताको व्यापार ।
आफ्नो पहिचान अर्थात ब्राण्ड नै बिर्सिएर अरुसँग मर्च  (गठबन्धन) गरेर जब राजनैतिक दल हिँड्न थाल्छन् त्यसैबेलादेखि उसको पतनको सृंखला प्रारम्भ हुन्छ । नेपाली काँगेस आज सबैभन्दा तिब्र गतिमा पतनोन्मुख दिशामा अग्रसर भएको छ । हजारौ इमान्दार कार्यकर्ताहरु केन्द्रदेखि स्थानीय तहसम्मका जालझेल गरेर पद भँजाएर बसेकाहरुबाट पीडित छन् । अपमानित छन् । केन्द्रीय नेतृत्व तिनै जालझेल गर्नेहरुलाई काखी च्यापेर बसेको छ । यस्तो अवस्थामा इतिहास बोकेको, बीपी , गणेशमान, कृष्णप्रसाद भट्टराई, पुष्पलाल, मनमोहनलाई आदर्श मान्दा मान्दै पनि बाहिरनुपर्ने अवस्था सिर्जना भएको छ । यसको प्रमुख कारण केन्द्रीय नेतृत्वको सत्ता मोह (व्यापार) नै हो । नेतृत्व सुध्रिन्छ भन्ने विश्वास आम कार्यकर्तामा छैन । व्यावहारले नेतृत्वको चरित्र उदांगो बनाइसकेको छ । जतिसुकै ग्रासरुट कार्यक्रम सञ्चालन गरेपनि, सुदृढीकरण अभियान सञ्चालन गरेपनि अब यिनै परम्परागत दललाई राजनीतिको कखरा सिकेका, जानेकाहरुले विश्वास गर्न सक्दैनन् । किनकी यिनीहरुबाट बारम्बार धोका खाइसकेका छन् । अब धोका खाने मनस्थितिमा आम सर्वसाधारण समेत छैनन् । गत बर्षको निर्वाचन परिणामले यसको संकेत गरिसकेको छ । नत्र भर्खरै गठन भएका नयाँ दलप्रति किन मोह देखियो ? किन नयाँ दलको संसदमा बलियो उपस्थिति देखियो ?

तपाईको प्रतिक्रिया