दैलेखमा १० करोड ८६ लाख भारतीय सहयोगमा सम्पन्न ४ परियोजना हस्तान्तरण

राजधानी । दैलेख जिल्लामा भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएका चार वटा उच्च प्रभाव सामुदायिक विकास परियोजना गत हप्ता नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ । भारतीय राजदुतावास काठमाण्डौद्वारा जारी विज्ञप्तीका अनुसार भारतीय राजदूतावासको विकास साझेदारी प्रभागका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति दैलेखका प्रमुख नवराज शाहीले निर्माण सम्पन्न भएका ती परियोजनाहरु संयुक्त रुपमा नेपाल सरकारको सम्बन्धित स्थानीय निकायलाई हस्तान्तरण गर्नुभएको थियो ।


नेपाल–भारत विकास सहकार्य अन्तर्गत भारत सरकारको १० करोड ८६ लाख आर्थिक सहयोगमा ती परियोजनाहरु निर्माण सम्पन्न भएका हुन् । निर्माण सम्पन्न भएका परियोजनाहरुमा लालीकाँडा स्थित मालिका उच्च माध्यामिक विद्यालय, वडा भैरवस्थित भैरव माध्यामिक विद्यालय, वडाखोलास्थित जगदिश माध्यामिक विद्यालय र रामपुरस्थित नारायण क्याम्पसको भवन रहेका छन् । सो अवसरमा
गुराँस गाउँपालिकाका अध्यक्ष टोपबहादुर बि.सी., भगवती तिनाई गाउँपालिकाका अध्यक्ष गणेशबहादुर थापा, महाबु गाउँपालिकाका कार्यवाहक अध्यक्ष मञ्जु कुमारी शर्र्र्मा (पाण्डे), नारायण नगरपालिकाका प्रमुख लोमन शर्मा, स्थानीय समाजसेवी, राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । निर्माण सम्पन्न भएका परियोजनाहरु भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो । विद्यालय भवन र क्याम्पस निर्माण परियोजनाको कार्यान्वयन जिल्ला समन्वय समिति दैलेखले गरेको थियो । विद्यालय र क्याम्पस भवनले त्यस क्षेत्रका विद्यार्र्थीलाई गुणस्तरीय शैक्षिक पूर्वाधार उपलब्ध गराई दैलेख जिल्लामा गुणस्तरीय शिक्षाका लागि उपयुक्त वातावरण सिर्जना गर्ने विश्वास विज्ञप्तीमा गरिएको छ । यहाँ स्मरणीय कुरा के छ भने सन् २००३ यता भारतले नेपालका ५४४ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएकोमा ४८० वटा सम्पन्न भइसकेका छन् । यसका अलावा भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा विभिन्न अस्पताल, स्वास्थ्य चौकी तथा शैक्षिक संस्थालाई ९४० वटा एम्बुलेन्स, १८४ वटा स्कुल बस उपहार स्वरुप प्रदान गरेकोमा दैलेखमामात्र ६ वटा एम्बुलेन्स उपलब्ध गराएको छ ।

तपाईको प्रतिक्रिया