वडालाई कम छुट्याएको बजेटप्रति वडाध्यक्षहरुको असन्तुष्टि

धरान । धरान उपमहानगरपालिकाले चालु आर्थिक बर्ष २०८०÷८१ का लागि १ अर्ब ७१ करोडको बजेट नगरसभामा पेश गरेको छ । आइतबार धरान १० सैनिक भवनमा आयोजित नगरसभामा बजेट पेश गरेको हो । तर विविध कारणले नगरसभाबाट पास हुन नसकेपछि वैठक आगामी असार २१ गते बस्ने निर्णयसहित स्थगित भएको छ । सार्वजनिक बजेटप्रति धरानका २० वटै वडाका वडाध्यक्षहरुले असन्तुष्ट व्यक्त गरेका छन् । उपमहानगरपालिकाले सार्वजनिक बजेटमा वडा कार्यालयलाई कामचलाउमात्र बजेट छुट्याएको भन्दै असुन्तुष्टि व्यक्त गरेका हुन् ।


आगामी आर्थिक बर्ष २०८०÷८१का लागि तयार भएको धरान उपमहानगरपालिकाको बजेटमा २१ करोड मात्र बजेट वडामा पठाउने गरि सिलिङ तयारी पारेका उनीहरुहरुले असन्तुष्ट व्यक्त गरेका हुन् ।
गत बर्ष वडाहरुले ३१ करोड पाएका थिए भने त्यस अघि ३५ करोड रुपैया वडामा पठाउने  गरिएको थियो । धरान उपमहानगरपालिका वडा नं. ४ का वडाध्यक्ष धनहादुर राईले अपेक्षिकृत बजेट वडालाई नछुट्याएको बताउदै नगर गौरवका योजनामा ३३ करोड छुट्याएको र यसले धरानको पिछडिएको वडा ४, ५ र ६ मा छुट्याएको प्रसासनिक, कार्यक्रम र पूजीतर्फको रकमले वडाको विकास गर्छु भन्नु हास्यास्पद भएको बताउनुभयो । भौगोलिक रुपमा कठिनाई भएको र विकासमा पछि परेको धरान २० विष्णुपादुमा विगतको भन्दा बजेट बढेर आउनुपर्ने भएपनि घटेर आएको भन्दै वडाध्यक्ष पदमबहादुर लिम्बुले असन्तुष्ट व्यक्त गर्नुभयो । उहाँले पूर्वाधारका कामहरु धेरै गर्नुपर्ने अवस्था रहेको विष्णुपादुकामा बजेट अपर्याप्त भएको बताउनुभयो । यता धरान ५ का वडाध्यक्ष मनप्रसाद लिम्बुले विष्णुपादुका र पाँचकन्या गाविस धरान उपमहानगरपालिकामा गाभिए पनि विकासको दृष्टिले अत्यन्तै पछाडि परेका वडाहरु भएकाले अन्य वडाको तुलनामा बजेट बढी विनियोजन हुनुपर्ने भएपनि गत बर्षभन्दा पनि घटेर बजेट आउँदा समस्या हुने बताउनुभयो । नगरसभामा धरान उपमहानगरपालिकाका उपमेयर अइन्द वेघाले बजेट प्रस्तुत गर्नुभएको थियो ।  कोरोना संक्रमण र युक्रेन रुस युद्धका सँगै संघीय सरकारले प्रदान गरेको रकम, राजस्वमा कमी लगायतका कारणले बजेट आकार सानो भएपनि विकास, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रमा बजेट छुट्याएको बताउनुभयो । प्रस्तुत बजेटमा सबैभन्दा बढी खानेपानीलाई लक्षित गरी बजेट छुट्याइएको छ भने दोस्रोमा पूर्वाधार विकास, तेस्रोमा पर्यटन, चौथोमा कृषि, पाँचौमा शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास र छैठौ प्राथमिकता विपत व्यवस्थापनलाई राखिएको छ । प्रस्तुत बजेट नगरसभामा पेश भएको छ । नगरसभाबाट पारित हुन नसकेपछि सभा आगामी असार २१ गते बस्ने गरी स्थगित भएको छ । मेयरकोष, वडागत बजेट लगायतमा सहमति नजुट्दा बजेट सर्वसम्मत ढंगबाट पास हुन नसकेको हो ।

तपाईको प्रतिक्रिया