धरान । स्थानीय सरकारले पछिल्लो समय महिला लक्षित कार्यक्रमहरुलाई प्राथमिकतामा राखेर अगाडि बढाउन थालेका छन् । महिला लक्षित बजेटबाट उनीहरुलाई विभिन्न सीपमुलक तालिम दिँदै आएको हो । घरेलु उद्योगलाई प्रोत्साहित गर्दै महिलालाई आत्मनिर्भर बनाउन धरान उपमहानगरपालिका वडा नं. १७ ले दुइदिने साबुन बनाउने तालिम दिएको हो । धरान उपमहानगरपालिका वडा नंं ११ का वडाध्यक्ष लोकेन्द्र फागोले तीतेपातीमा पानी हालेर तालिमको उद्घाटन गरेका थिए । समृद्धि प्राकृतिक साबुन उद्योगकी सञ्चालक मनिता घिमिरेले वडामा रहेका २५ जना महिलाहरुलाई तालिम दिनुभएको थियो ।

संगम महिला समूहको सहकार्यमा आयोजना भएको सो तालिममा महिलालाई घरेलु उद्योगमा प्रोत्साहित गरी आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको वडा नं. १७ का कार्यवाहक अध्यक्ष लक्ष्मण राईले बताउनुभयो । संगम महिला समूहकी अध्यक्ष पूजा विमली सुवेदीले महिलाहरुका लागि साबुन बनाउने तालिम अत्यन्तै लाभदायिक भएको बताउनुभयो् । घरमै बसेर प्राकृतिक रुपमा पाइने जडिबुटीबाट बनाउन सकिने यो तालिमले महिलाहरुलाई उद्योगी बनाउन सहयोग पुग्ने बताउनुभयो । तालिमको सहजीकरण गरेकी सृम्बृद्धि प्राकृतिक सावुन उद्योगकी सञ्चालक मनिता घिमिरेले प्राकृतिक सावुन उत्पादनबाट धेरै सम्भावना भएको बताउनुभयो् । उहाँले गाउँघरमा पाइने निम, तीते पाती, चारकोलबाट नुहाउने साबुन बनाउन सकिने भएकोले स्वरोजगार बन्नका लागि महिलाहरुलाई अन्यत्र भौतारिन नपर्ने बताउनुभयो । केही समय अगाडि उनले उदयपुर जिल्लाको गढी गाउँपालिकामा समेत पाँचदिने सावुन बनाउने तालिम घिमिरेले दिनु भएको थियो । तालिममा गढी गाउँपालिकाका १० जना महिलाको सहभागिता रहेको थियो ।
