धरान । किरात राईहरुले प्रत्येक बर्ष वैसाख पूणिमादेखि मनाउदै आएको साकेला उभौली पर्व यस बर्ष भने साँस्कृतिक आन्दोलनको रुपमा मनाएका छन् । प्रदेश नंं १ को नाम कोशी राखिएपछि सशक्त रुपमा संयुक्त मोर्चा बनाएर कोशी नामाकरण खारेजीको माग गर्दै निरन्तर आन्दोलनमा होमिदै आएको मोर्चाको एक घटक किरात राई यायोख्खाले यस बर्षको साकेला पर्व साँस्कृतिक आन्दोलनको रुपमा मनाएको हो । शनिवार धरानको मुटु भानुचौकमा उनीहरुले साकेला सिली प्रदर्शनी समेत गरेका थिए । किरात राई यायोख्खा धरान ९ र १० वडाको आयोजनामा भएको कार्यक्रममा उनीहरुले पहिचानको आधारमा प्रदेश १ को नामाकरण हुुनुपर्ने माग राखेका थिए ।

सो अवसरमा बोल्दै किरात राई यायोख्खा धरान नगर समितिका अध्यक्ष लोकेन्द्र राईले पहिचानको मुद्दालाई पेचिलो बनाउन साँस्कृतिक आन्दोलनको रुपमा सबै पहिचानवादी एक ठाउँमा उभिएर साकेला पर्व मनाइएको बताउनुभयो । यस्तै यायोख्खाका जिल्ला अध्यक्ष राजेन्द्र राईले साँस्कृतिक आन्दोलनको रुपमा यस बर्ष किरातहरुले साकेला पर्व मनाएको बताउनुभयो । उहाँले एक नं. प्रदेशको नाम कोशी खारेज गरी पहिचानको आधारमा नामाकरण गरिनुपर्ने दबाब दिँदै यो बर्षको साकेला पर्व मनाइएको बताउनुभयो । सो अवसरमा किरात राई यायोख्खाका केन्द्रीय उपाध्यक्ष द्रोपध्वज राई, पूर्व केन्द्रीय अध्यक्ष तथा धरान पूर्व मेयर तिलक राई, संविधान सभाका सद्स्य किरण राई, किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव मातृका राई, जनता समाजवादी पार्टी. धरान नगर अध्यक्ष ताजुब लिम्बु,
किरात याक्थुङ चुम्लुङका धरानका का.वा. अध्यक्ष स्वणिमहाङ लिम्बु, राष्टिूय जनमुक्ति पार्टी केन्द्रीय उपमहासचिव बिष्णुु थाम्देन, किरात राई यायोक्खा जिल्ला कोषाध्यक्ष उपेन्द्र चाम्लिङ लगायतले पहिचानको मुद्दालाई सरकारले ठट्टाको रुपमा नलिई गम्भीर लिन आग्रह गरेका थिए । सो अवसरमा झोल झ्याम्टासहित साकेला नाचको समेत आयोजना गरिएको थियो ।
