धरान । जीवन, जन्म र मृत्यु बीचको कालखण्ड हो । यही खालखण्को नस्वर भौतिक शरीरको विर्सजन हरेक मानव समुदायले आफ्नो विधि, परम्परा, सँस्कार अनुसार गर्दैै आएका छन् ।
धरान उपमहानगरपालिका वडा नं. १४ स्थित एक मात्र ऐतिहासिक शव दाह स्थलका सम्बन्धमा आज पनि कैयौ धरानेहरुलाई थाहा नहुन सक्छ अर्थात खत्री धारा । खत्रीधाराको ऐतिहासिक महत्वलाई बुझेर सामाजिक संस्था झिँगु समाज केन्द्रीय कार्यालय धरान ३ ले खत्री धारा शव दाहसंस्कार स्थलको विकासमा निरन्तर सक्रिय रहँदै आएको छ ।

आजको बोलीचालीको भाषामा खत्री धारा नामबाट चिनिए पनि वि.सं. २०१७ सालभन्दा अगाडि यसलाई अत्री धाराको नामले चिनिन्थ्यो । खत्री धारा दाह संस्कार निर्माण समितिका अध्यक्ष मोहनकाजी शाक्य भन्नुहुन्छ म उद्योग वाणिज्य संघको अध्यक्ष भएपछि शवदाह संस्कार स्थलको डिजाइन बनेको हो । सेउती खोलाको किनारमा रहेको खत्री धारा शव दाह स्थलका लागि सात दलीय संयन्त्र रहेको अवस्थामा धरान नगरपालिकाले १० कट्ठा जग्गा र भौतिक निर्माणका लागि ३लाख ५० हजार छुट्याइदिएको थियो । त्यसबेला १ करोड ६६ लाखको मास्टर प्लान बनाइए पनि रकम अभावले काम अगाडि बढ्न सकेन । वि.सं. २०१७ साल भन्दा अगाडिदेखि नै खत्री धारामा शव दाह हुँदै आएको थियो । २०१७ सालमा यसलाई थप व्यवस्थित बनाउने काम चन्द्र ताम्रकारले गर्नुभएको थियो । त्यसबेला उहाँले मलामी विश्रामालय, दाउरा राख्ने गोदाम निर्माण गरिदिनु भएको थियो । जुन आज पनि देख्न सकिन्छ र जीर्ण अवस्थामा रहेको छ । त्यसबेला पनि इलेक्ट्रिसिटीबाट दाहसंस्कार गर्ने योजना अगाडि बढेको् भएपनि सम्भव हुन सकेन । २०६६ सालपछि मोहनकाजी शाक्य, सुरेन्द्रमान स्थापित, नरेश शाक्यले मास्टर प्लान बनाएर हरेक स्थानमा पठाउनुभयो । जसका कारण सहयोग जुट्दै गयो ।
प्रयागराज जत्तिकै पुण्य
अतृधारा पछि अपभंम्स भएर खत्री धारा बन्न पुगेको यो स्थानमा सेउती खोलाको शिर शिवजट्टाबाट बगेको पवित्र जल उक्त पुण्य स्थानमा आइपुग्छ । पौराणिक मान्यता अनुसार गंगापुत्र कार्तिकेय कुमारले यही स्थानमा आएर स्नान गरेको पुराणमा उल्लेख छ । दाहसंस्कार निर्माण समितिका अध्यक्ष मोहनकाजी शाक्य भन्नुहुन्छ रुद्राक्षरण्य क्षेत्रको महिमा अनुसार यो स्थान भारतको उत्तर प्रदेशको प्रयागराज जत्तिकै पुण्यदायक छ । जनश्रुति अनुसार तत्कालीन विजयपुर राज्यका सेन वंशका राजा चन्द्रसेनका छोरा निरन्तर सेनकी रानी दिवंगत हुँदा सोही स्थानमा दाहसंस्कार गरिएको थियो ।
शव दाहसंस्कारका लागि दाउरा र डिजल प्लान्ट
झिँगु समाजकै अथक प्रयास, संरक्षण, रेखदेखबाट खत्रीधारा शव दाहसंस्कार स्थल आजको अवस्थामा आइपुगेको हो । वि.सं. २०४१ सालमा विधिवत सामाजिक संस्थाको रुपमा दर्ता भएको झिँगु समाजको ३५ बर्षसम्म अध्यक्षको जिम्मेवारी स्व. सानुकाजी शाक्यले सम्हाल्नु भएको थियो । वि.सं. २०१७ साल असार ६ गते नेवार समुदायहरुका अग्रजको भेलाले स्व. सानुकाजी शाक्यको सभापतित्वमा मृत्यु सहयोग समिति गठन गरेको थियो । वि.सं. २०४१ सालमा यसको नाम परिवर्तन गरी झिंगु समाज राखिएको थियो । झिंगु समाजले २०६६ सम्म दाउराको गोदाम, पानी ट्यांकी,
धाराको व्यवस्था गर्दै आएको थियो । तर स्पष्ट गुरु योजना बनाएर काम नभएकोले चाहे जस्तो व्यवस्थित हुन सकेन । गुरुयोजना बनाएर कामलाई अगाडि बढाएपछि धरान तथा छिमेकी गाउँपालिकाबाट शव दाहसंस्कार गर्न थप सुविधा होस् भनेर उद्योगी, व्यापारी,बैंकर्स, जिल्ला समन्वय समिति, नेपाल सरकार, प्रदेश सरकार आदि स्थानबाट सहयोग जुट्दै गयो । नेपाल सरकारले एउटा सानो भवन बनाइदियो । किरण राई सभासद रहेको अवस्थामा एक लाखको वेश, प्रदीप भण्डारी प्रदेशसभामुख रहँदा सांसदकोषबाट मलामी विश्राम स्थल, अस्टे«लियन आयोजना पिपिओले २० लाखको सहयोगमा दाह संस्कार स्थलमा दुई वटा डिजल प्लान्ट र दाउरा समेत शव दाह गर्न सकिने व्यवस्था झिँगु समाजले व्यवस्थित गरेको छ ।
सडकका लागि एक करोडको आयोजना
खत्रीधारा शव दाह स्थलसम्म पुग्ने सेउती खोला किनारको सडक कच्ची र ग्राभेलिङ्ग भएकोले बर्षाैैदेखि कठिनाई झेल्न मृतकका आफन्त र मलामीहरु बाध्य भएका छन् । यसका लागि दाहसंस्कार निर्माण समितिका अध्यक्ष एवम् झिँगु समाजका अध्यक्ष समेत रहनु भएका मोहनकाजी शाक्यले सडक निर्माणका लागि कोशी प्रदेश सरकार समक्ष गत बर्ष नै एक करोडको प्रोजेक्ट पेश गर्नुभएको थियो । अध्यक्ष शाक्यले भन्नुभयो कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बजेट बनाउँदा प्राथमिकताका साथ राखिदिने बताउनु भएको छ । हामी पनि पहल गरिरहेका छौ । ६ मिटर चौडाई र १४३२ मिटर लम्बाईको उक्त सडक निर्माण गर्न सके मृतकका आफन्त र मलामीजनलाई ठूलो राहत मिल्ने थियो ।
