धरान । आफन्त भेट्न आए पनि नआए पनि ८० बर्षीया नरमाया लिम्बु (नाम परिवर्तन) लाई कुनै पीडा र दुःख लाग्दैन । पाँचथरबाट केही बर्ष अगाडि गोरखा वेलफेयर ट्रष्ट धरान १३ द्वारा सञ्चालित अत्यन्तै सुविधा सम्पन्न आवासगृह (बृद्धाश्रम) मा आइ पुग्नु भएकी लिम्बु जीवनको उत्तरार्धमा अत्यन्तै खुशी र सुखी हुनुहुन्छ । आजका घर परिवारले बृद्ध बृद्धालाई दिने माया, स्नेह, हेरचाह भन्दा र्औधी मायाँ लिम्बुले यहाँबाट पाउनु भएको छ । अर्थात् गोरखा वेलफेयर ट्रष्टद्वारा सञ्चालित आवास गृहले आश्रित बृद्धबृद्धाहरुलाई परिवारले भन्दा बढी मायाँ, सेवा दिएको छ । उहाँले नियमित स्वास्थ्य परीक्षण, औषधोपचार, उचित खानपिन, सेवा सुश्रुसा पाउनु भएको छ ।

त्यसो त गोरखा वेलफेयर ट्रष्ट धरान १३ को आवासगृहमा यतिबेला नरमायाँ लिम्बुजस्तै १९ जना बृद्धाहरुले आश्रय लिनु भएको छ । आश्रय लिनु भएकाहरुमध्ये केहीका सम्पन्न परिवार छन् छोरा, नाति, पनाति छन्, उच्च ओहदामा कार्यरत छन् भने कोहीका एकल जीवन । आवास गृहमा आश्रय लिनु भएका बृद्धबृद्धा वृटिश सेनाबाट सेवा निवृत्त श्रीमान वा श्रीमति रहनु भएको छ । गोरखा वेलफेयर ट्रष्टका अफिसर पूर्णप्रसाद लिम्बु भन्नुहुन्छ आवास गृहमा बस्नु हुने बाजे बजुु वृटिश सेनाबाट पेन्सन वेशमा सेवा निवृत्त हुनु भएका श्रीमान वा श्रीमति मात्र रहने व्यवस्था छ । आवास गृहमा बस्नका लागि उहाँहरुले एकल आवेदन गर्नुपर्छ । खास गरेर ७५ बर्ष उमेर पुगेकाहरुले वेलफेयरमा आवेदन दिनुपर्छ । उहाँहरुको सेवा गर्ने, रेखदेख गर्ने, सम्हाल्ने कोही नभएमा गोरखा वेलफेयर ट्रष्टले आवास गृहमा ल्याउने गर्छ । वेलफेयर अफिसर लिम्बु भन्नुहुन्छ आवास गृहसँगै गोरखा वेलफेयर ट्रष्टमा एक रिहाव सेन्टर समेत रहको छ । रिहाव सेन्टरमा हाल ४ जना बृद्धाहरु रहनु भएको छ । अफिसर लिम्बु् भन्नुहुन्छ
रिहाव सेन्टर भन्नाले वृटिश सेनाबाट सेवानिवृत्त बृद्धबृद्धा जो गाउँ घरमा बस्नुहुन्छ, विरामी हुनुहुन्छ उहाँहरुलाई ल्याएर अस्थायी रुपमा राखी उपचार गरिन्छ । उहाँहरुलाई पूर्ण रुपमा स्वास्थ्य बनाउन १, २, ३, ४ महिना लाग्न सक्छ । अर्थात उहाँहरु आवश्यकता अनुसार बस्नुहुन्छ । त्यस अवधिमा उहाँहरुका लागि सम्पूर्ण सेवा सुविधा औषधोपचार ट्रष्टले नै उपलब्ध गराउँछ । गोरखा वेलफेयर ट्रष्टद्वारा सञ्चालित आवास गृह अत्यन्तै सुविधा सम्पन्न रहेको वेलफेयर अफिसर लिम्बुको कथन छ । पाँचतारे होटलमा पाउने सेवा सुविधा भन्दा राम्रो सेवा बृद्धबृद्धाहरुले पाएका छन् । लिम्बु भन्नुहुन्छ यस्तो सुविधा यरोपमा समेत छैन । सन् २०१३ मा वृटिश नागरिक माइकल युरेनले आफ्नो एकल लगानीमा जग्गा खरिद गरी आवास गृह बनाइदिनु भएको थियोे । त्यसबेला माइकल युरेनले धरानमा आवास गृह र रिहाव सेन्टर बनाइदिनु भएको थियो सँगै उहाँले पोखरामा पनि यस्तै प्रकृतिको आवास गृह र रिहाव सेन्टर बनाइदिनु भएको थियो । धरानमा जस्तै पोखराको आवास गृहमा वृद्धबृद्धा आश्रित छन् भने रिहाव सेन्टरबाट आवासीय स्वास्थ्य सेवा लिइरहेका छन् । वृद्धा वृद्धाहरुलाई कुनै प्रकारको न्यास्रो महसुस नहोस भन्नका लागि ट्रष्टले मठमन्दिर लैजाने, पूजापाठ गराउने, मनोरञ्जनका कार्यक्रमहरु आयोजना गर्ने समेत गरिएको वेलफेयर अफिसर लिम्बुले बताउनुभयो । आवास गृहमा बस्ने बृद्ध बृद्धाहरुलाई आफन्तहरु भेट्न आउनु हुन्छ कि हुँदैन भन्ने जिज्ञासामा वेलफेयर अफिसर लिम्बु भन्नुहुन्छ आउनुहुन्छ । कोही कोही भेट्न आउन गाह«ो मान्नुहुन्छ । शायद टाढा टाढाबाट आउनुपर्ने भएकोले पनि हुनसक्छ । वृद्धबृद्धाहरु आफन्तकोमा जान चाहनुभयो भने केहीदिन लागि हामी पनि जान दिन्छौं । खासगरी चाडवाडमा उहाँहरु आफन्तकोमा जान चाहनुहुन्छ ।
