धरान । लोकतन्त्र दिवसको अवसरमा यहाँ आयोजित अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले लोकतन्त्रप्रति नै चरम असन्तुष्टि व्यक्त गरेका छन् । बीपी कोइराला संग्राहलय एवम् अनुसन्धान केन्द्र र
परिवर्तनशील समाज नेपालको संयुक्त आयोजनामा सोमबार १७ औं लोकतन्त्र दिवसको औचित्यमाथि नै वक्ताहरुले प्रश्न उठाउँदै असन्तुष्टि व्यक्त गरेका थिए । व्यवस्था परिवर्तन भए पनि नागरिकको अवस्था परिवर्तन हुन नसकेको, परिवर्तनको पटक पटक नेतृत्व गरेको काँग्रेसले सत्ताकै लागि मुल आदर्शबाट विमुख भएको, काँग्रेसको विचार आदर्श प्रतिकूलका दलहरुसँग अप्राकृतिक गठबन्धन
गरेको उनीहरुको आरोप थियो ।

१७ औं लोकतन्त्र दिवस नेपाली काँग्रेसको क्षेत्र, नगर, वडा तथा भातृ संगठनले कुनै पनि कार्यक्रम गर्न नसकेको अवस्थामा बीपी कोइराला संग्राहलय एवम् अनुसन्धान केन्द्र र परिवर्तनशील समाजले वक्ताहरुलाई आफ्ना धारणा राख्ने अवसर प्रदान गरेको थियो । अत्यन्तै न्यून संख्यामा सहभागिहरुका बीच पूर्व सांसद हरिनाथ वाँस्तोला, पूर्व प्रदेश नंं १ का प्रमुख गोविन्द सुब्बा, महिला नेतृ उर्मिला प्रधान, सुनसरी क्षेत्र नं. १ का सचिव विजय घिमिरे, नेपाल विद्यार्थी संघ महेन्द्र वहुमुखी क्याम्पस धरानका पूर्व सचिव दोर्ची लामा लगायतले नेपाली काँग्रेसमा पुस्तान्तरणको आवश्यकता माथि जोड दिनु भएको थियो । कार्यक्रमको सभापतित्व विश्वराज शर्माले गर्नुभएको थियो भने सञ्चालन अनुसन्धान केन्द्रका सचिव उमेश श्रेष्ठले गर्नुभएको थियो ।
