सत्ता गठबन्धन दल जनताबाट स्वखलित हुँदै

वर्तमान नौ दलीय सत्ता गठबन्धनभित्र रहेका दलहरु आम सर्वसाधारण नेपाली नागरिकको नजरबाट स्वखलित बन्दै गएका छन् । जनताको नजरबाट स्खलित भएकै कारण सत्ता गठबन्धनभित्रका कुनैपनि दलका नेता अब उप्रान्त एक्लै निर्वाचन लड्न नसक्ने अवस्थामा पुगेका छन् । बीपीको नाममा राजनीति गरेर सत्ता, शक्ति, प्रतिष्ठा, अर्थ आर्जन गरी मैमत्त भएको काँग्रेसका चरम अवसरवादीहरुकै कारण मुलुकमा दुई बर्ष अगाडि गठबन्धन सँस्कृतिको विजारोपण भएको हो ।
गठबन्धनबाट झिना, मसिना, ल्याकतै नभएका नाममात्रको दल खडा गरेर व्यापार गर्न च्याँखे थापेर बसेकाहरुलाई त फाइदा भएको छ, तिनको राजनैतिक व्यापार न त विगतमा फस्टाएको थियो न भविष्यमै फस्टाउने छ । तर वर्तमानमा उनीहरुको मालामाल भएका छन् । उनीहरु आफ्नो व्यापारलाई चालु अवस्थामै राख्न काँग्रेसको वर्तमान सुप्रिम नेतृत्वलाई प्रभावमा पारिरहने कार्यमा व्यस्त छन् । नेपाली काँग्रेसकै आड पाएरै माओवादी केन्द्र ३२ सिटे हैसियतलाई भँजाएर मुलुकको कार्यकारी बन्न पुगेका छन् । राष्ट्रिय पार्टीको हैसियतसम्म बनाउन नसकेको एकीकृत समाजवादी गठबन्धनबाट हँटेको दिन सडकमा छायाँ समेत देखिने छैन । गणतन्त्रको स्थापना लगत्तै संघीयताको सबैभन्दा बढी विरोध गर्दै आएको राष्ट्रिय जनमोर्चा एक सिटे हैसियत कायम राख्नकै लागि गठबन्धनमा सामेल भएको छ । अन्य दलहरुको अवस्था पनि उस्तै हो । गठबन्धनबाट सबैभन्दा धेरै गुमाउने राजनैतिक दलमा काँग्रेस भएको छ । आजको अर्थात तत्कालको सत्ता रस्वादनले काँग्रेसले लाखौ होनहार कार्यकर्ताको भविष्य बिगारिदिएको छ । आश लाग्दा होनेहार युवाहरु क्षणिक अर्थोपार्जन र विलासिताको कारण आफ्नै घर छिमेकमा मुख देखाएर हिँड्न लायकका छैनन् । चितवन, तनहुँ र बारामा हालै सम्पन्न भएको निर्वाचनले काँग्रेससहित नौ दलीय गठबन्धनको ल्याकत अर्थात हैसियत सडकमै छताछुल्ल भएको छ । आफ्नै पार्टीका होनेहार र बौद्धिक व्यक्तित्व, अर्थविद् स्वणिम वाग्ले जस्ता नेतृत्व दम्पत्ति नेतृत्वको पेलाइले पलायन भएका छन् । तनहुँको निर्वाचनमा सत्ता गठबन्धनका कथित ९ दललाई ती बौद्धिक व्यक्तित्व एक्लै भारी भए । आफ्नो लाज छोप्न रातारात सत्ता र शक्तिको आडमा पैसा बाँड्ने, खास्टो बाँड्ने, साँडी बाँड्ने, गरिब बस्तीमा बस्नेहरुलाई लोभ्याउने, धम्क्याउने सम्मका हर्कत गरे । उता चितवनमा कथित ९ दलीय गठबन्धनको अवस्था त्यस्तै टिठलाग्दो देखियो । एक बर्ष अगाडि खुलेको एउटा पार्टीका उमेद्वारका अगाडि सबै निरीह देखिए, निकम्बा देखिए । उता बारामा समेत मधेश आन्दोलनका नाममा आफ्नै विरादीहरुको बली चढाउने, गैर नरसंहार मच्चाउनेहरुलाई के आधारमा नै दलीय गठबन्धनले आफ्नो् साझा उमेद्वार बनाएको हो ? न तिनले कहिल्यै मधेशको हितमा काम गरे न कहिल्यै मधेशीहरुको उत्थानमा सिन्को भाँचे । यस्ता व्यक्तित्वलाई काँग्रेसले बोकेर हिँड्दा बारामा रहेका काँग्रेसका निष्ठावान, इमान्दार कार्यकर्ताहरुको आत्मसम्मानमा कति चोट पुगेको होला । त्यसैले वर्तमान नेतृत्वमा जबसम्म काँग्रेस रहन्छ नेपाली काँग्रेस पतनोन्मुख हुन्छ । इमानदार युवाहरुको पलायन निरन्तर रहन्छ ।

तपाईको प्रतिक्रिया