इनरुवा । नेपालका राजा ज्ञानेन्द्र शाहले वर्तमान शासन व्यवस्थामा राजनैतिक दलहरुले देखाएको व्यक्तिवादी प्रवृत्ति, परिवारवाद, आफू निकट समूह, गुट उपगुटको भरणपोषण जस्ता कैयन कारणले आम नगारिकमा निराशामात्र छाएको नभई वितृष्णा बढेर गएको बताउनु भएको छ । सुनसरी जिल्लाको इनरुवाको जेल मैदानमा सोमबार नागरिक अभिनन्दन ग्रहण गर्दै राजा ज्ञानेन्द्र शाहले उक्त कुरा बताउनु भएको हो । नागरिक अभिनन्दनमा आम सर्वसाधारण, सत्तासीन राजनैतिक दलका स्थानीय नेता, कार्यकर्ता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राजेन्द्र लिङ्गदेन) का केन्द्रीय स्तरका र जिल्ला तहका नेता कार्यकर्ता, केशरबहार विष्ट निकटका कार्यकर्ता लगायत हजारौको सहभागिता रहेको थियो । खास गरेर युवाहरुको ठूलो संख्यामा भएको उपस्थितिले वर्तमान राज्य व्यवस्था र सत्ता सञ्चालन गरिरहेका दलहरुलाई गिज्याएको देखिन्थ्यो ।

तराई मुलका बृद्ध, बृद्धा, युवाहरु समेत राजसंस्था भक्तको व्यानर बोकेर आएका थिए भने युवाहरुले राष्ट्रिय झण्डा बोकेर राजा ज्ञानेन्द्र शाहको ट्याँटु खोपिएको फोटो सहित राजसंस्था विना मुलुक बाँच्न सक्दैन, राजा आउ देश बचाउ, भ्रष्ट नेताहरु खबरदार जस्ता चर्का नारा लगाएका थिए । राजा शाहको आगमनले इनरुवा बजारको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो । प्रहरीले प्रशासनलाई ट्राफिक व्यवस्थापन गर्न हम्मे हम्मे परेको थियो । आयोजकले राजा ज्ञानेन्द्र शाहलाई इनरुवा बजारबाट पैदलै हिडाएर कार्यक्रम स्थलसम्म पु¥याउने योजना बनाएका थिए । तर प्रहरीले सुरक्षा सम्मेदनशीलता भन्दै त्यसलाई रोकेको थियो । राजा ज्ञानेन्द्र शाहको नागरिक अभिनन्दनमा उर्लिएको सर्वसाधारणको अपार भीड र भर्खरै प्रदेश नं. १ को नामांकनप्रति विमति जनाउँदै आन्दोलन गर्र्दै आएका पहिचानवादीहरुको आन्दोलनलाई कारण देखाउँदै प्रहरीले राजाको पैदल यात्रालाई रोकेको थियो । यतिमात्र नभएर आयोजकहरुले विभिन्न स्थानमा श्री ५ ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको नागरिक अभिनन्दनमा सहभागीताका लागि राखेका व्यानरहरु प्रहरीले एक दिन अगाडि हटाएको थियो । वर्तमान सत्ताधारी दलका नेता, अवसरवादी झोले नेताहरुको चर्को दबाबका कारण प्रहरीले त्यस्ता व्यानरहरु हँटाएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार चर्को दबाबका कारण त्यस्ता व्यानर हँटाएको स्वीकार गरेको थियो । यतिमात्र होइन दलका झोलेहरुकै दबाबमा प्रहरीले इटहरी, धरान, विराटनगर, दमक, विर्तामोड,राजविराज लगायतका स्थानहरुबाट स्वस्फूर्त रुपमा नेपालको झण्डा बोकेर आएका सर्वसाधारणहरुलाई रोक्ने प्रयास समेत गरेको थियो । नागरिक अभिनन्दन कार्यक्रममा राजा ज्ञानेन्द्र शाहले झण्डै ६ मिनेट सम्बोधन गर्नुभएको थियो । अत्यन्तै शालीन ढगले सम्बोधन गर्नुभएका शाहले भन्नुभयो राजनैतिक दलहरुको प्रवृत्तिबाट आम जनता निराश भएको आफूलाई सुक्ष्म रुपमा जानकारीमा रहेको छ । मुलुकको पछिल्ला सबै घट्नाक्रमप्रति आफू पूर्ण रुपमा जानकार रहेको भन्दै राजा शाहले यतिबेला सबै क्षेत्रका नागरिकको चिन्ता र चासोलाई बुझ्ने काम समेत गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो आज सहभागी हुनु हुनेहरुलाई राष्ट्र र राष्ट्रियताप्रति गहिरो चिन्ता रहेको आफूले पाएको छु । यो चासो र चिन्ता यसैगरी फैलिदै जाने, तपाईहरुको साथ र माया पाइरहनेमा आफू विश्वस्त रहेको बताउनुभयो । उहाँको कथन थियो, मुलुकमा स्थिरता, स्थायित्व, सुशासन आवश्यक छ । आज सत्ता सञ्चालनमा रहेकाहरुले सामाजिक संरचना च्यात्ने प्रयास गरिरहेका छन् । कसैलाई धन, कसैलाई मन, कसैलाई पद, कसैलाई कद दिएर राज्यका संरचना बलियो हुँदैन । नागरिकलाई परिवर्तनको आभाष दिन नसक्नु सबैभन्दा ठूलो धोका हो । मैले हिजो जुन रुपमा जनताको नासो जनतालाई सुम्पिएको थिएँ आज झन झन अवस्था विकराल किन बन्न पुग्यो भन्दै उहाँले प्रश्न गर्नुभयो । कोरा नारा, सतही फेरबदल, आलटाल, टालटुले प्रवृत्तिले मुलुकले ठोस उपलब्धी हासिल गर्न नसक्ने भएकोले आजको सबैभन्दा ठूलो आवश्यकता भनेको राष्ट्रियता र राष्ट्रिय एकता हो। अब राष्ट्रिय स्वाभिमान, राष्ट्रिय अखण्डता, सार्वभौमिक स्वतन्त्रता जोगाएर शान्ति सुशासनको माध्यमबाट समृद्धितर्फ लम्कनुको विकल्प छैन ।
