धरान । त्रिद्वेशीय व्यापारिक सडक जोगबनी किमाथांका सडकको निर्माण काम सुस्त गतिमा बढ्दा यातायात व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई सास्ती हुदै आएको छ ।
समयमै काम नसक्दा अहिले यो बाटो सम्पन्न गर्न सम्बन्धित पक्षसमेत गम्भीर बनेका छन् भने यातायात व्यवसायी, उद्योगी तथा सर्वसाधारणले सडक चाडो सम्पन्न गर्न सम्बन्धित पक्षसँग आग्रह गर्दै आएका छन् । जोगबनीदेखि किमाथांकासम्म यो सडकको दूरी ३१७ किमी हो ।

विराटनगरको रानीदेखि धरानसम्मको ४९ किलोमिटरमध्ये सुनसरी दुहवी, इटहरीको बजार एरियाबाहेक तराहरासम्म निर्माण भइसकेको छ । यस्तै सेउतीपुलदेखि धरान ८ तीन कुने सम्मको सडक निर्माण कार्य भइरहेको छ भने तराहरादेखि सेउतीसम्मको सडक निर्माण कार्य सुस्त हुदा सवारी साधन लिएर आवातजावत गर्ने, विरामी बोकेर आउने एम्बुलेन्स हिलो, धुलो र खाल्डाखुल्डीका कारण समस्यामा पर्ने गरेका छन् । तरहरादेखि सेउती पुलसम्म प्यासिफिक विल्डर्स जेभी र सेउतीदेखि तीनकुनेसम्म रौता कन्टूक्सनले निर्माणको ठेक्का लिएको छ । तर निर्माण कम्पनीले भने सडकमा ढिलासुस्ती नभएको दाबी गर्छन् । तरहरादेखि सेउती पुलसम्मको निर्माणको ठेक्का लिएको कम्पनीका शव इन्जिनियर लक्ष्मण कार्कीले यो सडक २०८० असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने योजना रहेको बताउनुभयो । उहाँले काम पनि द्रुत रुपमा बनिरहेको दाबी गर्नुभयो । यो सडकको लागत १० अर्ब ५८ करोड तोकिए पनि समयमा पूरा नहुँदा लागत पनि बढ्ने देखिएको छ । कोरोना संक्रमण, मजदुरहरुको होलि डे लगायतका कारणले लागत बढेको हो । यातायात व्यवसायी एवम् नेता सरोज श्रेष्ठले समयमै सडक निर्माण नहुदा यातायातको साधनमा टुटफुट आउने, धुलो र हिलोले समस्या हुने लगायतका समस्या भएको बताउनुभयो । उहाँले यसमा सम्बन्धित पक्षले खवरदारी गरेर निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई दबाब दिनुपर्ने बताउनुभयो । उहाँले सडक निर्माण सम्पन्न भए पनि सर्ट रिफ्रेसमेन्ट सेन्टर ठाउँ ठाउँमा निर्माण गर्नुपर्ने आवश्यकता रहेकोले सडक डिभिजन कार्यालयमा यस सम्बन्धी अनुरोध गरेको बताउनुभयो । सडक निर्माण हुनुभन्दा अगाडि नै डिपिआर तयार गर्नुपर्नेमा त्यो नदेखिएकोले यस
कुरामा पनि सडक डिभिजन कार्यालयले सोच्नुपर्ने बताउनुभयो । यता व्यापारिको प्रतिनिधि गर्ने सुनसरी उद्योग वाणिज्य संघ सुनसरीका अध्यक्ष विजय श्रेष्ठले सामान ढुवानी लगायत आवतजावतमा व्यवसायीहरुको धेरै गुनासो आउने गरेको बताउदै चाडो निर्माण सम्पन्न गर्न सम्बन्धित पक्षसँग आग्रह गरिएको बताउनुभयो । जिल्ला प्रशासन कार्यालय सुनसरीले ६ लेन बाटा अन्तर्गत तराहरादेखि धरानसम्मको सडक निर्माण चाडो सम्पन्न गर्न सम्बन्धित पक्षको उपस्थितिमा छलफल हुदा रुग्ण आयोजना समयमै सम्पन्न गर्न आग्रह गरिसकेको जनाएको छ । सुनसरीकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले यस विषयमा सम्बन्धित पक्षसँग छलफल भएको र छलफलमा ६ लेनको आयोजना प्रमुख, हुलाकी मार्गको प्रमुख र सडक डिभिजनका प्रमुख सहितको उपस्थितिमा रुग्ण आयोजन समयमा सम्पन्न गर्ने, तत्काललाई खाल्डाखुल्डी पुर्ने, सडकमा गर्नुपर्ने रोड फर्निसन, सडक सुरक्षाको उपायहरु समयमै अवलम्बन गर्न अनुरोध गरिएको बताउनुभयो । लामो समयसम्म ६ लेन सडकको निर्माण सम्पन्न विविधि कारणले हुन सकेको छैन । यसले गर्दा यात्रुवाहक बस, विरामी बोकेर आउने गरेका एम्बुलेन्स, दुई पाँग्रे सवारी साधनले सडकमा भएका खाल्डाखुल्डी, धुला, धुवा, बर्षाद्को समयमा सडक हिलाम्मे हुदा सास्ती भोग्नु परेको छ ।
