धरान । नेवारी संस्कार र संस्कृतिलाई जगेर्ना गर्र्दे सामाजिक कार्यमा संलग्न रहँदै आएको नेवार एकता समाजले धरानलाई संस्कृति र संस्कारको विकासमा स्थानीय
सरकारसंग हातेमालो गरेर अगाडि बढ्ने भएको छ ।
भर्खरै सम्पन्न निर्वाचनबाट निर्वाचित पदाधिकारीहरुले ‘बार्षिक कार्यक्रम तथा योजना २०८०’ सार्जजनिक गर्ने क्रममा यस्तो बताएका थिए । उनीहरुले सार्वजनिक गरेको ११ बुदे योजना अन्तर्गत धरानको संस्कृति र संस्कारको कुरालाई प्राथमिकताका साथ उठान गरेका हुन् । केन्द्रीय कार्यालय धरान रहेको नेवार एकता समाज धरानले स्थानीय सरकारसँग मिलेर धरानको साँस्कृतिक तथा संस्कारसँग जोडिएका पक्षमा सामेल हुने जनाएको हो । समाजका अध्यक्ष महेश श्रेष्ठले धरानको संस्कृति जोगाउन नेवारको भूमिका पनि महत्वपूर्ण भएकोले नेवारीको सांस्कृतिक कार्यक्रम लाखे नाच, गाइजात्रालगायतले धरानलाई अझ आकर्षण थपिने बताउदै यसमा स्थानीय सरकारसँग मिलेर अगाडि बढ्ने बताउनुभयो ।

यसमा साथै समाजले नेवारी समुदायभित्रका विकृति, विसंगतिलाई निस्तेज पार्ने कार्यक्रम समेत बार्षिक कार्यक्रम तथा योजनामा समावेश गरेको छ । जस अन्तर्गत१६ वर्षभन्दा कम उमेरका बालबालिकाहरूलाई मादक पदार्थ तथा धूमपान बिक्री वितरण बन्देज लगाउनका लागि विशेष सचेतनामूलक कार्यक्रम गरिने, धरानलाई लागूपदार्थ दुव्र्यसनमुक्त सहर निर्माण गर्नका लागि विविध कार्यक्रम लगायतका रहेका छन् । यसैगरी विपन्न तथा असहाय युवायुवतीहरूलाई उच्च शिक्षा अध्ययनको अवसरबाट बन्चित हुनुनपर्ने अवस्था सिर्जना गर्ने योजनामा उल्लेख छ । समाजका संस्थापक अध्यक्ष राजेशमान श्रेष्ठले ब्यक्ति कुनै राजनैतिक विशेष्मा आस्था राख्ने भएपनि नेवार एकतासमाजभित्र विसुद्ध जातीय, सामाजिक संस्था भएको बताउनुभयो । उहाँले यो संस्था राजनीतिबाट विगतदेखि नै टाँढा रहेको र अब पनि राजनीतिबाट अलग हुने बताउनुभयो । बार्षिक कार्ययोजनामा समाजले समाजलाई धरानबाट प्रदेशस्तरीय बनाउने, नेवार परिवार र समाजमा जन्मदेखि मृत्युसम्मका संस्कार नेवारी परम्परा र विधिअनुसार गराउन अभिप्रेरित गरिने, रुग्ण उद्योग तथा व्यवसायलाई परामर्श र नयाँ व्यवसाय स्थापना गर्ने अभियान सञ्चालन गर्ने, नेवार एकता समाजको सदस्य सङ्ख्या एक वर्षमा ५ हजार पु¥याइने, एक वर्षभित्र समाजको भवन निर्माणार्थ उपयुक्त स्थानमा जग्गा खरिद वा प्राप्तिको व्यवस्था गर्ने लगायतका कुराहरु समेटिएका छन् । ०७५ सालमा स्थापना भएको समाजले विगतमा रगत अभाव भएको अवस्थामा प्रदेशमै सबैभन्दा बढी रगत संकलन गरेर रेडक राखेको थियो भने धरानका विभिन्न सार्वजनिक कार्यक्रमहरुमा आफ्नो उपस्थिति जनाएर धरानको नेवारी पहिचान र संस्कृतिको जगेर्ना गर्ने काम गरेको छ ।
