भरौल गोल्डकप चैत्र आज देखि भारतका दुईसहित ८ टिम सहभागी

धरान । न्युस्टार क्लब  वराहक्षेत्रको आयोजनामा हुने  वराहक्षेत्रको प्रतिष्ठित फुटबल प्रतियोगिता अन्तर्राष्ट्रिय भरौल गोल्डकपको छैठौं संस्करण आजबाट सुरु हुँदैछ । फुटबल खेलको उर्वर भूमि भरौलस्थित जगन्नाथ डेडराज जनता माविको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा  भारतका दुई टोलीसहित ८ टिमले सहभागिता जनाउने तय भएको छ । सोमबार खेलमैदानस्थित न्युस्टार क्लबको भवनमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको तयारीबारे जानकारी गराइएको  हो । प्रतियोगितामा सिलिगुडी  भारतको कन्चनजङ्घा एफसी, दार्जिलिङको जनम्क्त परिवारसहित राष्ट्रिय जागृति क्लब इटहरी, एन्फा मोरङ, क्षमादेवी प्लानिङ बोइज युनाइटेड काठमाडौ, डिवाइन बोइज युनियन काठमाडौ, केबीए ग्लोबल भरतपुर एफसी र आयोजक न्युस्टार क्लबबीच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष भेषराज कार्कीले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले ट्रफीसहित नगद ४ लाख रुपैयाँ प्राप्त गर्ने छ भने उपविजेताले ट्रफीसहित नगद २ लाख रुपैयाँ प्राप्त गर्ने छ ।
प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । प्रत्येक खेलका उत्कृष्ट खेलाडी म्यान अफ द म्याचले नगद ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, गोलकर्ता, प्रशिक्षक र उदयीमान खेलाडीले जनही १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । उल्लेखीय राष्ट्रिय खेलाडीहरु उत्पादन गर्न सफल भरौलबाट राष्ट्रिय खेलाडीका रुपमा हरि ठकुरी, श्याम माली, टंक बस्नेतजस्ता खेलाडीले पहिचान बनाइसकेका छन् ।


‘फुटबल खेलाडीहरुको  उर्वर भूमि हो यो, यो भूमिलाई थप मलिलो बनाउन र अन्तर्राष्ट्रिय  स्तरमा चिनाउन हामीले पहल प्रयत्न गरिरहेका छौं’, वराहक्षेत्र ५ का वडाध्यक्ष तथा अन्तर्राष्ट्रिय भरौल गोल्डकपका संयोजक रोहित काफ्लेले भन्नुभयोे, ‘खेलकुदमा विनियोजित बजेटको ५० प्रतिशत बजेट गोल्डकपका लागि छुट्याएको छु ।’ प्रतियोगिता सयोजक तथा वडाध्यक्ष काफ्लेले खेलकुद समितिबाटसमेत बजेट विनियोजन गर्न पहल गरेको बताए । उनले विगतमा जेजस्तो भए पनि वैशाख ५ भित्र प्रतियोगिताको आयव्यय सार्वजनिक गर्ने प्रतिबद्धता गरे । विगतका संस्करणहरुमा नगर प्रमुखले प्रतियोगिताको उद्घाटन गर्ने गरेको भए पनि यो पटक प्रदेशका सामाजिक विकास मन्त्री वुद्धिकुमार राजभण्डारीले उद्घाटन गर्ने छन् । प्रतियोगिताको टिकट दर ५० रुपैयाँ राखिएको छ भने फाइनल खेलमा १ सय रुपैयाँ तोकिएको छ ।

खेल मैदानको स्तरोन्नति अझै भएन
वराहक्षेत्र नगरपालिकामा फुटबल खेलका लागि पर्याप्त र स्तरीय खेलमैदानको अभाव भइरहेका बेला प्रयोगमा आइरहेको मैदानको स्तरोन्नति गर्न स्थानीय सरकार उदासिन देखिएको छ ।
जगन्नाथ डेडराज जनता माविको खेलमैदानमा लगातार पाँच वर्षदेखि उत्कृष्ट र विवाद रहित प्रतियोगिता भइरहे पनि उत्कृष्ट खेल प्रदर्शन गर्न र प्रतियोगिताको गरिमा बढाउने खेलमैदानकै स्तरोन्नति गर्न सकिएको छैन । ‘लागत स्टिमेट र डिपिआर तयार गरेर नगर सरकारदेखि विभिन्न निकायमा प्रस्ताव गरेको भए पनि वजेट विनियोजन हुन सकेको छैन,’ सन्चारकर्मीको प्रश्नमा न्युस्टार क्लबका अध्यक्ष भेषराज कार्कीले भन्नुभयो, ‘स्तरोन्नति किन भएन भन्ने कुरा त सरकार प्रमुखहरुलाई सोध्न प¥यो नि ।’ प्रतियोगितामा आर्थिक सङ्कट यस अघिका प्रतियोगिताका उठ्नुपर्ने रकम उठ्न नसकेको अवस्थामा प्रतियोगिता सन्चालन  गरेको अध्यक्ष कार्कीले बताउनुभयो । प्रायोजक र सहयोगी संस्थाबाट ढिलो रकम प्राप्त हुँदा समेत समस्या उत्पन्न हुने उहाँको भनाइ छ ।
एन्फा सुनसरीका उपाध्यक्षसमेत रहेका कार्कीले यस वर्षदेखि मदिराजन्य व्यवसायको प्रवर्धन गर्न नपाइने  राज्यको नियमका कारण प्रतियोगितामा आर्थिक सङ्कट आइलाग्न सक्ने बताउनुभयो । ‘हामीले टुबोर्गसँग प्रायोजनका लागि कुरा अघि बढाएका थियौं तर सरकारले मदिराजन्य व्यवसायको बोर्ड, होर्डिङ बोर्ड लगाउन नपाउने नियम लागू गरेपछि कम्पनीले प्रतियोगितालाई प्रायोजन नगर्ने भएको छ ।’ कार्कीले भन्नुभयोे । प्रतियोगिताको कुल लागत ५५ लाख ५१ हजार रुपैयाँ रहेको क्लबका अध्यक्ष कार्कीले जानकारी दिनुभयो । उहाँले प्रदेश खेलकुद विकास समिति, राष्ट्रिय खेलकुद
परिषदमा समेत प्रस्ताव पेश गरेको जानकारी दिन्भयो । वराहक्षेत्र नगरपालिकाबाट समेत १० लाख रुपैयाँ प्राप्त हुने अपेक्षा रहेको उहाँको भनाइ छ । तर, नगरपालिकाले हालसम्म रकम विनियोजन गर्नेबारे निर्णय गरेको छैन । यस्तै राष्ट्रिय खेलकुद  परिषदसँग समेत १५ लाख रुपैयाँ प्राप्त गर्ने अपेक्षा  गरेको छ तर उक्त रकम पनि अनिश्चित छ । ५ नम्बर वडा कार्यालयले भने ७ लाख रुपैयाँ विनियोजन गरिसकेको छ । प्रतियोगिता सन्चालनका लागि खेलप्रेमीले रकमसहयोग गर्ने प्रतिबद्धता जनाएको ८ लाख रुपैयाँसमेत प्राप्त भइसकेको छैन ।

तपाईको प्रतिक्रिया