व्यवसायीहरु लगानी सम्भव्यताको खोजीमा

धरान । आर्थिक सक्रमणकालीन मुलुक गुज्रिरहेको अवस्थामा व्यवसायीहरु भने लगानीको खोजीमा रहेका छन् । कोरोना संक्रमणकालीन अवस्थापछि उद्योगी व्यवसायीहरु लगानी प्रवद्र्धन गर्ने कुरामा निरन्तर छलफलमा जुटेका छन् । संक्रमणकालीन अवस्थामा राज्यबाट कुनै सहयोग प्राप्त नभए पनि लगानी गर्न उत्सुक छन् । अहिलेको विषम परिस्थितिमा चुनौति धेरै भएपनि सम्भावना भने अझै रहेको उनीहरुले छलफलका क्रममा बताउने गरेका छन् । सुनसरी उद्योग वाणिज्य संघमा आयोजित ‘पर्यटनको सम्भावना, चुनौति एवम् धरानमा आउँदै गरेको लगानीलाई स्वागत’ विषयक कार्यशाला गोष्ठीमा सहभागी उद्योगी एवम् व्यवसायीहरुले सुरक्षा, सरकारको व्यवसायिक नीति स्पष्ट नहुदा हुदै पनि व्यवसायीहरुले लगानी गर्न भने पछि नहटेको बताएका थिए । धरानमा ५ तारे होटल सञ्चालनको तयारीमा रहनु भएका देबेन्द्र बज्गाईले चुनौति हुदा हुदै पनि धरान ४ छोटी मोरङमा पाचतारे होटल सञ्चालन गर्न लागेको बताउनुभयो । उहाँले स्थानीय साधन स्रोतको पहिचान गरी विदेशी लगानी भित्र्याउने होटल सञ्चालनको मुख्य उद्देश्य रहेको बताउनुभयो ।


उहाँले ६ सय ४० करोडको लगानीमा पाँच तारे होटलसहितको टुरिस्ट भिलेज, २०२६ सम्ममा सन्चालन गर्ने लक्ष्य रहेको जानकारी दिनुभयो । डिए इन्भेस्टमेन्ट प्रालि (डीएआई) को ५१ प्रतिशत लगानी र ४९ प्रतिशत हुन आउने २५ मिलियन अमेरिकी डलरको वैदेशिक लगानीमा टुरिस्ट भिलेज निर्माण हुन लागेको उहाँको भनाई छ । लामो समयदेखि जल पर्यटनमा सक्रिय रहेका विमलमान श्रेष्ठले सबैभन्दा ठूलो सुरक्षा चुनौति भएको बताउनुभयो । लामो समयदेखि सप्तकोशी नदीमा जेट सञ्चालन गर्दै आउनु भएका श्रेष्ठले चुनौतिका वावजुद पनि निरन्तर सञ्चालन  भइरहेको जानकारी दिनुभयो ।
कार्यशाला गोष्ठीमा बोल्दै होटल व्यवसायी लोकेन्द्र श्रेष्ठले होटल व्यवसाय पर्यटनसँग सम्बन्धित व्यवसाय भएको बताउदै अहिलेको अवस्थामा पर्यटक नै नआएको बताउदै होटल सञ्चालन गर्न कठिन भएको बताउनुभयो । कार्यशाला गोष्ठीको आयोजक सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले लगानी गर्ने वातावरण तयार पार्न सबैसँग छलफल सहकार्यका कामलाई अगाडि बढाइरहेको बताउनुभयो । उहाँले ७ वटा विषयमा लगानीका लागि विज्ञ व्यक्तिबाट प्रोजेक्ट तयार गरिएको बताउनुभयो । धरान उपमहानगरपालिकका मेयर हर्क साम्पाङले स्थानीय सरकार धरानको पर्यटन प्रवद्र्धनमा सक्रिय रहेको बताउनुभयो । उहाँले उपमहानगरपालिकाले अन्य स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्ने योजना ल्याएको बताउनुभयो । राज्यको असहयोग, बंैंकको व्याजदरम वृद्धि, व्यवसायिक सून्यताका बाबजुद पनि उद्योगी व्यवसायीहरु सम्भावनाको खोजीमा जुटेका छन् ।  हरेक दृष्टिकोणले चुनौति भएपनि सबै मिलेर अगाडि बढे चुनौतिको सामना गर्न सकिने उनीहरुको निस्कर्ष थियो ।

तपाईको प्रतिक्रिया