स्ववियु निर्वाचन : विद्यार्थी संगठनहरु भागबण्डामा सीमित

त्रिभुवन विश्व विद्यालय अन्तर्गतका ६२ वटा आंगिक क्याम्पसमध्ये ४७ वटा सामुदायिक क्याम्पसहरुमा लामो समयपश्चात स्ववियु निर्वाचन सम्पन्न भएको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यसपटक विगतको भन्दा स्वयम् विद्यार्थीहरुकै लागि उत्साहजनक रहेन । विगतका स्ववियु निर्वाचनमा विद्यार्थीहरु स्पष्ट एजेन्डा सहित निर्वाचनमा सहभागी हुन्थे । तर यसपटकको स्ववियु निर्वाचनमा विद्याथीर्हरु एजेन्डाविहीन प्रस्तुत भएका  छन् । तराईका एक आद्य स्थानबाहेक यसपटकको स्ववियु निर्वाचनमा समेत नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेविसंघ र नेकपा एमाले निकट विद्यार्थी संगठन  अनेरास्ववियुबीचमै प्रतिष्पर्धा देखियो । यसपटकको निर्वाचनमा अनेराश्ववियु एकल रुपमा स्ववियु निर्वाचनमा होमिएको पाइयो भने नेपाल विद्यार्थी संघ केन्द्रीय सत्ताको समीकरण अनुरुप भागबण्डाको राजनीतिमा समेत देखियो । भागबण्डाको समीकरणमा रहेका केन्द्रीय सत्ताका राजनैतिक दलहरुको गठबन्धनको निर्देशन अनुरुप निर्वाचनमा होमिदा नेपाल विद्यार्थी संघमा चरम असन्तुष्टि देखिएको थियो । सत्ता गठबन्धनको मुख्य घटक नेपाली काँग्रेस सत्ताकै लागि विचार, आदर्श, नीति, सिद्धान्त केही नमिल्ने दलहरुसँग अप्राकृतिक गठबन्धन गर्न पुग्दा विगतको स्थानीय निर्वाचन, प्रदेश र संघका निर्वाचनमा मुलुकभरि कार्यकर्ताहरु निराश भएका थिए । संगठनबाट रातदिन खटिएका कार्यकर्ताहरुको अवसर केन्द्रीय नेतत्वको गलत निर्देशनले भताभुंग भएको थियो । अधिकांश स्थानमा इमान्दार कार्यकर्ताले विद्रोह गर्नुपरेको थियो । गठबन्धनका अन्य दललाई मत नदिएको आरोपमा पार्टीबाट निस्कासन गर्नेसम्मको काम भयो । यसले तत्कालाई क्षति नदेखिए पनि आगामी दिनमा त्यो क्षतिको आंकलन गर्न मुस्किल हुन्छ । विद्यार्थी निर्वाचनमा समेत नेतृत्वले हस्तक्षेप गर्नु स्वभाविक होइन । विगतमा विद्यार्थी संगठनहरु विद्यार्थीको हक, हित, शैक्षिक उत्थान लगायतका एजेन्डालाई मुख्य मुद्दा बनाएर निर्वाचनमा होमिन्थे । तर यसपटक कसरी निर्वाचन जित्ने भन्ने एजेण्डामा उनीहरु रुमलिएका थिए । १० मत समेत नभएका सत्ता गठबन्धनका दलहरुसँगका विद्यार्थीसँग पदीय भागबण्डा गरेर चुनाव लड्दा थोरै भएपनि हिनताबोध हुनुपर्ने हो । यसको अनुभूति सम्भवत ः नेपाल विद्यार्थी संघलाई भएको हुनुपर्छ । अधिकांश कलेजहरुमा उमेद्वारी दिएका नेपाल विद्यार्थी संघका विद्यार्थीहरु एक्लै मत माग्न व्यस्त देखिनुले गठबन्धन संस्कारप्रति उनीहरुको असन्तुष्टि देखिदादेखिदैको अवस्थामा भागबण्डा गर्नुपर्दा विद्यार्थी नेताहरु केवल आफ्ना लागिमात्र मत मागेर हिड्नुपर्ने अवस्थाको सिर्जना कस्ले गरेको  हो ? आजका विद्यार्थी नेता भोलि मुलुकको बागडोर सम्हाल्ने हैसियतमा हुन्छन् । आज नेतृत्वमा रहेकाहरुको विगतलाई नियाल्दा प्रष्ट हुन्छ ।

तपाईको प्रतिक्रिया