धरान । स्वकीय सचिवको हस्ताक्षर गरी अनधिकृत व्यक्तिले वडाध्यक्षहरुलाई निर्देशनात्मक पत्र काटेको विषयमा अवरुद्ध धरान कार्यपालिकामा थप तनाव देखिएको छ । कार्यपालिका भाँडेको आरोप लगाउँदै धरान १० का वडाध्यक्ष विवेक राईलाई स्पष्टीकरण पत्र काटेपछि वडाध्यक्ष र कार्यपालिका सदस्यहरु आन्दोलित भएका छन् । असन्तुष्ट वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले मेयर साम्पाङले माफी माग्नु पर्ने माग राख्दै २४ घण्टे अल्टिमेटसँगै ५ बुँदे मागपत्र प्रस्तुत गरेका छन् ।

विवादित पत्र काटेको विषयमा गत १ चैत्रमा कार्यपालिका बैठकमा वडाध्यक्षहरुले आपत्ति जनाएपछि मेयर साम्पाङले ’मैले अह्राएको’ भन्दै जिम्मा लिनुभएको थियो । मेयर साम्पाङ र वडाध्यक्षहरुबीच चर्काचर्की परेपछि मुख्य एजेण्डामा प्रवेश नगरी नै बैठक स्थगित भएको थियो । मेयर साम्पाङले ’कार्यपालिका बैठक भाँड्ने गरी अराजक र अत्यन्तै अमर्यादित भाषा शैलीमा कराएर अनुशासनहीनता देखाउनुको कारण खुलाएर पत्र प्राप्त भएको मितिले ३ दिनभित्र स्पष्टीकरण लेखी पठाउनू, चित्त बुझ्दो स्पष्टीकरण नआए कार्यपालिका बैठक भाँडेको कसुरमा कानुनअनुसारको सजाय हुने’ व्यहोराको पत्र गत ३ चित्रमा धरान १० का वडाध्यक्ष विवेक राईलाई स्पष्टीकरणमा उल्लेख थियो । वडाध्यक्ष राईलाई ’स्पष्टीकरणका लागि पत्र’ पठाएपछि आक्रोशित वडाध्यक्षहरुले धरान उपमहानगरपालिका परिसरमा पत्रकार सम्मेलन गर्दै मेयर साम्पाङलाई माफी माग्न २४ घण्टे अल्टिमेटम दिएका छन् । उपमहानगरका वडाध्यक्ष र कार्यपालिका सदस्यसहित २८ जनाले हस्ताक्षर गरेको विज्ञप्ति जारी गरिएको छ ।
मेयर साम्पाङले माफी नमागे चरणबद्ध आन्दोलन गर्ने र अख्तियारको दुरुपयोग गरेकाले सम्बन्धित निकायमा कानुनी कार्बाहीका लागि उजुरी गर्ने उनीहरुको भनाई छ । धरान १७ का वडाध्यक्ष तथा नगर कार्यपालिका प्रवक्ता सूर्यबहादुर भट्टराई (मनोज) ले मेयर साम्पाङले एकल निर्णयका भरमा नगरपालिका चलाउन खोजेको आरोप लगाउनुभयो । विगतमा धरान उपमहानगरपालिका क्षेत्रमा आम सहकार्य, एकता तथा सहमतीका आधारमा सामुहिक भावना लिएर यस क्षेत्रको विकास निर्माणलगायत आमनागरिकहरुको चासो र अपेक्षाहरुको सम्बोधन गर्ने कार्य हुँदै आएकोमा हाल ठिक विपरित मनोमानी, स्वेच्छाचारी ढंगले एकल निर्यायका आधारमा अगाडी बढ्न खोजेको उहाँको भनाई छ । सुकुम्बासी तथा अव्यवस्थित बसोवासीहरुलाई खानेपानी तथा बिजुलीबाट बञ्चित हुने गरी
सिफारिस रोक्ने कार्य गरेको, संंघ तथा प्रदेशमार्फत धरानको विकासको लागि योजना माग गर्न नियमानुसार उपमहानगरपालिका कार्यालयको सिफारिस माग गर्दा उल्टै सेवाग्राही धरान ११ का सन्तोष लिम्बूलाई प्रहरी लगाई कार्यालय परिसरबाट नै गिरफ्तार गराउने घटनाले धरान उपमहानगरपालिका जनप्रतिनिधिमूलक संस्था हो कि जंगबहादुरको अया हो भन्ने द्विविधा सिर्जना गरेको उनीहरुको भनाई
छ । उपमहानगरका वडाध्यक्ष र कार्यपालिका सदस्यसहित २८ जना कार्यपालिका सदस्य चरणवद्ध आन्दोलनमा उत्रिएका छन् । माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने उनीहरुले चेतावनी दिएका छन् ।
