धरान । दोस्रो विश्व युद्ध लडेका तीन जना वीर गोर्खाली योद्धालाई धरानमा सम्मान गरिने भएको छ । वीर योद्धाको सम्मानमा स्थापित गोर्खा सिमट्र ट्रष्ट नेपालले प्रथम गोर्खा ट्रेइलब्लेजर, २०२३ को अवसरमा योद्धालाई सम्मान गर्न लागेको हो । सम्मानित हुने वीर गोर्खा योद्धाहरुमा ओखलढुङ्गाका १०२ वर्षीय धनसिंह राई, तेह्रथुम घर भई हाल धरान(११ बस्दैं आएका १०१ वर्षीय धनदल लिम्बू, संखुवासभा घर भई हाल विराटनगर बस्दैं आएका १०१ वर्षीय मानबहादुर लिम्बूलाई सम्मान गर्न लागिएको हो ।

विश्व शान्तिको लागि प्रथम र दोस्रो विश्वयुद्धसँगै विभिन्न युद्धमा वीरगति प्राप्त गरेका वीर गोर्खालीको सम्मान र सम्झनामा प्रथम गोर्खा ट्रेइलब्लेजर, २०२३ नेपाल धरानमा आगामी चैत ४ गते आयोजना गरिने भएको छ । धरानमा पत्रकार सम्मलेन गर्दै आइतबार संस्थाका अध्यक्ष महेन्द्रकुमार राईले आयोजनाका बारे जानकारी दिए । ट्रेइलब्लेजरका धावकहरुले साडे ८ किलोमिटर दूरी पार गर्नेछन् ।
गोर्खा ट्रेइल ब्लेजरको सुरुआत धरानको रत्न चौकबाट हुने छ । रत्नचोक हुँदै मंगलबारे चोक– विष्णुपादुका जोड्ने नयाँ पुल, भञ्ज्याङ हुँदै ब्रिटिस गोर्खा स्मृति पार्कमा समापन हुनेछ । दौडमा १ सय ५० जना धावकको सहभागिता हुने आयोजकको विश्वास छ । महिला र पुरुष दुवै समूहका विजेता प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार, तृतीयलाई ५ हजार र सान्त्वनालाई ३ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । सन् २०१८ मा दोस्रो विश्वयुद्धका ४ योद्धालाई सम्मान गर्दै गोर्खा सिमट्र«ी टूष्ट नेपाल स्थापना गरिएको हो । यस संस्थाले विभिन्न युद्धमा वीर गति प्राप्त गरेको सम्झना स्वरुप नेपालमा पहिलो पटक गोर्खा सिमट्री ट्रष्ट नेपालले गोर्खा ट्रेइलब्लेजर २०२३ नेपाल धरान आयोजना गर्न लागेको हो ।
