धरान एक्स्पोमा सोमबारदेखि रोटेपिङ सञ्चालनमा आयोे

धरान । धरान उपमहानगरपालिकाले अनुमति दिएसँगै धरान एक्स्पोमा सोमबारबाट रोटेपिङ सञ्चालनमा आएको छ । अनुमति नलिई सञ्चालनमा ल्याउन लागिएको भन्दै एक्स्पोको पहिलो दिनबाट नै पालिकाले रोटेपिङमा रोक लगाएको थियो । रोटेपिङ सञ्चालनको विषयमा जानकारी दिँदै एक्स्पोका संयोजक गोपाल श्रेष्ठले सबै प्रक्रिया पूरा भएकाले सोमबार रोटेपिङ सञ्चालनमा आएको जानकारी दिए । ‘आवश्यक प्रक्रिया पूरा गरे पनि पालिकासँग समन्वय हुन बाँकी रहेको थियो त्यसलाई हामीले पूर्णता दिएका छौँ’ एक्स्पो संयोजक श्रेष्ठले भने, ‘पालिकाबाट अनुमति प्राप्त भएसँगै सोमबारबाट एक्स्पोमा  रोटेपिङ सञ्चालनमा ल्याएका छौ ।’
सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा फागुन ११ बाट धरान रङ्गशालामा जारी एक्स्पोमा  रोटेपिङबाहेक अन्य मनोरञ्जनका सामग्री र बाल उद्यान सञ्चालन भइरहेका छन् । एक्स्पोको पाँचौं दिन चर्चित गायक दीपक लिम्बूको साङ्गीतिक प्रस्तुति रहेको थियो । गायक लिम्बूबाहेक स्थानीय कलाकार र समूहले आ–आफ्नो प्रस्तुति दिइएको बताइएको छ । फागुन २० गतेसम्म सञ्चालन हुने एक्स्पोमा एक सय २३ स्टल अवलोकन गर्न सकिनेछ । एक्स्पोमा दिउँसो ३ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । दिउँसो तीनदेखि पाँच बजेसम्म टिकट दर ५० रुपैयाँ राखिएको एक्स्पोमा पाँच बजेपछि प्रवेश शुल्क २ सय रुपैयाँ निर्धारण गरिएको छ ।

तपाईको प्रतिक्रिया