तेह्रथुमको चुहानडाँडामा आगलागी  १४ घर जलेर नष्ट

तेह्रथुम । तेह्रथुममा आगलागी हुँदा १४ घर जेलेका छन् । शुक्रबार आठराई–६ चुहानडाँडामा भएको आगलागीबाट १४ घर जलेको हो । चुवानडाडाको हात्तीखर्कमा रहेका घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते भएकी छिन् । उनको अहिले पाँचथर सदरमुकाम फिदिममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आगलागीका कारण नौ परिवार विस्थपित भएका छन् ।
प्रहरीका अनुसार घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको हो । हात्तीखर्कमा १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खाली रहेको वडाध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिए । या वस्ती तामाङ समुदायको बाहुल्य रहेको छ । आगलागीबाट सोमबहादुर तामाङ, वीरधन घिसिङ, आशबहादुर घिसिङ, भीमबहादुर वाइबा, सूर्यबहादुर योञ्जन र सुरेन्द्र वाइबाको घर जलेर नष्ट भएको छ । दधिराम वाइबाको घरमा बस्दै आका दोर्जे बल, दलबहादुर तामाङको घरमा बस्दै आएका सुवास घिसिङ र अमरबहादुर वाइबाको घरमा बस्दै आएका लामामणि तामाङको घरसँगै अन्नपात र लत्ताकपडा नष्ट भएको छ । राईबहादुर तामाङ, डिकमान तामाङ, शंखर योञ्जन, जसबहादुर घिसिङ र भक्तबहादुर वाइबाको खाली घर जलेको छ । आगलागीबाट स्थानीयका गोठमा रहेका पशुचौपाया जलेर मरेका छन् । अधिकांशको घर फुसले छाएकोले बढी क्षति भएको प्रहरीको भनाई छ । तमोर नदी किनारको जङ्गलबाट सुरू भएको आगो बस्तीमा पसेपछि नियन्त्रण बाहिर आउँदा सो क्षति भएको हो । अहिले बस्तीमा लागेको आगो नियन्त्रणमा आएको छ । जङ्गलमा लागेको आगो भने नियन्त्रणमा छैन । फिदिम नगर पालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सक्रियतामा आगलागी नियन्त्रणमा आएको थियो ।

तपाईको प्रतिक्रिया