धरान रनले सामाजिक कार्यलाई निरन्तता दिँदै

धरान । युवा पुस्तालाई समाजमा भएका विृकृति, विसंगतिलाई हटाउँदै सामाजिक कार्यमा सक्रिय बनाउने उद्देश्यले एक दशक अगाडि स्थापना भएको धरान रनले उद्देश्य अनुरुप काम गरेर देखाएको छ ।
रनले दौडको प्रतियोगताको आयोजना गरी उठेको रकम सामाजिक कार्यमा खर्चिने देखि लिएर दुव्र्यसनमा फँसेका युवाहरुलाई खेलकुदको माध्यमबाट नयाँ जीवन प्रदान गरेको छ । पछिल्लो समय समेत धरान  रनले यसलाई निरन्तता दिँदै आएको छ । धरानमामात्र सीमित यो रन अहिले देश विदेशका व्यक्तिहरु समेत समावेश भएर रनको कार्यशैलीप्रति हौसला बढाउने काम गरेका छन् ।
भर्खरै सम्पन्न धरान रनमा क्यन्सरलाई रनकै माध्यबाट पचाउन सक्ने क्षमता भएकी मञ्जु राइको उपस्थिति रहेको थियो । विभिन्न ठाउमा हुने प्रतियोगितामा उपस्थिति जनाएर आफूसमेत सहभागी बन्दै आउनुभएकी राईले आफूलाई ब्रेस क्यान्सर भएको र क्यान्सरपछि  पनि जीवन छ भन्ने सन्देश बोकेर धरान रनमा सहभागी भएको बताउनुभयो । पोखरा रनमा समेत सहभागी भइसक्नु भएकी दाहालले जीवन शैलीमा परिवर्तन आए जुनसुकै रोगले पनि केही गर्न नसक्ने आत्मबल मिल्ने सन्देश सबै समक्ष दिनुभएको थियो ।


कसरत गर्न उमेर समूहले केही फरक नपर्ने धरान रानमा बेलायतबाट सहभागी हुन आउनु भएका ६५ बर्षीय आत्मराम दाहालले सबैलाई सन्देश दिनुभएको थियो । उहाँले आफू मधुमेहको विरामी भएपनि शारीरिक कसरतलाई नियमत बनाउँदा त्यो महसुस नभएको सन्देश दिनुभयो । इच्छा शक्ति लिएर गर्न चाहेको कुरा गर्न खोजे सम्भव हुने बताउनुभयो । प्रत्येक बर्ष धरान रनमा सहभागी हुन आउनुहुने भुटानका प्रिमियस भुटियाले स्वच्छ जीवन, स्वच्छ वातारण र लागू औषध प्रयोगविहीनको जिन्दगीको सार्थकता बताउनुभएको थियो । विगतमा आफू ड्रग्स प्रयोग गर्ने प्रयोगकर्ता भएको बताउँदै उहाँले लागू औषध सेवन नगरे मानिस दीर्घ जीवन बाच्न सक्ने भन्दै आफ्नो उदाहरण पेश गर्नुभयो । धरान रन आयोजनाबाट स्वस्थ जीवनमात्र हैन यहाबाट संकलन भएको रकम रनले सामाजिक कार्यमा खर्चिने गरेको छ । अहिलेसम्म रनले आयोजना गरेको कार्यक्रमबाट उठेको रकमले गरिब तथा असहाय विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान, शैक्षिक सामाग्री प्रदान अपांगहरुलाई सहयोग लगायत दर्जनौ काम गरिसकेको छ । यतिमात्र हैन अपांग पनि यही समाजका अंग हुन भनेर धरान रनले प्रत्येक बर्ष ह्विलचियर दौड प्रतियोगिताको आयोजना गरेर पुरस्कार समेत दिने गरेको छ । धरान रनको संस्थापक सन्तोष राई हुनुहुन्छ अहिले पनि उहाँ यसमा सक्रिय रहनु भएको छ भने अध्यक्ष रमु राई रहनु भएको छ ।  धरान रन जितहारको प्रतियोगितामात्र नभएर समाजमा राम्रो सन्देश प्रवाह गर्न र युवाहरुलाई सामाजिक कार्यमा उत्प्रेरित गर्न सञ्चालन भएको संस्था भएको आयोजकले बताएका छन् ।

तपाईको प्रतिक्रिया