राजधानी । नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको हार्दिकतापूर्ण निमन्त्रणामा तीनदिने नेपाल भ्रमणका लागि सोमबार आउनु भएका भारतका पराराष्ट्र सचिव विनय मोहन क्वात्रा पहिलो दिन उच्च स्तरीय भेटघाट र महत्वपूर्ण वैठकहरुमा सहभागी हुनु भएको छ । नेपाल स्थित भारतीय राजदुतावासद्वारा जारी विज्ञप्तीका अनुसार आफ्नो औपचारिक तीनदिने भ्रमणको पहिलो दिन दुवै देशका परराष्ट्र सचिवबीच विहान भएको वार्तामा विकास साझेदारी, ऊर्जा सहकार्य, व्यापार तथा आर्थिक सहकार्य, संस्थागत सम्पर्क र जनता जनाबीचको सम्बन्ध लगायत भारत र नेपालबीचको वहुआयामिक सहयोगका विविध पक्षबारे ब्यापक छलफल भएको थियो ।




विज्ञप्तीमा भनिएको छ गत बर्ष नेपालका प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा अन्तरदेशीय कनेक्टिभिटी, जलविद्युत सहयोग, संस्कृति, व्यापार तथा वाणिज्य लगायतका विविध क्षेत्रमा गरिएका प्रतिबद्धता कार्यन्वयनमा भएको प्रगतिको पनि दुवै परराष्ट्र सचिवले समीक्षा गर्नुभएको थियो । रेलमार्ग कनेक्टीभिटीको सम्बन्धमा दुवै पक्षले जयनगर–कुर्ता–विजलापुर–बर्दीबास र जोगबनी–विराटनगर रेल परियोजनाका बाँकी खडकको निर्माण चाँडै सम्पन्न गरी सञ्चालनमा ल्याउने सहमति जनाउनु भएको थियो । दुवै पक्षबीच प्रस्तावित रक्सौल–काठमाण्डौ रेल परियोजनालाई अघि बढाउन आवश्यक पर्ने प्रक्रियागत कार्यलार्इ द्रुत रुपमा अगाडि बढाउने सहमति समेत भएको छ । यसैगरी दुुवै पक्षले गत बर्ष ऊर्जा सहकार्यमा भएको प्रगतिको चर्चासमेत गर्नुभएको थियो । जस अन्तरगत नेपाल अहिले ४५२.६ मेघावाट विद्युत भारततर्फ निर्यात गर्न सक्षम भएको छ । यस कार्यले भारतले नेपालबाट विद्युत प्राप्त गरेको छ भने नेपालमा थप राजस्वका स्रोतहरुको सिर्जना भएको छ । नेपाली पक्षले दीर्घकालीन रुपमा भारततर्फ विद्युत निर्यातका लागि मार्ग प्रसस्त गर्न भारतीय पक्षसँग अनुरोध समेत गरेको थियो । भारत र नेपालबीचको ऊर्जा व्यापारलाई थप सुदृढ बनाउन विनिमय बजारका सबै उत्पादनलाई उपयोग गर्न पनि नेपाली पक्षले भारतलाई अनुरोध गरेको थियो । भारतीय पक्षले नेपाली पक्षबाट भएको दुवै अनुरोधलाई जानकारीमा राख्दै सन् २०२२ अप्रिलमा भारत र नेपालबीच भएको ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्रको पूर्ण कार्यान्वयनका लागि प्रतिबद्धता जनाउँदै दुई देशका परराष्ट्र सचिवले उपक्षेत्रीय सन्दर्भमा परस्परिक लाभकारी सहकार्यका लागि हातेमालो गर्ने सहमति समेत जनाएका थिए । दुई परराष्ट्र सचिव बीच बहुपक्षीय र क्षेत्रीय सहकार्यका विषयमा पनि छलफल भएको थियो । भारतले चालु बर्ष आफ्नो क्षमतामा आयोजना हुने जी २० फाइनान्स ट्रयाकमा सहभागिताको लागि नेपाललाई दिएको निमन्त्रणको नेपाली पक्षले प्रशंसा गरेको थियो । नेपाली पक्षले अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको सिघ्र अनुमोदनका लागि प्रतिबद्धता व्यक्त समेत गरेको थियो । भारतीय परराष्ट्र सचिव विनय मोहन क्वात्राले सोमबारै नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीलाई शितल निवासमा भेट गरी भारतीय राष्ट्रपति द्रौपदि मुर्मुको सन्देश दिनु भएको थियो । यसैगरि परराष्ट्र सचिव क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग पनि भेटघाट गर्नुभएको थियो । भेटघाटका क्रममा दुवै पक्षले दुई देशबीचको विशिष्ट सम्बन्धलाई अझ सुदृढ गर्ने, दुई देशका जनताको हितका लागि वहुआयामिक विकास सहयोगलाई विस्तार गर्ने उपायका बारेमा समेत छलफल भएको थियो । यसैगरि भारतीय परराष्ट्र सचिव विनय मोहन क्वात्राले सोमबारै नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, शेरबहादुर देउवासँग पनि शिष्टाचार भेट गर्नुभएको थियो । उहाँले मंगलबार नेपालका बरिष्ठ अधिकारी र अन्य नेताहरुसँग पनि भेटघाट गर्नुभएको थियो । जनता जनताबीचको सम्बन्धले जोडेको भारत र नेपालबीच सदियौ पुरानो सभ्यतागत तथा साँस्कृतिक सम्बन्धको जगमा उभिएको निकट साझेदारी रहेको भन्दै विज्ञप्तीमा दुवै देशबीच हुँदै आएको उच्च स्तरीय भेटवार्ताको परम्परा अनुरुप भारतीय परराष्ट्र सचिवको भ्रमण भएको जनाइएको छ ।
