काठमाण्डौ । दक्षिण एसियाको शक्ति सम्पन्न राष्ट्र भारतले स्वतन्त्रताको ७५ बर्ष र भारत– नेपाल बीचको कुटनीतिक सम्बन्ध स्थापित भएको ७५बर्ष गाँठको अवसरमा गत हप्ता अर्थात माघ ६ गते भारतीय राजदूतावास काठमाण्डौले ‘संगीत सकुन’ नामको एक भव्य सांगीतिक कार्यक्रमको आयोजना गरेको छ ।

भारतीय साँगीतिक समूह कर्नाटक २.० र नेपाली साँगीतिक समूह कु्टुम्बले उक्त सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुती दिएका थिए । साँगीतिक कार्यक्रममा भारतीय इतिहासमा सर्वाधिक महत्वपूर्ण रहेको २६ जनवरी अर्थात ७४ औं गणतन्त्र दिवस समेत मनाइएको थियो । सांगीतिक कार्यक्रममा नेपालका नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), पूर्व प्रधानमन्त्रीहरु केपी शर्मा ओली, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवम् सांसद महन्त ठाकुर, पूर्व मन्त्री एवम् लोकतान्त्रिक समाजवादी पार्टीका बरिष्ठ नेता राजेन्द्र महतो, नवनियुक्त परराष्ट्रमन्त्री डा. विमला राई पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माको समेत उपस्थिति रहेको थियो ।
सो अवसरमा कर्नाटक २.० सांगीतिक समुहले परम्परागत कर्नाटक राग र पुराना वलिउड गीतलाई आधुनिक शैलीमा प्रस्तुत गरेका थिए । त्यसैगरी नेपाली साँगतिक समूह कुटुम्बले नेपाली मौलिक संगीत दर्शकहरुका माझ पस्केको थियो । दुवै सांगीतिक समूहले ‘तालको पानी माछीले खानी’ बोलको नेपाली कर्णप्रिय लोकगीत एक साथ प्रस्तुत गरेका थिए । भारतीय सांगीतिक समूह कर्नाटक २.० ले कर्नाटक संगीतको विभिन्न रागलाई पश्चिमा संगीतसँग संयोजन गरी संगीतमा नयाँ प्रयोग गर्दै आएको छ । यसैगरी नेपाली संगीत समूह कुटुम्बले विभिन्न लोकबाजा प्रयोग गरी नेपाली मौलिक संगीतलाई संरक्षण एवम् प्रवद्र्धन गर्दै आएको छ ।
