धरान । धरान– ८ मा रहेको सहिद स्मृति माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । नैन जानुका विष्ट परिवारबाट प्राप्त भएको ७५ थान न्यानो कपडा स्विटर शुक्रबार विद्यालयमा वितरण गरिएको हो । विद्यालयका विद्यार्थीहरुका लागि विष्ट परिवारको कोषको व्याज मध्येबाट सो सहयोग गरिएको कोषका सचिव तथा विद्यालयका प्रधानाध्यापक राम विष्टले जानकारी दिनुभयो । शिक्षा र सामाजिक क्षेत्रका केही न केही सहयोग गर्दै आएको परिवारले यसपटक भने जाडोका लागि स्विटर वितरण गर्ने निर्णय भए वमोजिम वितरण गरिएकोे उहाँको भनाई थियो ।
कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा ५ सम्मका ७५ जना नयाँ विद्यार्थीहरुलाई स्विटर वितरण गरिएको विद्यालयका प्रधानाध्यापक विष्टले जानकारी दिए । विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष चन्द्र बहादुर श्रेष्ठको सभापतित्मा भएको सो कार्यक्रममा वडा जनप्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक राजन वमले गर्नुभएको थियो ।
