अमृत अर्याल । नेपाली काँग्रेसको युवा पंक्तिमा लोकप्रिय पात्र मात्र नभएर एउटा जिउँदो खम्बा । पञ्चायतको क्रुर काल खण्डमा अर्याल परिवारले प्रजातन्त्र पुर्नबहालीका लागि भएका हरेक आन्दोलनमा अग्रपंक्तिमा रहेर संघर्षमा होमिएको यथार्थ काँग्रेसका आम कार्यकर्तालाई स्मरण छ । संघर्षकै दौरान उहाँको दाजुले आफ्नो एउटा हातै गुमाउनु परेको थियो । उनै विनोद अर्यालका सहोदर भाइ हुन् अमृत अर्याल ।

विद्यार्थी राजनीतबाट नेपाली काँग्रेसमा होमिनु भएका अर्यालले बीपी कोइरालाबाट प्रभावित भएर आफ्ना दाजुकै पदचाप पछ्याउनु भयो । प्रजातान्त्रिक आन्दोलनका दौरान उहाँले ८ बर्ष पटक पटक गरेर कठोर कारबासको सजाय भोग्नुभयो । तत्कालीन राज्य सत्ताले उहाँलाई अनेकौ प्रलोभन नदिएको होइन तर उहाँको प्रजातन्त्रप्रतिको आस्था, दृढका कारण त्यस्ता सम्पूर्ण प्रलोभनहरुलाई उहाँले लत्याइ दिनुभएको थियो ।
वि.सं. २०४६ सालको जन आन्दोलन पश्चात उहाँ दुई पटक मोरङबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभयो । दुई पटक नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो । प्रतिनिधिसभामा विगतमा आफ्नो उपस्थिति जनाइसक्नु भएका अर्याललाई यसपटक प्रदेश नं. १ को मुख्यमन्त्री बनाउनकै लागि मोरङ क्षेत्र नं ५ ‘ख’ बाट प्रत्यासी बनाइएको थियो । अत्यन्तै लोकप्रिय अर्यालले आफ्ना प्रतिद्वन्द्वीलाई अत्याधिक वहुमतले प्रदेशसभामा पराजित गरे पनि आफ्नै पार्टीभित्रका चरम अवसरवादी, चाकडीवाजका कारण नेपाली काँग्रेस प्रदेश सभाको संसदीय दलको नेतामा उहाँलाई षड्यन्त्रपूर्ण ढगले हराइयो । सेक्रिफाइसका दृष्टिले, कार्यर्काबीचको लोकप्रियताका दृष्टिले पनि नेपाली काँग्रेसका अन्य प्रदेशसभा साँसद भन्दा उहाँलाई हेभीवेटका रुपमा लिइन्थ्यो र वास्तविकता पनि यही थियो । अर्थात प्रदेशसभा ससदीय दलको निर्वाचनमा अर्यालको विकल्प अन्य कोही थिएनन् । तर देउवा निकटकै रहेका अति महत्वाकांक्षी, अवसर परस्त ज्ञानेन्द्रबहादर कर्कीको कोप भाजनको शिकार बनाइयो अर्याललाई । अर्याल अगाडि आएमा अर्थात प्रदेश नं. १ को मुख्यमन्त्री बनेमा आफ्नो थप राजनैतिक भविष्य नै धरापमा पर्ने देखेर अन्तिम समयमा केन्द्रबाटै षड्यन्त्रको तानावाना बुनेर कार्कीले अर्याललाई संसदीय दलको नेतामा पराजित गराए ।
नेपाली काँग्रेसभित्र एउटै खेमामा समेत मौलाएको राजनैतिक षड्यन्त्र, नेपाली काँग्रेसलाई कमजोर बनाउने वा सिध्याउन लागिपरेका भाइरस आदिका सम्बन्धमा केन्द्रित रहेर यस पटक हामीले नेपाली काँग्रेसका लोकप्रिय युवा नेता तथा प्रदेश नं. १ का साँसद अर्यालका धारणाहरु जस्ताको तस्तै पस्किएका छौ ।
तपाई प्रतिनिधिसभामा प्रतिनिधित्व गरिसकेको मान्छे कसरी प्रदेशसभामा निर्वाचन लड्न राजी हुनुभयो ?
–पार्टी सभापतिले नै यसपटक मलाई प्रदेशमा चुनाव लड्न आग्रह गर्नुभएको थियो । त्यसबेला मैले मोरङ क्षेत्र नं. ५ बाट चुनाव जित्छु, मैले जनताको काम गरेको छु, म सबैलाई चिन्छु भने । तर गठबन्धनका कारण त्यस क्षेत्रमा माओवादीलाई दिनुपर्ने भयो । बरु प्रदेशमा लड्नु, प्रदेशको जिम्मेवारी सम्हाल्नुपर्छ भन्नुभयो । सबैले आग्रह गरेपछि म राजी भएँ । मैले निर्वाचन जिते पछि प्रदेशको जिम्मेवारी पाउने आश्वासनका कारण मैले शिरोधार्य गरेको थिएँ । प्रदेशको जिम्मेवारी पाउने आश्वसनले मैले चुनाव लडेको हुँ । जनताको अभिमतको कदर भएन । त्यसबेला ज्ञानेन्द्रबहादुर कार्कीसँग मेरो गफ पनि भयो । उनी मेरो नेता पनि हुन् । सँगै १५÷२० बर्ष बसेर काम गरें । तर उहाँ अत्यन्तै एकांकी, कसैलाई अगाडि बढ्न नदिने, प्रमोट नगर्ने मान्छे रैछन् । मैले उनीसँग संगत गरेर ठूलो गल्ति
गरेछु । उहाँको संगठन गर्ने तरिका देख्दा मलाई अचम्म लाग्यो । यत्रो बर्ष देखि काम ग¥यौं, संस्थापन पक्षमा बसेर उहाँले अरुको विश्वास र भरोसा तोड्ने काम गर्नुभयो ।
प्रदेश १ मा काँग्रेस खुम्चिनुको कारण कस्लाई मान्नुहुन्छ ?
–मुख्य पात्र ज्ञानेन्द्र कार्की नै हुन् । प्रदेश नं. १ का २८ वटा निर्वाचन क्षेत्रमा माओवादी गठबन्धनका बाबजुद ९ क्षेत्र मात्र जितेका छौं । सुनसरीको हालत पनि उहाँले यति खराब बनाउनु भयो कि एक स्थानमात्र काँग्रेसले जितेको छ । राजीव कोइराला हुँदा उहाँले धेरै राम्रो गर्नु भएको थियो । एकांकी मनोभावले चल्ने, कसैको भरोसा नगर्ने, दबाब सिर्जना गर्ने, कुनै लजिकल नभएका मान्छे रहेछन् । कोठामा बसेर षड्यन्त्र गर्दा रहेछन् । म काठमाण्डौ गएर उहाँलाई भने दाई म संसदीय दलको नेतामा लड्दै छु भनेर । गल्ति गरेछु । त्यसबेला उहाँले मेरो समर्थन छ, तिमिले नै लड्नु पर्छ भन्नुभयो । तर त्यसपछि मलार्य दबाब सिर्जना गर्नुभयो । जनमत छैन, तपाइले यो पोजिसन छोड्नुपर्छ भन्नुभयो । तपाईको जनमत सिद्ध गर्ने के प्रमाण छ भन्नु भयो र मैले पनि उहाँलाई यी यी मान्छेले मलाई भोट हाल्छन् भनेर १८ जनाको लिष्ट दिए उहाँले त्यसलाई मिसयुज गर्नुभयो । त्यही लिष्टमा भएकाहरुलाई फोन गरेर दबाब दिए ।
तपाइलाई राजनीतिक शिकार बनाइँदै छ भनेर थाहा भएन ?
–मलाई चार दिन अगाडि नै थाहा भयो । पटक पटक नउठ भनेर दबाब दिनुको औचित्य के थियो । म चुनाव हार्दैछु भन्ने थाहा थियो । आज कार्कीको यस्तै चरित्र भएकोले यत्रो मत ल्याएर पनि नेपाली काँग्रेस प्रतिपक्षमा बस्नुपर्ने अवस्था सिर्जना भएको छ । मैले चुनाव हादैछु भन्ने थाहा हुँदा हुँदै पनि म एउटा भए पनि मसाल बाल्छुु भन्ने अठोट गरें । आज काँग्रेसले सबै अवसर जुन गुमायो यसको खलपात्र कार्की नै हुन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई मिस गाइड गर्दा आज यो परिस्थिति आएको हो । म हार्छु भन्ने थाहा थियो । २९ जना सासद भएको पार्टीको संसदीय दलको नेता बन्न दिँदैनन्, आशा पनि थिएन । जनताले मत दिएर जित्ने अवस्था पनि होइन । कुनै न कुनै नेताले टिकट दिलाएका, समानुपातिकमा ल्याइएकाहरु हुनुहुन्छ । सबैले भन्नुभएको थियो दाई हामीले केन्द्रबाट असाध्यै दबाब आयो, चाहेर पनि दिन नसकिने भयो भन्नुभएको थियो ।
सांसदहरुलाई त्यसरी दबाब दिएकै हो ?
–हो । मलाई चार दिन अगाडि नै थाहा थियो । मैले साथीभाइ, घर परिवारलाई पनि मेरो एक मात्र भोट आउँछ भनेको थिएँ । तर मैले दासत्व स्वकार्र्ने प्रवृत्तिका विरुद्धमा मैले उमेद्वारी दिएको थिएँ । दासत्वका विरुद्धमा मैले प्रतिकात्मक उमेद्वारी दिएको थिएँ । अब मेरो लडाई जारी रहन्छ ।
तपाइका समर्थक प्रस्तावकलाई पनि दबाब दिएछन् हैन ?
–हो । एकजना डोल्मा तामाङ्ग मेरो सर्मथक बस्नु भएको थियो उहाँलाई पनि दबाब दिइयो । उहाँले मलाई भन्नुभयो । उहाँले म एउटा पढेलेखेकी, इथिकल्ली मान्छे हुँ भनेर दबाब दिने नेतालाई भन्नुभएछ । म अमृत अर्याललाई नै भोट हाल्छु भन्दिनुु भएछ । जबसम्म उहाँले विड्रो गर्नुहुन्न म उहाँको साथमा रहन्छु भन्दिनु भएछ ।
तपाइको आगामी कदम कस्तो रहन्छ ?
–संस्थापन पक्ष भन्दा पनि जुन प्रवृत्तिले मलाई हराउने काम ग¥यो, काँग्रेसलाई यो अवस्थामा पु¥यायो त्यसका विरुद्धमा म विगुल फुक्छु ।
