धरान । राज्यले ज्येष्ठ नागरिकलाई दिने सेवा सुविधका विषयमा संविधानमै उल्लेख छ । संविधानमा उल्लेख गरिएका कतिपय सेवा सुविधा पनि पाउन सकेका छैनन् ।
धरान ६ पानबारीका सक्रिय समाजेवीहरुले ज्येष्ठ नागरिकको सेवा सुविधासँगै उनीहरु कसैबाट अपहेलित हुनु नपरोस भनेर ८ बर्ष अगाडि एक संस्था गठन गरे । ०७१ साल साउन २८ गते ज्येष्ठ नागरिकको सहजताका लागि दर्ता भएको यो संस्थाले ज्येष्ठ नागरिकका लागि बस्ने एउटा घर बनाइ दिएको छ भने समय समयमा तीर्थ घुमाउन समेत लाने गरेको छ । उनीहरुलाई पानबारी स्थायी घर भएका विदेशमा रहेका सर्वसाधारणले सहयोग पठाउने गरेका छन्, महायज्ञको आयोजना गरेर खर्च जुटाउने गरेका छन् ।

धरान ६ पानबारीमा ज्येष्ठ नागरिकलाई लक्षित गरी इन्द्रप्रष्ठ ज्येष्ठ नागरिक समाज गठन गरिएको छ । यसको प्रमुख उद्देश्य समाजमा ज्येष्ठ नागरिकलाई सम्मान गर्ने हो । पानबारीका स्थानीय बासिन्दा अहिले अमेरिकामा रहँदै आउनु भएका राधाकृष्ण धमलाको अवधारणा अनुरुप यो संस्था दर्ता भएको हो । दर्तासँगै यो संस्थाको आफ्नै भवन छ, त्यहाँ ज्येष्ठ नागरिकहरु आउने, भेला हुने, सुखदुःखका कुरा गर्ने, भजनकिर्तन गर्ने, लोप हुँदै गएको वालन, संगीनीलगायतका गीतहरु प्रदर्शन गर्ने गर्छन् । यसका अलवा उनीहरु समय समयमा नेपाल लगायत भारतमा रहेका विभिन्न तीर्थस्थलमा घुम्न जाने पनि गरेका छन् । यसका लागि स्थानीयहरुले भरपुर सहयोग गर्ने गरेका छन् । अहिले यो संस्थामा दिव्यास्वरा गौतम अध्यक्ष हुनुहुन्छ, उहाँलाई स्थानीयले समेत सहयोग गर्ने गरेका छन् । पछिल्लो समय यो संस्थाले महायज्ञको आयोजना गरेर ज्येष्ठ नागरिक लक्षित कार्यक्रम गर्न रकम जुटाएका छन् । महायज्ञको संयोजक स्थानीय बासुदेव गौतमले गर्नुभएको थियो । यो संस्थालाई आत्मनिर्भर बनाउँदै ज्येष्ठ नागरिकको आवश्यकता परिपूर्ति गर्न पुराणको आयोजना गरिएको संयोजक गौतमले बताउनुभयो । उहाँले पाँच पटक ज्येष्ठ नागरिकहरुलाई ६०÷६० जनाको टोली बनाएर छिमेकी देश भारतका विभिन्न तीर्थ स्थल र नेपालका अधिकांश तीर्थ स्थलहरुमा घमाउन लगिएको बताउनुभयो । उहाँले पूर्व सांसद जयकुमार राईको सांसद कोष र धरान उपमहानगरपालिकाको सहयोगमा ज्येष्ठ नागरिकका लागि भवन निर्माण गरिएको बताउदै भवन निर्माण पूरा नभइसकेकोकोले अर्थ मन्त्रालयलाई रकम माग गरिएको बताउनुभयो । उहाँले यो महायज्ञबाट २२ लाख ४४ हजार ३ सय ३५ रुपैया संकलन भएको बताउदै उठेको रकमले अक्षयकोष निर्माण गरिने बताउनुभयो । विष्यमा ज्येष्ठ नागरिकको संरक्षणसँगै लोप हुँदै गएको कला सँस्कृतिलाई जगर्ने गर्ने किसिमका कार्यक्रम अगाडि ल्याउने उहाँको भनाई छ । चाँडै नै पञ्चेबाजा संरक्षणका लागि पञ्चेबाजा सिकाउने, भजनकिर्तन गराउने, भजन गाउँदा प्रयोग हुने बाजागाजाको तालिम दिने लगायतका कार्यक्रमलाई अगाडि बढाइएको उहाँको भनाई छ ।
ज्येष्ठ नागरिकको सहयोगको लागि सरकारको मुख नताकि स्थानीयहरु लागि परेका छन् । उनीहरुलाई मनोरञ्जन प्रदान गर्ने, उनीहरुमा भएका ज्ञान युुवा पुस्ताले सिक्ने र लोप हुँदै गएका सांस्कृतिक परम्परालाई जगर्ने गर्ने जुन उद्देश्य बोकेर यो संस्था सञ्चालन भएको छ यसको सबैले प्रशंसा गरेका छन् । केही गर्न राज्यको मुख ताक्नु पर्र्दैन भन्ने सन्देश प्रवाह पानबारीका सर्वसाधारणले गरेका छन् ।
