धरान १४ मा साप्ताहिक रुपमा सरसफाई : प्रभावकारी भएन

धरान । पूर्वकै धार्मिक पर्यटकीय क्षेत्र धरान १४ विजयपुरमा सरसफाई गर्ने क्रममा गुट्का र खैनीको खोल जथाभावि भेटिएको छ ।
पवित्र स्थल मन्दिरका आसपास, सार्वजनिक स्थल, विजय चौक सबैतिर खैनी र गुटका खाएर खोल डस्विनमा नफालेर सर्वसाधारणले जथाभावि फाल्ने गर्दा धरान उपमहानगरपालिका वडा नं. १४ ले साप्ताहिक रुपमा गर्ने सरसफाई प्रभावित हुने गरेको छ ।


पूर्वकै धार्मिक पर्यटकीय स्थल धरान १४ विजयपुरमा खैनी र गुट्काका खोल जथाभावि फालिएको पाइएको छ । धरान उपमहानगरपालिका वडा नं. १४ ले साप्ताहिक रुपमा मठ मन्दिर, विजयपुरका चौक, भित्री सडक तथा सडकहरु सरसफाई गर्ने गर्दछ । तर प्रत्येक पटक सर्वसाधारणले जथाभावि फालिएको खैनी र गुट्काका खोल बाहेक केही भेटिने नगरिएको धरान १४ का वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताउनुभयो । धार्मिक पर्यटक क्षेत्रको रुपमा रहेको धरान १४ विजयपुरलाई सधै सफा र स्वच्छ राख्ने अभियान अनुरुप धरान उपमहानगरपालिका वडा नं. १४ ले सरसफाईलाई निरन्ता दिँदै आएको उहाँको भनाई छ । जति सरसफाई गरे पनि सर्वसाधारण सचेत नहुदा सफाई गरेको औचित्य नै हराएको महसुस उहाँ सुनाउनुहुन्छ । सरसफाई गरेको एक हप्तामै फोहोरको डंगुर फेरि उस्तैै हुने भएपनि आजित बनेको वडाले जथाभावि फोहोर नगरिदिन आग्रह गर्र्दै आइरहेको छ । वडाध्यक्ष भट्टराईले धार्मिक पर्यटकीय क्षेत्र विजयपुरको सफाईमा सबै सचेत हुन आग्रह गर्नुभयो । उहाँले सबैलाई फोहोर उचित ठाउँमा व्यवस्थापन गरिदिन आग्रह गर्नुभयो । वडाकी सदस्य झरना पौडेलले सरसफाई गर्दा खैनी र गुट्काका खोल जथाभावि फालिएको भेटिएको बताउनुभयो । उहाँले वडाले चाडै नै पसलेहरुसँग छलफल गरी खैनी तथा गुट्का विक्री वितरणमा रोक लगाउने विषयमा छलफल गरिने बताउनुभयो । उहाँले भेटिएको फोहोरमध्ये अधिकांश खैनी र गुट्काको खोल हुने गरेकोले जथाभावि फोहोर नफाल्न
सर्वसाधारणलाई आग्रह समेत गर्नुभयो । धरानका हरेक वडालाई स्वच्छ र सफा बनाउने सातामा एक पटक सरसफाई गर्ने गरिएको छ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको अभियान अन्तर्गत वडाले गरेको कामलाई सह्रानीय मान्नुपर्छ । तर सर्वसाधारण सचेत नभइदिँदा वडाहरुले गरेको सरफाई अभियान व्यर्थ सावित भएको पाइएको छ । सर्वसाधारण सचेत नभइन्जेलसम्म अभियानले सार्थकता नपाउने स्पष्ट देखिएको छ ।

तपाईको प्रतिक्रिया