धरान । नेपालको इतिहास र सँस्कृतिको अनुसन्धानकर्ता सत्यमोहन जोशी अब हाम्रो माझ रहनु भएन । उहाँको असोज ३० गते १०३ बर्षको उमेरमा निधन भयो । जोशीको निधनले इतिहास र सँस्कृतिको अनुसन्धानमा भने ठूलो क्षति पुगेको छ । उहाँको निधनमा नेपाल सरकारले मंगलबार राष्ट्रिय विदा समेत दिएको छ । उहाँको निधनले नेपाली समाजमा ठूलो घाटा भएको समाजमा अग्रज, साहित्यकार तथा संस्कृति विज्ञहरुले बताएका छन् । सोमबार उहाँको सम्झनामा धरानको भानुचौकमा श्रद्धाञ्जलीसभाको आयोजना गरिएको थियो ।

सो अवसरमा धरानका संस्कृतविद् बोल्दै बालकृष्ण हलुवाईले उहाँले नेपाली भाषा, संस्कृतिको जगेर्नामा गरेको काम अतुलनीय रहेको भन्दै उहाँलाई सम्झनुभयो । यस्तै साहित्यका प्रा.डा. टंक न्यौपानेले नेपालका संस्कृतिविद् लिपीविद्, नेपालमा लिपीहरुको अन्वेषक साथै त्यसको प्रचारक लगायतका अनगिन्ती काम गर्नुभएका वाङमय शताब्दी पुरुष स्व. जोशीलाई नसम्झी रहन कोही नसक्ने बताउनुभयो ।
उहाँको योगदानकै कदर गरेर उहाँले तीनपटक मदन पुरस्कार समेत पाइसक्नु भएको छ । केही समय अगाडि उहाँले काठमाण्डौमा भएको एक कार्यक्रममा स्व. जोशीले सबैको भाषा संस्कृतिको उत्तिकै महत्व रहेको बताउनु भएको कुराले पनि उहाँको क्षमताको कसैले वर्णन गर्न सक्दैनन् । वि. सं. १९७७ वैशाख ३० मा जन्मिनु भएका जोशी नेपालको इतिहास र संस्कृतिको अनुसन्धानका लागि परिचित हुनुहुन्छ । उहाको निधन असोज ३० गते भएको थियो । शोकसभामा सहभागी सबैले उहाँको निधनले नेपाललाई ठूलो क्षति भएको बताएका थिए । उहाँले गरेका कामको अनुशरण गर्नुपर्ने सबैले बताएका थिए ।
