संघीय निर्वाचन अन्तर्गत सुनसरी क्षेत्र नं. ४ मा त्रिपक्षीय भिडन्त पा“च दलीय गठबन्धनबाट उमेद्वार बनेका नेपाली का“ग्रेसका ज्ञानेन्द्र कार्कीको अवस्था कमजोर

इनरुवा । गृह जिल्ला  भोजपुरबाट निर्वाचनमा सदैव पराजय भोग्दै आएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य, सूचना तथा सञ्चारमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाका विश्वास पात्र ज्ञानेन्द्रबहादुर कार्की आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पुन ः सुनसरी क्षेत्र नं. ४ बाट प्रत्यासी बनेका छन् ।


यसभन्दा अगाडि २०७४ सालको निर्वाचनमा भोजपुर छाडेर सुरक्षित क्षेत्रको खोजी गर्दै सुनसरी झरेका कार्की विजयी भएका थिए । सुनसरी क्षेत्र नं. ४ मा बर्षौदेखि संगठन गर्दै आएका, प्रजातान्त्रिक आन्दोलनमा शारीरिक, मानसिक पीडा भोगेकाहरुले कार्कीको आगमनलाई गत निर्वाचनदेखि नै निको मानेका थिएनन् । आफूहरुको भाग खोस्न खाएको भन्दै २०७४ सालमै कार्कीको नेपाली काँग्रेसका कार्यकर्ताहरुले तिब्र विरोध गरेका थिए । तर केन्द्रीय नेतृत्वको दबाबका कारण त्यस क्षेत्रका काँग्रेसका स्थानीय नेता, कार्यकर्ताहरुले एक पटकका लागि स्वीकारेका थिए । तर यसपटक कार्र्कीको चुनावी क्षेत्रको अवस्था भिन्न रहेको छ । कार्कीको विरुद्धमा त्यस क्षेत्रका नेपाली काँग्रेसका पुराना, समर्पित कार्यकर्ताहरुले असहयोग अर्थात कार्की हराउ अभियान चलाएका छन् । अर्कोतर्फ सुनसरी क्षेत्र नं. ४ जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको गृह क्षेत्र पनि हो । यादवको सुनसरी क्षेत्र नं. ४ मा बलियो पकड  रहेको छ । २०७४ सालको निर्वाचमा नेपाली काँग्रेस र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टीबीचमा सुनसरी क्षेत्र नं. ४, क्षेत्र नं. १ र सप्तरी क्षेत्र नं. २ मा चुनावी तालमेल भएको थियो । जसका कारण सुनसरी क्षेत्र नं. ४ मा संघीय समाजवादी पार्टीले उमेद्वारै नदिएर कार्कीलाई सघाएको थियो भने सुनसरी क्षेत्र नं. १ मा समाजवादीका उमेद्वार अशोक राई र सप्तरी क्षेत्र नं. २ मा यादवको विरुद्धमा काँग्रेसले उमेद्वारी दिएको थिएन । जसका कारण संघीय समाजवादी पार्टी र काँग्रेसको मतले कार्की विजयी भएका थिए ।
एमाले र जसपाबीचमा तालमेल
पाँच दलीय सत्ता गठबन्धनबाट सिट बाँडफाँडमा असन्तुष्टि व्यक्त गर्दै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी अलग्गिएर हाल प्रमुख प्रतिपक्षी दल एमालेसँग तालमेल गरेपछि मंसिर ४ गतेको निर्वाचनमा ज्ञानेन्द्रबहादुर कार्कीको जित्ने सम्भावना क्षीण भएको छ ।


यस भन्दा अगाडिको निर्वाचनमा कार्कीले संघीय समाजवादीको १९ हजार मत र काँग्रेसको मत गरी ३२ हजार ३ सय ४७ मत ल्याएका थिए । एमालेका रमेश श्रेष्ठले २५ हजार ७ सय ५० मत ल्याएका थिए । यसपटक जनता समाजवादी पार्टी र एमालेको साझा उमेद्वारका रुपमा एमालेका प्रभावशाली नेता जगदिश कुस्यौत प्रतिष्पर्धामा रहेका छन् । विगतको मतलाई गणना गर्दा पनि एमालेका रमेश श्रेष्ठले ल्याएको २५ हजार ७ सय ५० र जसपाको १९ हजार मत जोड्दा कार्कीको पराजय निश्चित देखिएको ज्ञानेन्द्रबहादुर कार्की हराउ अभियानमा रहेका एक काँग्रेस कार्यकर्ताले बताए । विगतमा जसपाको मत समेत कार्कीले पाएका कारण निर्वाचित भएका थिए तर यसपटक अवस्था फरक रहेको उनको भनाई छ । अर्कोतर्फ एमालेका प्रत्यासी जगदिश कुस्यौत सोही निर्वाचन क्षेत्रका रहेको,
सुनसरी क्षेत्र नं. ४ मा यादवको वर्चस्व रहेकोले पनि कार्कीको अवस्था कमजोर देखिएको उनको विश्लेषण छ ।
स्थानीय निर्वाचनको मत परिणाम
सुनसरी क्षेत्र नं. ४ मा कोशी गाउँपालिकाका सबै वडा, बराहक्षेत्र नगर पालिकाका वडा नं. ६, ७, ८, ९, १० र ११, रामधुनी नगरपालिका वडा नं. ४, इनरुवा नगरपालिका वडा नं. ३, ४, ८, भोक्राहा गाउँपालिका सबै वडा र हरिनगरा गाउँपालिकाका वडा नं. १, ३, ४, ५, ६ र ७ वडाहरु रहेका छन् । स्थानीय निर्वाचनमा कोशी गाउँपालिकामा अध्यक्षमा झिनो मत ११९९ ले अयुव अन्सारी, भोक्राहा गाउँपालिकामा अजमल अख्तर मियाँले १३३८, बराहक्षेत्र नगरपालिकामा रमेश कार्कीले ५२३९ मत अन्तरले एमालेलाई पराजित गरेका थिए । तर यी पालिकाहरुका अधिकांश वडामा एमाले र जसपाले विजयी हाँसिल गरेका थिए । रामधुनी वडा नं. ४ मा एमाले, इनरुवा ३ मा एमाले, इनरुवा ८ मा एमाले,  हरनगरा २ बाट एमाले, वडा नं. ४ बाट एमालेले आफ्ना प्रतिद्वन्द्वी भन्दा अत्याधिक मत ल्याएका थिए ।
डा. हुसैनको उमेद्वारीले थप संकट


समाजसेवी एवम् लामो समयदेखि सुनसरी क्षेत्र नं. ४ लाई आफ्नो राजनीतिक कर्मथलो बनाउँदै आउनु भएका डा. खालिद हुसैन हकले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सोही क्षेत्रबाट स्वतन्त्र उमेद्वारी दिनु भएको छ । डा. हुसैनको उमेद्वारीले देउवाका प्रिय पात्र सूचना तथा सञ्चारमन्त्री कार्कीलाई थप कमजोर बनाएको छ । सुनसरी क्षेत्र नं. ४ को बराहक्षेत्र नगरपालिका पहाडे समुदाय र दक्षिणी क्षेत्र यादव, मुस्लिमहरुको बाहुल्यता क्षेत्र हो । डा. खालिद हुुसैनको उमेद्वारीले मुस्लिम समुदायको अधिकांश मत उनको पोल्टामा पर्ने देखिन्छ । यादव र बराहक्षेत्रका पहाडे समुदायको मत जगदिश कुस्यैतको पोल्टामा जाने भएपछि मंसिर ४ को निर्वाचनमा कुस्यैत र हुसैनकै बीचमा प्रतिष्पर्धा हुने र कार्की प्रतिष्पर्धामै नआउने काँग्रेसकै कार्यकर्ता बताउँछन् । क्षेत्र नं. ४ मा कति मतदाता छन् सुनसरी क्षेत्र नं. ४ मा १ लाख ३८ हजार ६५ मतदाता रहेका छन् । यो संख्या निर्वाचन आयोगले पछिल्लो पटक थप गरेको कुल मतदाता संख्या हो । कोशी गाउँपालिकामा २६५७५, बराहक्षेत्रका ६,७,९, ९, १० र ११ मा ३६३८४, रामधुनी नगरपालिका वडा नं. ४ मा ४६७४, इनरुवा नगरपालिका वडा नं. ३,४ र ८ मा १३२२२, भोक्राहा गाउँपालिकामा २४४८४, हगरनगरा गाउँपालिका वडा नं. १,२,४,५,६,७ मा २२७२६ मतदाता रहेका छन् ।

तपाईको प्रतिक्रिया