सुनसरी क्षेत्र नं. १ मा काँग्रेस र एमालेमा भाँडभैलो

धरान । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सुनसरी क्षेत्र न. १ मा आइतबार उमेद्वारी दर्ता गरिएको छ । पाँच दलीय गठबन्धन र तीन दलीय गठबन्धनबाट उमेद्वारले छुट्टाछु्ट्टै उमेद्वारी दर्ता गराएपनि असन्तु्ष्ट पक्षहरुले समेत दलबलसहित स्वतन्त्र उमेद्वारी दर्ता गएका छन् । झण्डै २० हजार मत भार भएको काँग्रेसले ५ हजार मत भार नभएको माओवादी केन्द्रलाई निर्वाचन क्षेत्र छोडेपछि काँग्रेसभित्र व्यापक असन्तुष्टि चुलिएको छ । इमानदार काँग्रेसका कार्यकर्ता माओवादी केन्द्रका उमेद्वार मुक्साहाङ मेन्याङ्बोलाई मत हाल्न नसकिने भन्दै उपयुक्त विकल्पको खोजीमा देखिएका छन् ।


उता एमालेभित्र समेत नेतृत्वले उमेद्वारी छनौटमा मनपरि गरेको भन्दै अन्तिम समयमा जनता समाजवादी पार्टीसँग गठबन्धन गरी अशोक राईलाई निर्वाचन क्षेत्र छोडेकोप्रति एमालेका कार्यकर्ताहरुले आक्रोस मात्र पोखेका छैनन् धरानको राजनैतिक वृत्तमा हेभिवेट भनेर चिनिएका मनोज मेन्याङ्बोलाई स्वतन्त्र उमेद्वार बनाएका छन् । मेन्याङ्बो २०४८ सालको स्थानीय निर्वाचनमा धरान उपमहानगरपालिकाका उपप्रमुख र २०५४ सालमा प्रमुखमा विजयी भएका थिए । सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान दिएका मेन्याङ्गबो नेपाली काँग्रेस, एमाले र अन्यहरुका लागि साझा समेद्वार हुने पक्का देखिएको छ । सुनसरी क्षेत्र नं. १ मा एमालेको वर्चस्व रहेको क्षेत्र हो, हालसम्म कुनैपनि निर्वाचनमा एमालेले आफ्नो पकड कायम राख्दै आएको थियो । यो सुरक्षित क्षेत्रमा गठबन्धनको नाममा जोसुकै आएपनि मतदान गर्न नसकिने एमाले कायकर्ताहरु बताउँछन् । उता राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली काँग्रेसका जिल्ला सदस्य समेत रहनु भएका अशोक राईलाई प्रतिनिधिसभाको उमेद्वार बनाएको छ । मनोनयनकै दिन राई राप्रपा प्रवेश गर्नुभएको थियो । विद्यार्थी कालदेखि नै नेपाली काँग्रेसको राजनीतिमा सक्रिय रहँदै आउनु भएका राई पछिल्लो समय गठबन्धनका नाममा नेतृत्वले गरेको मनोमानीपूर्ण निर्णयको खरो आलोचकका रुपमा देखिनु भएको थियो । यसैगरी नेपाली काँग्रेसका तर्फबाट क्षेत्र नं. १ को ‘क’ बाट प्रदेश महामन्त्री उमेश थापाले उमेद्वारी दर्ता गर्नुभएको छ । उक्त क्षेत्रबाट एमालेका तर्फबाट  रमेश बस्नेत, राप्रपाका तर्फबाट प्रा.उद्धव श्रेष्ठ (मकै) ले समेत आइतबार उमेद्वारी दर्ता गर्नुभएको छ । उता प्रदेशसभा ‘ख’ बाट नेपाली काँग्रेसले कुनै मतभार नै नभएको नेकपा एसलाई छाडेपछि काँग्रेसभित्र व्यापक असन्तुष्टि चुलिएको छ । नेपाली काँग्रेसका प्रभावशाली युवाहरु जिल्ला सचिव समेत रहनु भएका माधव घिसिङ (समिर), तिलक राई, जगतबहादुर कार्कीमध्ये एकलाई उमेद्वार बनाउने लख धेरैले गरेका थिए । तर एसलाई मैदान खाली  गरेपछि काँग्रेसको मत विभाजित हुने भएको छ । यसैगरी प्रतिनिधिसभाका लागि मातृका भट्टराईले पनि स्वतन्त्र उमेद्वारी दर्ता गर्नुभएको छ । वर्तमान विकृतपूर्ण राजनीतिकको सुद्धीकरण धरान र धरानेको समृद्धि जस्ता नारा लिएर काँग्रेसबाटै विद्रोह गर्नुभएका युवा नेता मातृकाको उमेद्वारीले काँग्रेसले आफ्नो मत विसाउने ठाउँ पाएको चर्चा चल्न थालेको छ ।

तपाईको प्रतिक्रिया