प्रविधिको विकाससँगै मनोरञ्जनको माध्यम पनि बदलियो

धरान । दशैं भनेको समृद्धिको पर्व हो । एकता र सद्भावको पर्व हो । यसमा मनोरञ्जन नजोडिने कुरै भएन । दशैंको फुर्सदिलो दिनमा उन्मुक्त मनोरञ्जन गर्नुपर्छ । यस्तो अवसर बर्षमा एक दिन न आउने हो । तर पछिल्लो समय प्रविधिको विकाससँगै मनोरञ्जन गर्ने माध्यमहरु परिवर्तन हुदै गएपछि परम्परापगत लिंगे पिङ हराउदै गएको छ ।


दशैंमा मनोरञ्जन गर्ने अनेक विधि छन् । तौर तरिका छन् । त्यसमध्ये परम्परागत तरिका हो, लिङ्गे पिङ । टिका थापिसकेपछि सबैजसो पिङमा मच्चिएर मनोरञ्जन गर्न हतारिन्छन् । तर पछिल्लो समय प्रविधिको विकाससँगै इन्टरनेटको माध्यमबाट सामाजिक सञ्जाल, टिकटक लगायतमा युवा पुस्ता झुम्मिने गरेका कारण पिङको अस्तित्व नामेट हुने अवस्थामा पुगेको छ ।
हेटौडाकी ६५ बर्षीय निरु थापा पहिले र अहिलेको दशैमा फरकता आएको बताउदै लिङे पिङ हराउदै गएको बताउनुहुन्छ । पहिला सबै गाउँमा हुने मनोरञ्जनका साथ अरु केही नहुदा सबै मिलेर पिङ लाउने प्रचलन भएपनि पछिल्लो समय सबै वैदेशिक रोजगारमा विभिन्न देशमा जाने गरेका कारण पनि पिङ हराउदै गएको बताउनुभयो । तर पनि अहिले पनि परम्परागत चाडपर्वको अस्तित्व भने थोरै भएपनि रहेको बताउनुभयो । यस्ता परम्परालाई सबैले मिलेर जोगाउनुपर्नेमा जोड दिनुभयो ।
युवा पुस्ताहरुले पिङको विकल्पमा युवा पुस्ता सामाजिक सञ्जाल, टिकटकमा झुण्डिने गरेको कारण पनि पिङको अस्तित्व संकटमा पर्दै गएको बताएका छन् । धरान १५ पिण्डेश्वर चौकका आयुष राईले युवा पुस्ताले पिङको विकल्प मोवाइललाई मनोरञ्जनको विकल्प बनाएका  कारण पनि दशैमा लिंगे पिङ देखिन छोडेको बताउनुभयो । तर पनि दशैमा पिङ भएन भने दशै आए जस्तो भने नहुने बताउनुभयो । लिंगे पिङ मनोरञ्जनको साधनमात्र नभई स्वास्थ्यसँग पनि जोडिएको छ । पिङ मच्याउनका लागि उठ्ने र बस्ने गर्दा पेटको राम्रो व्यायम हुनपुग्छ ।
नेपालीहरुको मौलिक चाडपर्वकै कारण नेपाली भनेर संसारभर चिनिने गर्छन् । यहाँको मौलिक संस्कृति नियाल्नकै लागि देश विदेशबाट पर्यटक आउने गर्छन । पर्यटनको आधार नेपालीहरुको मौलिक पर्व भएपनि युवा पुस्ताले यस्ता पर्व विर्सिदै गएको पाइन्छ । दशैमा पिङ लगाउनु पनि मौलिक संस्कृतिभित्र पर्छ, यस्ता मौलिक संस्कृतिलाई जोगाउन अब युवा पुस्तालाई हस्तान्तरण गर्न सक्नुपर्छ ।

तपाईको प्रतिक्रिया