घण्टाघरबाट हेर्दा

टाटे विरालो गोरखा धाइफल
जता छि¥यो त्यतै रैदलो मच्चाउने टाटे विरालो चितौन छोडेर गोरखातिर धाइफल ठोकेछ । चितौनका मुसाहरु अत्याधिक चलाख भएकोले मंसिर ४ गते आफैलाई पासोमा पार्ने देखिएसी टाँटे विरालो गोरखातिर धाइफल ठोक्या हो रे । पृथ्वीनारायण शाहको शालिक फुटाउने, चिथोर्ने टाटे विरालोलाई गोरखाका जनताले पनि घाँस नहाल्ने भएका छन् । गोरखाका जनता टाटे विरालोलाई उत्तानोचित्त बनाउन कम्मर कसेर लाग्या छन् । टाटे  विरालोले हिजोका दिनमा मच्चाएको विध्वंस उनीहरुले कहाँ बिर्सिएका छन् र ? न्यायका लागि अनसनमै मरेका अधिकारीको शव अहिलेसम्म सदगद् हुन सकेको छैन । जेहोस यसपटक टाटे विरालोसँग गोरखाका जनताले बदला लिएरै छाड्ने भए । जैसा  करनी वैसा भरनी भन्या यही हो ।
चुनाउमा उमेद्वारै बनेनन्


हिस्स परेकी हिसिलाकी ख्याउटे खसम माने बाउरामले यसपटक चुनाउमा उमेद्वारी नै दिएनन् । माने चुनाउमा उमेद्वारै बनेनन् । के बनुन त कहिले वल्लो घर छिरेका छन्,। कहिले पल्लो घर छिरेका छन्, अहिले अलग्गै बस्या छन् । पिँध बिनाको लोटा । जे होस् चुनाउमा उमेद्वारी नदिए पनि गफचाहिँ आकाश पाताल छेड्ने नै गर्छन् । अब युवाहरुलाई मौका दिनुपर्छ भनेर गुड्डी हाँके । मनको वह कसैलाई नकह भनेको यही हो । विचराले चुनाउमा उठ्ने ठाम नै भेट्टाएनन् । जता पनि जोरीपारि मात्र देखे । चुनाउपछि लगौटी खुस्किएको जगतले देख्नुभन्दा अहिल्यै बुद्धि पु¥याएछन् ।
स्वतन्त्रको लर्को
मंसिर ४ गते पाँच बर्षे कार्यकालका लागि प्रतिनिधिसभा र प्रदेश सभाका लागि भेकेन्सी खुल्या छ । पाँच बर्ष जागिर पक्का गर्न यतिबेला राजनैतिक दलका लाउकेहरु धम्साधम्सीमा उत्रिएका छन् । जन्ताले पत्याउन छाडेपछि लाउकेहरु गठबन्धन माने नारिएर हिडेका छन् । पाँच बर्षे जागिर पक्का गर्न एक अर्काको विचार, आदर्श, मूल्य, मान्यता सबै मिल्काएका छन् । हिजोसम्म प्रजातन्त्रवादी हौ भन्ने जनवादको कुरा गर्ने, मधेशीहरुको हितको डम्फू बजाउनेहरु एक अर्का विना पाँच बर्षे जागिरमा प्रतिष्पर्धामा जानै नसक्ने भएका छन् । जेहोस् यतिबेला यिन्ले रमितै देखाएका छन् । यिन्का रमिताले
कुरीकुरी लाग्नेहरुले स्वतन्त्र उमेद्वारी दिएका छन् । देशाँ स्वतन्त्रको लर्र्काे लाग्या छ । अब चाहिँ केही कुछ होला कि ?
चिप्लेटी खेल्ने भइन
गिर्जाउ पुत्री सुजाता जोष्टले मोरङको क्षेत्र नं. २ बाट चुनाउमा उठ्ने लालपूर्जा पाइछन् । मिनेन्द्र रिजालको लालपूर्जा वाल्वाटोर जमिन्दारले जोरबलसँग खोसेर सुजोलाई देछन् । लाँग्रेसको महाधिवेशनमा जमिन्दार वालाई खनी खोस्री गर्न सघाएकी थिइन् । दाजुभाईका विरुद्धमा वैरीलाई सघाएवापत उमेद्वारको लालपूर्जा पाइन् । लालपूर्जा पाएर मात्र कहे गर्नु ? तिन्लाई कसैले सघाउलान जस्तो छैन । वाल्वाटारे जमिन्दारले सुजोको गुन तिर्दिया मात्र हुन् । मिनेन्द्र रिजालसजस्ता टाठाबाठा, पढेलेखेका, डाक्टर जमिन्दारलाई पच्ने कुरा पनि भएन । जता हल्लायो उतै हल्लिने मान्छे जमिन्दारका लागि प्यारा हुन्छन् । त्यसैले जमिन्दार वाले सुजो उपयुक्त पात्र देख्या होलान् । मंसिर ४ गते पछि उत्तानोचित्त भएपछि मात्र मुखियाले वाल्वाटारको जमिन्दारी छोड्दामात्र चेत खुल्ला ।
थापा ओलीको टाङमुनि
ताक परे तिवारी नत्र गोतामे भन्ने उखान यतिबेला राप्रपा नेपालका हल्लुडे अध्येक्षे कमलाउमा लागू भा’छ । अधिवेशनमा चैट भएसी राप्रपा छाडेर नेपाल फुर्को जोडेर नयाँ उद्योग खोलेका कमलाउ अस्तिका दिन खप्रओ निवास वाल्वाटाराँ पुगेर टाङमुनि छिरेछन् । आफ्ना नयाँ उद्योगको मार्केटमा कुनै पहिचान नभएसी कमलाउ अर्को दलको लोगो लिएर चनाउमा लड्ने रे । खप्रओ नि खयाल दयालु छैनन् । घरैमा आएर धर्नाढुक दिएसी विचराले मन थाम्न सकेनछन् । खरक्कसँगलृ सूर्य अंकित चिठ्ठी दिएर पठाएछन् । खप्रओले त सूर्य अकित चिठ्ठी त दिएर पठाए नि तर कमललाई सूर्जेवाला कामदारहरुले भोट नदिने निश्चित देखिएको छ । यसपटक पनि कमलाउको सपना पूरा नहुने भयो ।
अरुको बुई चढ्दा चिप्लिने भयो
आफ्ना दह«ा खुट्टी हुँदाहुँदै अर्काको बुई चढेर दौडन खोज्दा यसपटक लाँग्रेस चिप्लिने भयो । पराले खुट्टीसँग चोचोमोचो गरेर जाँदा धरै झर्ला भन्ने सोच बाल्वाटारे मुखियाको होला । मुलुकभरि यस भन्दा अगाडि ठाँटले गतिला उमेद्वारहरु उठाउने लाँग्रेस एकातिर खुम्चिएको छ भने अर्कोतिर काँग्रेसका समानुपातिक र प्रत्यक्षका उमेद्वारहरु कित पिण्ड खाने लायकका छन् कि त दण्ड दिने लायकका छन् । पिण्ड खानेहरुको हालीमुहाली भएसी वातै खलास । दण्ड दिने लायकहरुलाई उमेद्वार बनाएसी मंसिर ४ गते जन्ताले दण्ड दिइहाल्छन् । के गर्नु वाल्वाटारे मुखियाले आफ्नालाई गुहुँ र अरुलाई गोवर देखेछन् ।
थान्को लागेछन्
यसपटक बाउदेउको सपना सबै हुरीले उडाएर लगेछ । कहिल्यै एक ठाउँमा बस्न नसक्ने वाउदेउ अब के गर्लान् ? कहिले खप्रओलाई गाली गरेर प्रचण्डाउतिर सल्किने, कहिले आफै पार्टी खोलेर नाटक मञ्चन गर्ने बाउदेउ गौतम अन्तमा घर न घाटको भएछन् । खुरुक्कसँग थुतुनो नचलाई झालेमालेझै बस्या भए अहिले जस्तो दुर्दिन त आउने थिएन । बाँदर ज्यादा चकचके भएकैले रुखको हाँगामा राजकानी च्यापिएर सिल्टी हुन्छ । गठबधनले टिकट दिइहाल्छ भनेर फुलेल भएर बस्या थिए । अन्तेमा गठबन्धनले देखाइदिएछ गुएँलाको फूल ।
अन्तेमा
पर्धानमन्तरीकी पत्नी आरजु र गृहमन्त्रीकी पत्नी कै के जाति नाम हो कुन्नि दुवैले अरु महिलाहरुको भाग खाइदिएका छन् । समानुपातिक सिट भन्या पिछडिएका महिला, आदिवासी, दलित, अल्पसंख्यक, सामजिक गतिविधिमा समर्पित महिलाले पाउनुपर्ने हो । तर पर्धानमन्तरी र गृहेमन्तरीका श्रीमतिहरु यसैका लागि भिडेका छन् । श्रीमान मन्त्री भएर त्यत्रो लुटिदेकै छ । फेरि श्रीमतिलाई किन चाहियो । एक जनाले लुटेकाले नपुगेर होकि क्या हो ? देशभरिबाट यी दुई महिलाको घोर विरोध भैराख्या छ तर यिन्ले छाड्नेवाला छैनन् । भोलिका दिन के हो के हो ? बल गर है बल गर । कमसेकम भोलिका दिनमा भूपू साँसद त कहलिन्छौं ।

तपाईको प्रतिक्रिया