इटहरी । पूर्र्व पश्चिम महेन्द्र राजमार्ग काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म चार लेनको सडक बन्ने भएको छ । एसियाली विकास बैंकको २८ अर्ब २७ करोड ८१ लाखको ऋण सहयोगमा महेन्द्र राजमार्गको यो सडक खण्ड स्तरोन्नति हुन लागेको हो । हाल दुई लेनको मात्र रहेको यो सडक खण्डमा अत्याधिक सवारी चापका कारण यात्रुले हैरानी मात्र पाएका छ्रैनन् दैनिक दुर्घटनाको समेत वृद्धि भएको छ । चार लेनको सडक निर्माण थाल्नु अघि राजमार्ग छेउका सहर र बस्तीहरुमा सार्वजनिक सुनुवाई कार्यक्रम समेत थालिएको आयोजनाका वातावरण विज्ञ राजेश श्रेष्ठले बताउनुभयो ।

राजमार्गको सहरी क्षेत्रमा पहिलो चरणमा साइकल लेन, फुटपाथ, ड्रेनसँगै तीन सय मिटर भन्दा लामो पुल रहेको यस सडक खण्डको ६ स्थानमा सिग्रेचर पुल समेत निर्माण हुने श्रेष्ठले जानकारी दिनुभयो । पहिलो चरणको काम झापाको काँकडभिट्टाबाट इटहरीसम्म र दोस्रो चरणको काम इटहरीबाट लौकहीसम्म हुने भएको छ । सडक निर्माणको ठेक्का २०७९ पौष मसान्तसम्ममा हुने पनि श्रेष्ठको कथन छ । सडक निर्माणसँगै झुम्का, इटहरी, विराटचौक, उर्लाबारी, दमक, विर्तामोडमा आकाशे पुलको समेत निर्माण हुने भएको छ ।
