नेतृत्वको अदूरदर्शिताले नेपाली काग्रेस पतनोन्मुख हुदै

नेपाली काँग्रेसको अदूरदर्शिता र अक्षम नेतृत्वका कारण नेपाली काँग्रेस पतोन्मुख हुँदै गएको छ । आफ्नो यथार्थ धरातल बिर्सिएर सत्ता स्वार्थकै लागि विचारै नमिल्नेसँग अप्राकृतिक गठबन्धन गरेपछि नेपाली काँग्रेस ओरालो लाग्न शुरु भएको हो । नेपाली काँग्रेसको शाख जोगाउन देशभरिका इमान्दार कार्यकर्ताहरु कुनै न कुनै रुपमा आवाज उठाउँदै आएका छन् । गत स्थानीय निर्वाचनमा त्यस्ता इमान्दार कार्यकर्ताहरुले नेतृत्वको निर्णयको विरुद्धमा वगावत गरे । तर नेतृत्वले आफू सच्चिने छनक देखाएको छैन । स्थानीय निर्वाचनमा विद्रोह गर्नेहरुउपर कारबाहीको डण्डा चलायो । उनीहरुको विद्रोह इमान्दारिताको पर्याय हो भन्ने कुरा उनीहरुले मनन् गर्न सकेनन् । यसको सबैभन्दा डरलाग्दो असर आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा प्रत्यक्ष देख्न सकिन्छ । कुनैपनि दलका कार्यकर्ता अर्थात कुनै दलमा आवद्ध व्यक्तिहरु उक्त दलका दाश होइनन् । उनीहरु विचार, आदर्श उद्देश्यबाट प्रेरित भएर त्यसमा दलमा आवद्ध भएका हुन्छन् । तर यतिबेला नेपाली काँग्रेसभित्र अवसरवादी चरित्र र इमान्दारिता चरित्र बीचमा द्वन्द्व देखिएको छ । नेतृत्व समेत अवसरवादी चरित्रको पर्छायाँको रुपमा देखिएको छ । अर्थात त्यस्तै चरित्रको नेतृत्व पक्षपोषणा गरिरहेको छ, इमान्दारका आवाज दबाइरहेको छ, कार्वाहीको डण्डा चलाइरहेको छ । कुनै राजनीतिक दलले एउटा इमान्दार कार्यकर्ता पाउन नसक्ने अवस्था सिर्जना भएको छ । बेइमानहरुको झुण्डले नेतृत्व घेरिएको छ । वर्तमान नेतृत्वकै कारण काँग्रेसभित्र इमान्दार कार्यकर्ता र बेइमान अर्थात अवसरवादी कार्यकर्ता गुटमा विभाजित भएका छन् । यसले निर्वाचनमा प्रत्यक्ष असर पु¥याउने निश्चित छ ।
नेपाली काँग्रेस कमजोर पार्टी थिएन तर यसलाई कमजोर बनाइँदैछ । काँग्रेस कमजोर हुँदामात्र साम्यवादीहरु बलिया हुन्छन्, क्षणिक सत्तामोहका कारण वर्तमान नेतृत्व साम्यवादीहरुलाई काँधमा बोकेर हिडिरहेका छन् । नेपाली काँग्रेसको यो यात्रा आगामी दिनमा निरन्तर रहने हो भने इतिहासमै सीमित हुन पुगेको प्रजापरिषद्को अवस्थामा पुग्ने निश्चित छ । आगामी निर्वाचनमा काँग्रेसका इमान्दार कार्यकर्ता वर्तमान नेतृत्वको आडमा काँग्रेस भएकाहरुलाई हराउ अभियानमा लाग्ने निश्चित छ । यसो हुँदा कसैले आश्चर्य नमाने हुन्छ । नेपाली काँग्रेसभित्र वर्तमान नेतृत्वको वरिपरि घुम्ने एउटा त्यस्तो अभिजाल वर्ग छ जो आजीवन निर्वाचन लड्छ, निरन्तर सत्ताको चास्नीमा रमाउँछ अनि अर्को त्यस्तो वर्ग छ जसले ग्रासरुटमा बसेर काँग्रेसलाई गोडमेल गर्छन, आफ्नो मानो खाएर संगठन विस्तारमा समय व्यथित गर्छ । तर ऊ आजीवन मतदातामात्र हुन्छ, उसलाई मतदातामात्र बनाइन्छ । भोलिका दिनमा काँग्रेसभित्र त्यसरी मतदातामात्र बनेका जमातले स्वतन्त्र उमेद्वारी घोषणा गर्छ । यो प्रक्रिया मुलुकभरि रहन्छ । त्यसैले नेतृत्वले पराया बोक्न छोडेर आफ्ना बोक्नुपर्छ ।

तपाईको प्रतिक्रिया