धरान । धरान १५ स्थित होलिल्याण्ड स्कुल प्रदेश १ स्तरिय अन्तर विद्यालय मेजर श्रवणकुमार लिम्वु मेमोरियल डिपो बास्केटवल रनिङ्ग कपको च्याम्पियन वनेको छ । शुक्रवार भएको प्रतिश्पर्धात्मक फाइनल खेलमा होलिल्याण्ड स्कुलले चिल्ड्रेन एकेडेमीलाई ४४–३३ अंकको अन्तरले पराजित गर्दै रनिङ्ग कप उपाधि माथि कव्जा जमाएको हो । फाइनल खेलको प्रत्येक क्वाटरमा होलिल्याण्डले अग्रता वनाउदै उपाधि माथि कव्जा जमाउन सफल भएको हो ।

खेलको प्रत्येक क्वाटरमा होलिल्याण्डले १३–६, ८–७, १२–११ र ११–९ अंकको अन्तर वनाएको थियो । खेलमा होलिल्याण्डका युडि लिम्वुले व्यक्तिगत १५ अंक जोडे भने चिल्ड्रेनका पारुहाङ्ग लिम्वुले २० अंक जोडेका थिए । होलिल्याण्ड स्कुलले उपाधि सँगै नगद पन्द्र हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यसैगरि उपविजेता चिल्ड्रेन एकेडेमीले नगद सात हजार ५ सय, ट्रफी, मेडल र प्रमाणपत्र हात पारे । उनीहरुलाई कार्यक्रमका सभाध्यक्ष विद्यालय व्यवस्थापन समिति अध्यक्ष क्याप्टेन अम्वर वहादुर लिम्वु, विद्यालय शैक्षिक गुठी कार्यसमिति कार्यवाहक अध्यक्ष लेफ्टिनेन्ट भिमवहादुर लिम्वु, सुनसरी बास्केटवल संघका अध्यक्ष नारायण सुवेदी लगायतले पुरस्कार वितरण गरे । प्रतियोगिताको उत्कृष्ट खेलाडी मोस्ट भ्यालुएवल प्लेयरको उपाधि होलिल्याण्डका युडि लिम्वु घोषित भए । यसैगरि प्रतियोगिताभरिका हाइ स्कोररको उपाधि होलिल्याण्डकै इङवाहाङ लिम्वु घोषित भए । उनले प्रतियोगिताभरि चार खेलबाट व्यक्तिगत ७७ अंक जोडेका थिए । उनीहरुलाई जनही दुई हजार रुपैया, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । डिपो स्कुलको आयोजना तथा धरान बास्केटवल संघको प्राविधिक सहयोगमा श्रावण १५ गते देखि प्रतियोगिता सुरु भएको थियो । विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष दिवंगत मेजर श्रवणकुमार लिम्वुको सम्मान तथा स्मृतिमा प्रतियोगिताको आयोजना गरिएको हो । लिम्वुको ८३ वर्षको उमेरमा वि.स. २०७८ श्रावण १५ गते निधन भएको थियो । प्रतियोगितामा धरान र धरान वाहिरका गरी १६ वटा विद्यालयले सहभागिता जनाएका थिए । शुक्रवार भएको फाइनल खेलको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि १ न. प्रदेश सामाजिक विकास मन्त्रालयका राज्यमन्त्री विष्णु तुम्वाम्फेले रेफ्रिलाई वल हस्तान्तरण गरी गरेकी थिइन् । कार्यक्रममा डिपो आर्दश वहुमुखी क्याम्पसका प्रमुख राजकुमार राई, विद्यालय व्यवस्थापन समिति सदस्य सुर्यप्रकाश पन्धाक, उपासी राई, इन्द्ररानी सुव्वा, सुनसरी बास्केटवल संघका कोषाध्यक्ष गौरवमान श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
