धरान । साहित्यिक स्रष्टा एवम् कवि पराजित पोमुद्वारा सम्पादित इतर कविता सँग्रहमाथि शनिवार धरानमा वृहत विमर्श भएको छ । महेन्द्र वहुमुखी क्याम्पसको सभाहलमा प्रा.डा. टंक न्यौपाने अध्ययन अनुसन्धान केन्द्रको आयोजना र महेन्द्र वहुमुखी क्याम्पस नेपाली विभागको सह आयोजनामा उक्त कविता संग्रहमाथि विमर्श भएको हो ।

सहभागी टिप्पण्ीकारहरुले कविता संग्रहलाई इतर भनिए तापनि संग्रहमा समेटिएका कविताहरु अहिलेकै मूलधारको रहेको कुरामा जोड दिएका थिए । पराजित पोमुले सम्पादन गरेको कविता संग्रहमा १२ भाषाका ३५० वटा कविताहरु संकलित छन् । कविता संग्रहमाथि टिप्पणी गर्दै डा. दिपक न्यौपानेले भन्नुभयो इतर भन्नाले राज्यसत्ताबाट बाहिरिएकाहरुलाई बुझिन्छ । राज्यसत्ताबाट हेपिएका, पिल्सिएकाहरुको आवाज कविता संग्रहमा कही मुखरित भएको छैन । अहिले प्रदेशको नामाकरणलाई लिएर चर्चा चलिरहेको छ । पहिचानवादीहरु आन्दोलनमा सरिक भएका छन् । यस सन्दर्भमा यो कविता कविता संग्रह मूलधारकै हो । यसैगरी प्रा.डा. टंक न्यौपानेले कवितासंग्रहमा १२ वटा भाषाका कविता रहे पनि नेपालमा बोलिने सबै भाषा नेपाली नै भएको टिप्पणी गर्नुभएको थियो । उहाँको कथन थियो नेपालमा बोलिने सबै भाषालाई नेपालेली भनेर अभियान चलेको छ । खस भाषा र नेपाली भाषा एउटै होइन । सबै भाषा थारु, मगर, राजवंशी, मैथिली लिम्बु, राई, झाँगडलाई हामीले नेपाली भाषा भनेर सम्बोधन गरौ न्यौपानले भन्नुभयो । यस्तै कवि वम देवानले कविता संग्रहको आवरणले समावेशिता र समानतामाथि जोड दिएको बताउनुभएको थियो । डा. रमेश घिमिरेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन उपप्राध्यापक डा. सुवासचन्द्र न्यौपानेले गर्नुभएको थियो ।
