धरान । पिण्डाकार स्वरुपको अमृत लिंगमा भगवान शिवको प्रवेश भएको पिण्डेश्वरमा भक्तजनहरुको अत्याधिक घुइँचो लागेको छ । धरान उपमहानगरपालिका वडा नं १४ स्थित पिण्डेश्वर मन्दिरमा श्रावणको पहिलो सोमबार श्रद्धालु भक्तजनहरुको अत्याधिक भीड लागेको हो । नेपालको सदुर पश्चिमको सुर्खेत, दैलेखसँगै नवलपरासी, चितवन, गोरखा लगायतका स्थानबाट श्रद्धालु भक्तजनरु बस रिजर्ब गरेर आइतबार साँझ धरान आइपुगेका थिए । बालबालिका, युवायुवतीदेखि बृद्धबृद्धा सम्मले झण्डै दुई किलोमिटर लामो लाममा बसेर पिण्डाकार स्वरुपको शिवलिंगमा जल अर्पण गरेका थिए । पहिलो सोमबारको अत्याधिक भीडलाई व्यवस्थापन गर्न मन्दिर व्यवस्थापन समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयम् सेवकहरुलाई हम्मे हम्मे परेको थियो ।
के छ त पिण्डेश्वर बाबाधाममको महिमा

हिन्दु धर्मालम्बीहरुको सबैभन्दा ठूलो आस्थाको देवता भगवान शिव कुनै कल्पमा रुद्राक्षरण्य रहेको विजयपुरमा आएर निर्गुणरुपले गुप्त बस्न थाल्नुभयो । यो कुरा चाल पाई अन्य ब्रम्हादी देवताहरु समेत पिण्डेश्वर क्षेत्रमै आई भगवान शिवको स्तुतिमा लीन भए । देवताहरुको नित्य बसाईलाई सहज बनाउन भगवान विश्वकर्माले मणि माणिक्यले युक्त भएको घर बनाइदिए । देवताहरु त्यसरी धेरै समय बस्दा स्वर्गलगायत देवलोक खाली भयो । भगवान शिवले सबै देवताहरुलाई आ आफ्नो लोकमा गएर काम गर्न भनि विदा दिनुभयो । उता दानवहरु आफ्नो जपतपका बलले शक्तिहाली भएर देवलोकहरुमा आफ्नो आधिपत्य जमाए । सबै देवताहरु ब्रम्हाको शरणमा पुगे । देवताहरुको अवस्था देखेर बम्हासहित विष्णुकोमा पुगे । विष्णुले समुन्द्र मन्थनको उपाय सुझाउनुभयो । समुद्र मन्थनबाट प्राप्त अमृत पिएपछि देवताहरु अमर हुने र दैत्यसँग युद्ध गर्दा विजय हुने सुनाउनुभयो । देवता र दानवको सहयोगमा समुन्द्र मन्थन भयो । त्यसक्रममा अनेक वस्तुहरुसँगै कालकुट विष समेत निस्कियो । भगवान शिवले कालकुट विषलाई आफ्नो कण्ठमा धारणा गर्नुभयो । देवताहरुले दैत्यहरुलाई छलि अमृत देवताहरुलाई नै पान गराए । अमृत पान गर्नुभन्दा अगाडि त्यसलाई कपडामा राखी छान्दा पिण्ड आकारको नौनी डल्लो निस्कियो र त्यसलाई पिण्डेश्वरमा स्थापित गरे भने भगवान शिव त्यसमा प्रवेश गर्नुभयो । अमृत पिण्डको आकृति पिण्डाकार भएकोले उक्त शिवलिंगको नाम पिण्डेश्वर
रुद्र वा पिण्डेश्वर बाबा राखियो ।
पिण्डेश्वरको सरस्वती कुण्ड
पिण्डेश्वर बाबा धाम परिषरमा बाग्देवी अर्थात सरस्वती कुण्ड रहेको छ । मन्दिरको पश्चिमतर्फ रहेको कुण्डको आफ्नै महिमा रहेको छ । महारुद्रको यस धाम ब्रम्हा, विष्णु, बरुण, ऋषि, महर्षी, मनुस्य समेतको तपोभूमि हो । वाग्देवी सरोवर कुण्ड भन्दा पश्चिमतर्फ भगवती सतिदेवीको दाँत पतन भएको शक्तिपीठ रहेको छ । जसलाई दन्तकाली शक्तिपीठले चिनिने गरिएको छ । पिण्डेश्वर बाबाधाम ऐतिहासिक धार्मिक स्थल हो । पिण्डेशवर उत्तररतर्फ केही पर बुढासुब्बा (एकालव्य) को मन्दिर छ । त्यसभन्दा उत्तर आच्छादित पञ्चाकन्याको मन्दिर, पाथीभरा भगवतीको मन्दिर समेत रहेको
छ । यस क्षेत्रका अनेक प्रकारका ऐतिहासिक प्रमाण र किम्वदन्तीहरु सुनिने गरिन्छ । एकथरिका अनुसार यो क्षेत्र पाण्डवहरुको यज्ञभूमि वेदीपुर हो । ऐतिहासिक प्रमाणका आधारमा पृथ्वीनाराणण शाहले एकीकरण गर्नुभन्दा पहिला वि.सं. ४७० सालमा सेन बंशीय शासकको थलोको रुपमा चिनिने गर्दथ्यो । पञ्चकन्या मन्दिर उत्तर भताभुंगे राजाको गढी थियो । जुन सेन वंशीय राज्यको अवशेष स्थलको रुपमा पाइन्छ ।
धर्म निरपेक्षविरुद्धको संकेत हो–प्रा.डा. राजेन्द्र शर्मा
आज अचानक यत्रो भक्तजनहरुको भीड हुनुको प्रमुख कारण के हो ?
– वास्तवमा दुई बर्षदेखि कोरोनाले गर्दा स्वास्थ्य मापदण्डको नाममा सरकारले प्रतिबन्ध लगाएको थियो ।
कोरोनासँग मानिसहरु धेरै डराएकोले, मन्दिर प्रवेशमा पनि रोक लगाइएको थियो । दुई बर्षदेखिको त्यो प्रतिबन्ध एकाएक हँटाइएको छ । यद्यपि अहिले कोरोनाको एभि भेरियन्ट आएको छ । त्यसमा मानिसहरु त्यति सचेत भएको पाइदैन । कोरोना बढेको छ । आजको भीडको मुख्य कारण दुई बर्ष रोकिएर यो साल खुल्ला भएकोले अलि भीड भएको हो ।
सरसर्ती हेर्दा यो देखियो तर यसपटकको साउने सोमबार शुभ छ भन्ने कुरा आएको छ यो के हो ?
–यो एकदमै सही कुरा हो । साउनका अन्य सोमबार भन्दा पहिलो सोमबार शुभ छ । कर्कट राशीमा सूर्य प्रवेश गरेको पहिलो सोमबार जहिल्यै शुभ हुन्छ । भर्खरै कर्कट राशीमा सूर्य प्रवेश गरेको छ । यो पहिलो सोमबार पर्न गयो । त्यसकारण आजको नक्षत्र, राशी सबै कारणले शुभ छ ।
अहिले यहाँ भक्तजनहरु कहाँकहाँबाट आएको पाउनु भएको छ ?
–म लामो समय दुई तीन घण्टादेखि यही बसेको छु । काउन्टरमा आउने मानिसहरु सुर्खेत, दैलेख,
गोरखा, चितवटबाट आउनेहरुले पनि यहाँ सहयोग गर्नुभएको छ । यस हिसाबले के देखिन्छ भने चितवन, नवलपुर, पर्सा, दैलेख, सुर्खेत, गोरखा सम्मका मानिस आउनु भएको छ ।
पिण्डेश्वर बाबाधाम समितिले भक्तजनहरुबाट दानमात्र लिन्छ तर कुनै सुविधा दिँदैन भन्ने आरोप छ, यसमा तपाई के भन्नुहुन्छ ?
–तपाई अहिले जुन भवन अगाडि उभिएर गफ गर्दै हुनुहुन्छ यो भवन कस्ले बनायो उहाँहरुलाई सोधिदिनु होला । अहिलेको अवस्था र पहिलेको अवस्था बुझ्दा हुन्छ । पिण्डेश्वर बाबाधाम समितिले निर्माण काम थाल्नु भन्दा अगाडिको अवस्था कस्तो थियो अहिले आएर हेरिहाल्नु भयो । यद्यपि म बाबाधाम समितिको मान्छे होइन । त्यसरी फगत अरोप लगाउनु गलत हो ।
आज आएका भक्तजनहरुमा सबैभन्दा टाढाबाट आउनेहरु कहाकहाँको पाउनुभयो ?
–सबैभन्दा टाढा सुर्खेतबाट आउनु भएको छ ।
त्यति टाढाबाट आउनेहरुको बस्ने, खाने व्यवस्थापन कसरी गर्नुभयो ?
– उहाँहरुले हामीलाई आश्रय वा वासस्थानका लागि अनुरोध गर्नुभएको छैन । गर्नुभएको भए हामीसँग धर्मशालाको माथिल्लो तला खाली छ । बस्न, ओछ्याउन सहितको कोठा हामी उपलब्ध गराउन सक्छौं ।

