विजय श्रेष्ठ । सुनसरी उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा अध्यक्ष पदका प्रत्यासी । श्रेष्ठ सुनसरी उद्योग वाणिज्य संघका निवर्तमान बरिष्ठ उपाध्यक्ष समेत हुनुहुन्छ । विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रहेर काम गर्नुभएका श्रेष्ठ सामाजिक अभियन्ताका रुपमा समेत परिचित हुनुहुन्छ ।
उहाँ भन्नुहुन्छ मेरो जीवन आधा जीवन सामाजिक संघ संस्थामा विताएँ । उहाँ नेपाल रेयुकाइको अध्यक्ष हुँदा पहिचानसँगै सामाजिक गतिविधिमा सक्रिय रहनुभयो । नेपाल जेसिसमा १२ बर्ष काम गर्दा विभिन्न पदमा बसेर काम गर्नुभयो । जेसिसको महासचिव समेतको जिम्मेवारी सम्हाल्नु भयो । शिक्षा निकेतन स्कुलको व्यवस्थापन समितिको अध्यक्ष हुँदा उहाँकै पहलमा प्राविधिक शिक्षाको शुरुवात भएको हो । लथालिंग अवस्थामा रहेको स्कुलमा भौतिक विकाससँगै शिक्षाको विकासमा उहाँले जोड दिनुभयो । हाल सोही प्राविधिक शिक्षाका कारण स्कुलको उचाई बढेको उहाँको अनुभव छ ।

यसैगरी जेसिसको भवन बनाउने, रेयुकाईको भवन बनाउने जस्तो ऐतिहासिक काम उहाँले गर्नुभयो । उहाँ जुन संस्थामा बस्नुभयो केही न केही गरेरै छोड्नु भएको छ ।
धरान १४ स्थित मुगादेवी मन्दिर व्यवस्थापन समितिको सचिव हुनुभयो । उहाँकै कार्यकालमा मन्दिर निर्माण समेत भयो । नेपाल रेडक्रसको सदस्य भएर काम गर्नुभयो भने हाल सोसाइटीको विजयपुर शाखाको सचिव रहनु भएको छ । उहाँ विभिन्न संघ संस्थामा आजीवन सदस्य रहनु भएको छ । यस पटक हामीले सुनसरी उद्योग वाणिज्य संघको आशन्न निर्वाचनलाई लिएर अध्यक्षका प्रत्यासी विजय श्रेष्ठसँग वार्ता गरेका छौं प्रस्तुत छन् वार्ताका सारसंक्षेप :
आगामी २० असारमा हुने निर्वाचनमा तपाईले अध्यक्षमा उमेद्वारी दिनुभएको छ । यसभन्दा अगाडि पनि तपाईले उमेद्वारी दिनुभएको थियो, त्यसबेला परिस्थिति प्रतिकूल रहयो । अबको तपाईको उमेद्वारी के को लागि हो ?
–सुनसरी उद्योग वाणिज्य संघ भनेको सम्पूर्ण सुनसरीका उद्योगी व्यवसायीहरुको छाता संगठन हो । संगठन उद्योगी व्यवसायीहरुको हकतिका लागि नै गठन भएको हो । म २० बर्षदेखि सुनसरी उद्योग वाणिज्य संघमा आवद्ध भएको हुँ । यो अवधिमा मैले अनेकौ पदमा बसेर काम गरे, सेवा पु¥याउदै आएँ । यस भन्दा अगाडि म अध्यक्ष पदको प्रत्यासी थिएँ । विभिन्न परिस्थितिको कारण मैले पराजय भोग्नुप¥यो । हाल फेरि निर्वाचनको क्रम अगाडि बढ्दै जाँदा धरानका मेरा व्यवसायी साथीहरुले, यतिमात्र नभएर हाल कार्यसमितिमा बसेका अधिकांश सदस्यहरुले हैन विजय दाई तपाई आउनुप¥यो संस्थामा, संस्थालाई बचाउनु प¥यो, संस्थाको गरिमा कायम गर्नुप¥यो, तपाई नआइ संस्था अगाडि बढ्न सक्ने अवस्था छैन भनेर चारैतिरबाट प्रेसर भएकोले एकपटक संस्थाको गरिमा र संस्थालाई बचाउन मैले उमेद्वारी दिएको हुँ । यतिका बर्षसम्म मैले उद्योग वाणिज्य संघमा बसेर व्यवसायीहरुको सेवा गरे भने एकपटक साथीहरुको आग्रहलाई स्वीकार गरेको हुँ । म अगाडि बढिरहेको अवस्थामा संस्थालाई नयाँ ढंगले सञ्चालन गर्नुपर्छ, अहिलेको प्रविधिलाई पनि उपयोग गर्नुपर्छ भन्ने मेरो मान्यता छ । अहिले पनि सदस्यता बनाउँदा रसिद काट्ने सिस्टम छ । त्यसलाई सिस्टममा राखेको भए मेरो सदस्यता नविकरण भयो कि भएन, कति सदस्य छन्, संस्थाको अवस्था कस्तो छ भन्ने कुरा थाहा हुन्थ्यो । यस्तो वातावरण सिर्जना गर्ने मेरो योजना छ ।
तपाईको आशय सबै गतिविधि प्रविधिबाटै हेर्न सकियोस् भन्ने हैन त ?
–हो । यो काम मेरो पहिलो प्राथमिकतामा रहन्छ यदि म निर्वाचित भएर गए भने ।
तपाई निर्वाचित भएमा व्यवसायीहरुको हितका लागि के कस्ता योजनाहरु अगाडि सार्नुभएको छ ?
–उद्योग वाणिज्य संघमा व्यवसायीहरुको हकहितका कुरा गर्देै जाँदा धेरै समस्याहरु छन् ।
जस्तै ?
–तत्काल देखिएको कुरा के छ भने व्यवसायीको हक हितमा संघले पहल गरेन भन्ने पनि कुरा आइरहेको छ । त्यसलाई चिरेर उद्योग वाणिज्य संघ व्यवसायीहरुको घर हो । उनीहरुमा अपनत्व कसरी जगाउने भनेर म प्रत्येक व्यवसायीको व्यवसाय स्थलमा गएर एउटा विज्ञ टोली गठन गरेर काम गर्ने योजना छ ।
तपाईले देखेको टड्कारो समस्याचहिँ के हो ?
–टड्कारो समस्या भनेको घरवहाल हो । एउटा व्यवसायीले २० हजार तिरेर व्यवसाय गरिरहेको छ तर एक्कासी घरधनीले ४० हजार बनाउँछ । तिर्न सक्दिनँ भन्दा घर खाली गर भन्ने गुनासो सुन्नमा आएको छ । यसको दीर्घकालीन समस्या समधानमा लागि मैले घरवहाल नीतिगत समिति बनाउने जसमा स्थानीय सरकार, प्रदेश सरकारसँग बसेर कानुन बनाएर काम गर्ने सोच बनाएको छु । अर्को कुरा हामी धरानबासी हौं धरानको समग्र विकासका कुराहरु पनि गर्नुपर्छ । धरानको बजारलाई चलायमान बनाउन केही न केही कार्यक्रम ल्याउनुपर्छ । हरेक मानिससँग पर्चेजिङ्ग क्षमता भएमात्र खरिद विक्री हुँदा बजार चलायमान हुन्छ । त्यसका लागि उत्पादन हुने कामलाई अगाडि बढाउनुपर्छ । बेरोजगार भएर बसेका व्यक्तिहरुलाई प्योजकमा रोजगारीको कार्यक्रम ल्याउनुपर्छ । उनीहरु रोजगारी भएपछि खरिद गर्ने क्षमता बढ्छ जसका कारण बजार चलायमान हुन्छ । यसका साथै स्थानीय सरकारले पनि रोजगारी अभिबृद्धिका लागि योजना ल्याउन सक्छ । मैले देश विदेश भ्रमण गर्दा धेरै राम्रो काम देखें । सिक्किम भ्रमणमा जाँदा त्यहाँको सरकारले जग्गा उपलब्ध गराइदिने, १० बर्षसम्म कर मिनाहा गरेको पाएँ । हामीले पनि यस्तो काम यहाँ गर्न सक्छौं । त्यस्तो जग्गा खोजी गरौ, राम्रो, ठूला ठूला उद्योगहरु ल्याउन प्रोत्साहन गरौं । १० बर्षसम्म कर छुट दिऔं । यसले गर्दा त्यहाँ हजारौ मान्छेले काम पाउँछन् । जसले गर्दा बजार चलायमान हुन्छ । दश बर्षपछि नगरपालिकाका लागि पनि ठूलो आम्दानीको स्रोत हुन्छ । यस्तो सोच मैले अगाडि सारेको छु । यो काम सजिलो त छैन तर प्रयास गर्दा एकदिन सफल भइन्छ भन्ने लाग्छ ।
सुनसरी उद्योग वाणिज्य संघमा पछिल्लो पटक व्यवसायीहरु किन सदस्य बन्ने, केही पाइँदैन, जो पदाधिकारी भए उनीहहरुले मोजमस्ती गर्छन् भन्ने गुनासो गर्छन् यसलाई तपाई कसरी समाधान होस् भन्ने चाहनुहुन्छ ?
–मले अघि पनि भने व्यवसायीहरुको व्यवसाय स्थलमा पुगेर उनीहरुको समस्या टिपोट गरेर समस्या समाधानका लागि काम गर्नुपर्छ । उद्योग वाणिज्य संघमा भएका हरेक कार्यक्रमको अनलाइन मार्फत जानकारी गराउँछु । अझ प्रत्येक महिना वस्तुगत संघलाई भेला गरेर गुनासाहरुको समाधान गर्ने काम गर्छु ।
सुनसरी उद्योग वाणिज्य संघ धरानमा मात्र खुम्चियो विस्तार भएन भन्ने छ नि ?
–मलाइ पनि त्यो खड्किरहेको छ । म महासचिव हुँदा पनि यो कुरा पटक पटक बोर्ड बैठकमा राखेको थिएँ । त्यसबेला विस्तार पनि धेरै गरेका थियौं । अहिले उद्योग वाणिज्य संघको नीतिमा के छ भने त्यसबेला सातवटा उपशाखाहरु थिए । तर नगरपालिका भइसकेपछि त्यो अटोमेटिक स्वतन्त्र हुन्छ । इटहरी, दुहवी, इनरुवा, झुक्का, बराहक्षेत्र एकताका सबै यसका शाखा थिए । अहिले स्वतन्त्र भएका छन् । तर उनीहरुसँगको हाम्रो सम्बन्ध रहिरहेको भएपनि उहाँहरुको स्वतन्त्र अधिकार छ । सुनसरी उद्योग वाणिज्य संघसँग जति अधिकार छ त्यति नै अधिकार उहाँहरुसँग छ । अहिले गाविस अन्तर्गत रहेको औरावनी मात्र हामीसँग छ । यो बर्ष म उवासंघमा नभएपनि बाहिरै बसेर भए पनि इटहरीमा तीन सय, खनार, दुहवी, झुक्का, चकरघट्टी, चतरा, इनरुवाबाट सदस्य बन्नु भएको छ ।
यति संख्या बाहिरबाट थपिनु भएपनि यसपटक मतदाता संख्या २ हजार ९ सय ७४ मात्र देखियो । किन होला ?
–तीन बर्ष अगाडि मतदाता संख्या १८ सय थिए । अहिले ३३ सय पुगेपनि सबैले नविकरण गर्नुभएन । यो कुरा किन भएको छ भने एक प्रकारको व्यवसायीमा वितृष्णा हो । त्यहाँ गएर के हुन्छ ? किन सदस्य बन्ने भन्ने भएको छ । यसलाई मेट्नको लागि केही काम नगरी भएको छैन । सुनसरी उद्योग वाणिज्य संघ हाम्रो घर हो, यसको सदस्य बन्नुपर्छ, यसलाई बलियो बनाउनुपर्छ भन्ने सोच म पैदा गर्छु ।
मतदातालाई केही भन्नु छ ?
–मैले यत्रो बर्ष व्यवसायीको हितका लागि काम गरेको छु । एकपटक यसको अध्यक्ष बनाएर सेवा गर्ने मौका दिनुहुन्छ भन्ने विश्वास छ । सबै साथीहरु भन्नुहुन्छ विजय श्रेष्ठको संस्थामा आवश्यक छ, यसले संस्थालाई अगाडि बढाउँछ । विजय श्रेष्ठले हामीलाई गन्छ, सजिलो मान्छे छ भन्नुहुन्छ । त्यसैले एक पटक अध्यक्ष बनाएर सेवा गर्ने मौका दिन हार्दिक अनुरोध गर्दछु ।
