नेपाल–भारत कविता बाचन कार्यक्रम सम्पन्न

धरान । भारतीय राजदूतावास स्वामी विवकेकानन्द साँस्कृतिक केन्द्र काठमाण्डौ र राष्ट्रिय साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा भारतीय कवि नरेश शान्डिल्यको स्वागत सम्मानसँगै नेपाल भारत कविता वाचन सम्पन्न भएको छ ।
बरिष्ठ साहित्यकार डा. तुलसीप्रसाद भट्टराईको आतिथ्यमा भारतीय राजदूतावासका प्रथम सचिव नविनकुमार, त्रिभुवन विश्वविद्यालय हिन्दी विभाग प्रमुख स्वेता दिप्ती लगायत बरिष्ठ कवि तथा कवयित्रीहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा राष्ट्रिय साहित्य प्रतिष्ठानले कवि शान्डिल्यलाई ‘राष्ट्रिय साहित्य सम्मान’ प्रदान गरेको थियो ।


प्रतिष्ठानले शान्डिल्यलाई सम्मानपत्रसहित दोसल्ला ओढाएको थियो । राष्ट्रिय साहित्य प्रतिष्ठानका महासचिव मधु पाठकले शान्डिल्यलाई प्रदान गरिएको सम्मानपत्र वाचन गर्नुभएको थियो । यसैगरी राष्ट्रिय साहित्य प्रतिष्ठानको भगिनी संस्था सखी प्रतिष्ठानले समेत कवि शान्डिल्यलाई सम्मान गरेको थियो । सो अवसरमा डा. तुलसी भट्टराईले भन्नुभयो यस प्रकारको सम्मानले दुई देशबीचको साहित्यिक एवम् साँस्कृतिक सम्बन्ध थप प्रगााढ हुन्छ । नेपाल भारत कविता वाचन कार्यक्रममा नेपाली, हिन्दी, उर्दु, अँग्रेजी बंगाली, भाषाका कविता वाचन गरिएका थिए । राजेन्द्र सलम, स्नेहा सायमी, उर्दु प्रतिष्ठानका अध्यक्ष इम्तिहाज वफा, डा. मोनिका खान, कञ्जना झा, मधुकुमारी, डा. ज्ञान निष्ठ ज्ञवाली, ठाकुर वेलबासे, पवित्रा अधिकारी, उमेश अवस्थी, रञ्जु दाहाल, पुनम झा, पियम्वदा काफ्ले, डा. विनोदकुमार विश्वकर्मा, डा. बासुदेव काफ्ले, त्रिभुवन चन्द वाग्ले, सुमन बर्षा, रस्मी भट्ट लगायतले कविता वाचन गर्नुभएको थियो ।कार्यक्रममा कवि शान्डिल्यले दोहा लेखन वाचन तथा गजलको महत्व एवम् लेखन प्रयोगबारे बोल्दै दोहा तथा गजल वाचन गर्नुभएको थियो । यसैगरी राष्ट्रिय नाच घरका गायक विपीन घिमिरे, शिला विष्ट ओलीले नेपाली तथा हिन्दी गीत प्रस्तुत गर्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष ऋषभदेव घिमिरिकोे सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सचिव रञ्जना निरौलाले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया