बालेनस“ग सहकार्य गर्ने रे
काँग्रेसको बुइ चढेर यसो गोडापन्द्रेक ठाउँमा चुनाव जित्या माकुनेले अस्तिका दिन बडो गज्जबको गफ हान्देछन् । कसैले तपाई भनोस कि नभनोस आफै मपाइ भएर फुलेल हुँदै अस्तिका दिन तिन्ले भनेछन् काठमाण्डौका मेयर बालेन्द्र साहसँग सहकार्य गर्न हाम्रो पार्टी तयार छ रे । बालेन्द्र साहले बाल मतलब देका छैनन् माकुने भने सहकार्य गर्न तयार छौ भन्दै डुक्रिन थाल्या छन् । कहिले बालेन्द्र फकाउन वनझाँक्रीलाई प्रयोग गर्छन् कहिले कस्लाई सहयोग गर्छन् कहिले आफै अगाडि सर्छन् । बालेन्द्र भन्या बालेन्द्र नै हुन् । कस्ता कस्ता शेर पार्टीसँग त सहकार्य गर्ने तयार नहुने बालेन्द्र माकुने जस्ता झ्याससँग किन सहकार्य गर्थे, देशको राजधानी काठमाण्डौ महानगरपालिका चानचुने ठाम त हैन ? वालेन्द्रलाई माकुने जस्ता दलका दलालको आवश्यकता नै छैन । त्यसैेले उनी स्वतन्त्र उठे स्वतन्त्र भएरै चुनाव जिते । कुनै दलको दलालको फुट्टीकौडी उनीमाथि लगानी छैन । फेरि आफ्नै बनिबनाउन घरमा आगो लगाएर धाइफल ठोक्ने माकुनेसँग त बालेन्द्रले सहकार्य गर्ने कुरा पनि भएन । भोलि बालेन्द्रले सहकार्य गर्दिन भनेर जवाफ फर्काएपछि माकुनेको फेरि घोर अपमान हुने पक्का छ ।

सबैका अनुहार हरियो निलो
झालेमालेका अध्येक्षे खप्रओ भन्या खप्रओ नै हुन् । अस्तिका दिन संसदमा खप्रओले प्रचण्डाउ झल्लाझलु, माकुने, स्यालबहाुरको अनुहार रंगीन बनाइदिएछन । खप्रओले तीन घण्टा भाषन गर्दा
विचराहरुको अनुहार कालो निलो मात्र भएन घोसेमुन्टो लगाएर उँधो मात्र हेरिरहे । ठाडो मुन्टो लगाएर खप्रओलाई हेर्ने लाइका कतै विचराहरुमा देखिएन । खप्रओले आफनो शेखपछि आफूसँग भएका श्रीसम्पति राष्ट्रको नाममा गरिसक्या रै’छन् । तैपनि तिनैलाई सक्तो सराप गरेसी उन्ले भन्दिर्ए तपाइहरु पनि आफ्नो श्रीसम्पति राष्ट्रको नाममा गरिदिनुस् । नगरे पनि संसदबाट घोषणा गरिदिनुस् । त्यसपछि त प्रचण्डाउ , झल्लाझलु, माकुने, स्यालबहादुर टाइटुई फिस भैहाले । विचराहरुले त्यत्रा सम्पत्ति कति दुःखले लुटेका छन् । भ्रष्टचारी, व्यभिचारी, पातकी भनेर गाली खाएका छन् । त्यसै राष्ट्रका नाममा गर्दिने कुरा त हुँदैहुँदैन । घोषना गर्दा वैनावट्टा गरेजस्तो हुन्छ । किन घोषना गर्ने ? उनेरले खप्रओ जस्तो भोलिका दिनमा सडक छाप हुन राजनीति त ग¥या हैनन् नि । कि कसो हौ ?
फूर्ति बढेछ
हिजोआज माउवादीका अध्येक्षे प्रचण्डाउको फूर्ति अलि बढेको छ । तोत्यांग्रे काजीलाई ललाई फकाई गरेर स्थानीय निर्वाचनमा इँजार कस्न पाएका उनले अस्तिका दिन भन्या संघ र प्रदेशको चुनाउमा दोस्रो हुने रणनीति बनाउनु प¥यो रे । तोत्यांग्रेको बुद्धि बिग्रिदा स्थानीय निर्वाचनमा तिन्को अलकति भाग्य के चक्मेको छ तिनको खुट्टा भुइमा छैन । त्यसै त्यसै फुरुङ्ग पर्न थाल्या छन् । अलिकति भाउ दिँदा टाउकैमा टेक्न खोज्नुचहिँ राम्रो होइन । तोत्यांग्रेले आफ्नैलाई जोर लात्ती बजाएर, कार्वाही गरेर, पार्टीबाट निकालेर प्रचण्डाउलाई बोकेर हिड्या छन् । कुन दिन डोकोसहित लगेर खाल्डामा जाक्छन् अनि तोत्याग्रे काजीको चेत खुल्छ । अहिले वाल्वाटारमा पसारिन पाइएकाले विचरालाई यी कुराको हेक्कै छैन ।
पोख्रेल पनि खुस्केछन्
माउवादी केन्द्रका लैवरी नेता
गिरिराजमणि पोख्रेलको हिजोआज दिमाग सटडाउन भएछ कि क्या हो ? अस्तिका दिन तिन्ले संसदा केही फलाक्न कुरा नपाएसी नगढन्ते हावा गफ हान्देछन् । त्यस्ता मनगढन्ते हावा गफ हान्न त पोख्रेल बाजेलाई कस्ले भ्याउने ? उन्ले संसदबाट पास भएको, नेपालको लोगोमा कायम भएको लिपुलेक, कालापानी, लिम्पियाधुरा समेटिएसी चुच्चिएको नेपालको नक्सा समेटिएको पुस्तक झालेमालेका अध्येक्षे खप्रओले सार्वजनिक गर्न नदेको आरोप लगाएछन् । खप्रओको मन्त्री मण्डलमा शिक्षा मन्तरी भएर बस्दा त्यसैेबेला किन नबेल्या होलान् ? नदया भे त्यसैबेला फलाक्नु पदैन ? आँची गरिसक्यो अनि दैलो देख्यो भन्या यही हो । उसबेला मन्तरीबाट खुस्किउँला कि भन्ने डरले नबोल्या होलान् । यतिबेला मन्तरी सन्तरी छैनन् अनि बोल्या होलान् । पोख्रेललाइ माछो देख्दा दुलाभित्र हात हाल्ने र सर्प देख्दा दुलो बाहिर हात राख्ने आदत जो प¥या छ ।
क्या भाग्यमानी नेपाली
नेपाली जन्ता कम्ता भाग्यमानी छैनन् । देश चलाउने गतिला नेता पाएसी भाग्यमानी नहुने त कुरै भएन । अब हेरम न आज हरेक नेपालीको थाप्लोमा ६३,३१० ऋण थुप्रिएको छ । नेपालीहरु गर्भबाटै ऋण बोकेर जन्मछन् । अनि नेपाली भन्दा भाग्यमानी को होला ? देश चलाउने नेताले जन्ता बन्धी राखेर दनादन ऋण लिन्छन् । जन्ताको नाममा लिएको ऋणबाट उनीहरु सुन्निदै जान्छन् । रातारात गठ्ठे काजीबाट साहु बन्छन् । दरबारजस्ता घर बनाउँछन्, गाडीघोडाको लर्को लगाउँछन् । नेपाली जनता भने ऋणको भारी बोकेर सुकेनास लागेझै ख्याउटे हुँदै जान्छन् । जे होस देश चलाउने नेताहरुबाट गनतन्त्र आएसी नेपाली जन्ताले अर्र्थाेक केही नपाए पनि ऋण चाहिँ राम्रैसँग बोक्या छन् । लौ हामी सबैलाई बधाई छ ।
गनतन्त्र दिवस
अस्तिका दिन नेपालका नेताहरुले गनतन्त्र दिवस मनाएछन् । जस्ले डकार्या छन् उनेरले मनाउनु नौलो कुरा पनि भएन । गनतन्त्र आएसी, मुलुकले कोल्टे फेर्छ मुलुक समृद्ध हुन्छ, जनताले सुख्ख पाउँछन् भन्थे । १०–१२ ष्र्बामै मुलुकले कोल्टे फेर्नु त कता हो कता मुलुक उत्तानो परेछ । देश बन्ने होइन चल्नै नससक्ने अवस्थामा पो पुगेछ । उत्तानो परेसी चल्न सक्ने कुरा पनि भएन ।
घण्टाघरलाई एउटा कुराको चाहिँ साह«ै खसखस लाग्या छ । गणे नेताहरुले देशबासीका नाममा सन्देश दिएछन् । ताई न तुईको तिनका सन्देशले के लछारपाटो लगाउनु ? करोडौको गाडी चढेर बीपी, गणेशमान, कृष्णप्रसाद भट्टराई मनमोहन अधिकारी ,मदन भण्डारीका शालिकमा गएर गलामा जबरजस्ती माला लगाइदिएछन् । बाच्या भए अलिहे गणे नेताहरुलाई गालामा चड्कन चट्काउने थिए । विचाराहरुले कहिल्यै गणतन्त्रका बारेमा सोच्यासम्म थिएनन् । कसैको सोच विरुद्ध माला लगाएर अपमान त गर्नु भएन नि । गणे नेताहरुले खै कुरा बुझ्या ?
देशलाई घा“डो भयो रे
गनतन्त्र आएसी बेगारीहरु पाल्न गणे नेताहरुले देशलाई सात भाग लगाए । काम न काजका मुख्यमन्त्री र मन्त्री बनाए भनेर सबैतिर चर्को विरोध हुन थाल्या छ । नेपालमा ल्याएको गनतन्त्र मिलीजुली खानकै लागि त हो । अहिले खारेज गर भनेर तोरीलाउरेहरु किन उफ्रिएका होलान् सघीयता घाँडो भयो रे । फुइøयाँको घाँडो हुन्छ काम न काजका मुख्यमन्तरी मन्तरीहरु बेरोजगार हुन्थे
डुकु हुन्थे । रोजगारका लागि विदेशतिर हुइँकिन्थे । धन्न संघयिताले उनेरलाई देशमै जागिर दिएको छ । नेपाली जन्ताको बानी नै खाली अरुको आरिस गर्ने हो कि क्या हो ? अझ यतिबेला त प्रदेश हँटाउन आगामी प्रदेशसभाको निवाचनमा नो भोटको व्यवस्था गर्नुप¥यो भनेर केही ठेउकहरुले जोडदार आवाज उठाउन थाल्या छन् । किन त्यसरी आवाज उठाउनु ? आफूले नपाए नि अरुलाइ गरिखान दिनुपर्दैन ? मुख्येमन्तरीले कम्ता काम ग¥या छन् महँगो गाडी चढेर दौडिएका छन्, सुंगुरको खोर, ट्वाइलेट उद्घाटन ग¥या छन् । उनेरु नभए कस्ले उद्घाटन गर्दिन्थ्यो ? बात बुझ्नुमा छ क्या ?
अन्तेमा
गठबन्धने ठूला दलका नेताहरु यतिबेला गजक्क प¥या छन् । स्थानीय निर्वाचनमा हामीले एमालेको भन्दा धेरै ठामा जित्यौ भनेर फूर्ति लगाउँदै हिड्या छन् । तिनेरले त्यसो भन्या सुन्दा
घण्टाघरलाई दया लाग्न थाल्या छ । फूर्ति लगाउनेहरुले जनमतलाई ख्यालै ग¥या छैनन् । पाँच पाँच भाई मिले एक भाईलाई न्याक्दा विजयी भयौ भनेर उफ्रेको देख्दा घण्टारलाई कुरी कुरी लाग्न थाल्या छ । स्थानीय निकायको निर्वाचनमा एमालेको पक्षेमा ३४ प्रतिशत, लाँग्रेसको पक्षेमा २९ प्रतिशत, माउवादीको पक्षेमा ११ प्रतिशत, माकुनेको साकुने उपिन्दर सुपिन्दर चित्रहादुर, विचित्रबहादुरको पक्षेमा जनमतै देखिएन । जनमतलाई मान्ने हो भने अहिले पनि देशको सबैभन्दा ठूलो पार्टी त एमाले नै देखियो । अनि गठबन्धनेहरु भुत्रो खान उफ्रनु ? वात करता है ।
