धरान । नेपालको उत्तरी चीनसँग सीमाना जोडिएको तथा सामरिक दृष्टिले अत्यन्तै महत्वपूर्ण रहेको संखुवासभाको अरुणमा ४९०.२ मेघावाटको अर्ध जलासययुक्त जलविद्युत आयोजना निर्माण हुने भएको छ ।
बुद्ध जयन्तिका अवसरमा ६ घण्टा लुम्बिनीको धार्मिक भ्रमणमा आउनु भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको समुपस्थितिमा सोमबार नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतीय जलविद्युत कम्पनी सतलजका अध्यक्ष नन्दलाल शर्माले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा गत चैत्रमा भारतको औपचारिक भ्रमणमा जाँदा ऊर्जा क्षेत्रमा सहकार्य गर्ने समझदारी भए अनुरुप हाल अरुण चौथोको काम अगाडि बढाउन सम्झौता भएको हो । । नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले २०७८ साल कार्तिक महिनामा नेपाल विद्युत प्राधिकरणलाई अरुण चौथोको सर्भेक्षण अनुमति दिएको थियो । आयोजनाको कुल अनुमानित लागत ७९ अर्ब १२ करोड रहेको छ । अरुण तेस्रो जलविद्युत आयोजना पनि भारतयि जलविद्युत कम्पनी सतलजले नै निर्माण गरिरहेको छ । अरुण तेस्रोमा जस्तै अरुण चौथोबाट उत्पादन हुने विद्युतको २१.९ प्रतिशत नेपालले निःशुल्क प्राप्त गर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ ।
जलविद्युतसँगै थप पाँच सम्झौताम हस्ताक्षर
भारतीय वायु सेनाको हेलिकोप्टरबाट लुम्बिनी आउनु भएका भारतीय प्रधानमन्त्री मोदी र नेपालका प्रधानमन्त्री देउवाको समुपस्थितिमा अरुण चौथो जलविद्युत आयोजना निर्माणसँगै थप पाँचवटा महत्वपूर्र्ण सम्झौताहरु एकसाथ भएका छन् । थप सम्झौताहरुमा बौद्ध दर्शन अध्ययनका लागि डा. अम्बेडकर चेयर स्थापना गर्ने सम्बन्धी भारतीय साँस्कृतिक परिषद् (आइसीसीआर) र लुम्बिनी वौद्ध विश्व विद्यालयबीचमा सम्झौता, भारतीय साँस्कृतिक परिषद् र नेपाल तथा एसियाली अध्ययन केन्द्र तथा त्रिभुवन विश्व विद्यालयबीच भारतीय अध्ययनको आइसीसीआर चियर स्थापना गर्ने काठमाण्डौ विश्व विद्यालय र भारतको इन्डियन इस्टिच्युट अफ टेक्नोलोजी मद्रास (आइआइटिएम) बीच सहयोग, काठमाण्डौ विश्व विद्यालय र भारतको इन्डियन इस्टिच्युट अफ टेक्नोलोजी मद्रास बीचमा स्नाकोत्तर तहमा संयुक्त डिग्री कार्यक्रम रहेका छन् ।
प्रधानमन्त्री मोदीद्वारा मायाँदेवी मन्दिरमा प्रार्थना
सोमबार विहान १० बजे भैरहवा आइपुग्नु भएका भारतीय प्रधानमन्त्री मोदी उहाँकै लागि निर्माण गरिएको हेलिप्याडमा उत्रनु भएको थियो । उहाँलाई स्वागत गर्न प्रधानमन्त्री देउवा हेलिप्याड सम्मै पुग्नुभएको थियो । हेलिप्याडमा उत्रिएपछि प्रधानमन्त्री मोदी सिधै मायादेवी मन्दिरतर्फ प्रस्थान गर्नुभएको थियो ।
मायाँदेवी मन्दिरमा झण्डै ४५ मिनेट दर्शन र प्रार्थनामा बिताउनु भएका प्रधानमन्त्री मोदीसँगै नेपालका प्रधानमन्त्री देउवाले पनि प्रार्थना गर्नुभएको थियो । दर्शन र प्रार्थना पश्चात प्रधानमन्त्री मोदी विभिन्न कार्यक्रम सहभागी हुनुभएको थियो । यसै बीचमा उहाँले सहभागीहरुलाई सम्बोधन समेत गर्नुभएको थियो । धार्मिक भावनाले ओतप्रोत उहाँले सम्बोधनको प्रारम्भमै नमोः बुद्धाय बुद्ध जयन्तिको पावन अवसरमा लुम्बिनी आउन पाउँदा अत्यन्तै खुशी लागेको नेपालीमै भन्नुभएको थियो । उहाँले बीचबीचमा नेपालीमा सम्बोधन गर्दा उपस्थित श्रद्धालुहरुले ताली पिटेका थिए । मलाई नेपाल आउँदा राजनीति भन्दा पनि धार्मिक अनुभूति हुन्छ्, नेपाल र भनरतबीचको समन्ध हिमालय जस्तै अग्लो र स्थायित्व रहेको पनि उहाँले नेपालीमै भन्न भ्याउनु भ्याउनु भएको थियो । खासगरी नेपाल र भारतबीचमा दियौदखिको धार्मिक एकता सद्भाव रहेको उल्लेख गर्दे नेपालको पशुपतिनाथ, जनकपुर, मुक्तिनाथ, लुम्बिनीको प्रशंशामा उहाँले समय खर्चिनु भएको थियो । बीच बीचमा बद्धका वाणीहरुको संस्कृतमा उच्चारण गर्दै सोको अर्थ समेत खुलाउँदा श्रद्धालुहरुमा खुशीको सीमा देखिदैनथ्यो ।
