धरान । विश्व नेपाली साहित्य महासंघ नेपाल शाखा प्रदेश नंं. १ ले नव बर्ष २०७९ सालको अवसरमा साहित्यकार, स्रष्टाहरुसँग शुभकामना आदन प्रदान तथा साहित्य सिर्जना वाचन विजुली अर्थात जुमबाट सम्पन्न गरेको छ ।

वैसाख ५ गते शुभकामना आदनप्रदान तथा रचना वाचन कार्यक्रम ‘पालुवा’ डिजिटल कार्यक्रम जुम आइडीमा साँझ ७ बजे सम्पन्न भएको थियो । प्रा.डा भीम खतिवडाको प्रमुख आतिथ्य रहेको विजुली माध्यम (जुम) बाट भएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सुरेन्द्र लिम्बु परदेशी रहनु भएको थियो भने अन्य अतिथिहरुमा रोशन परियार, समर चेम्जोङ, यज्ञ परिश्रमी, युवराज ठकुरी रहनु भएको थियो ।विश्व नेपाली साहित्य महासंघ नेपाल शाखा प्रदेश नं. १ का महासचिव निराजन लुइटेलले यस प्रकारको अवसर जुराइदिनु भएको थियो । विगत दुई बर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण स–शरीर उपस्थित भएर सार्वजनिक स्थलहरुमा साहित्यिक कार्यक्रमको आयोजना हुनै छाडेकोे छ । केही समय मत्थर बनेको सक्रमण पुनः भारत लगायत चीन र अन्य देशमा चौथो लहरको रुपमा देखा पर्न थालेपछि साहित्यिक कार्यक्रमहरु जुमकै माध्यमबाट आयोजना गर्नपर्ने बाध्यता देखिएको आयोजकले बताएका छन् । तोकिएकै समयमा जुम माध्यमबाट उल्लेखित स्रस्टाहरुले एक अर्कामा शुभकामना तथा सिर्जना वाचन गर्नुभएको थियो ।
