धरान । सत्यकुरा तीतो हुन्छ त्यसै भनेको होइन । चर्चित गायक प्रकाश सपुतको हृदयस्पर्शी र यथार्थपरक गीत ‘पीर’ ले कथित सशस्त्र द्वन्द्वबाट नेपाली राजनीति मञ्चमा सम्भ्रान्तका रुपमा उदाएकाहरु यतिबेला विलखबन्धनमा मात्र परेका छैनन् उनीहरुलाई उक्त गीत अपाच्य भएको छ ।
सपुतको गीतलाई यतिखेर राजनीतिक रंग दिएर एउटा जमात जो जनयुद्धकै नामबाट सम्भ्रान्तको कोटीमा उदयीमान भएका छन् उनीहरुमा डरलाग्दो छट्पटाहट शुरु भएको छ । गायक सपुतलाई उक्त गीतकै कारण प्रत्यक्ष अप्रत्यक्ष रुपमा धम्की दिने गरेको समाचार बाहिर आएका छन् । सामाजिक सञ्जाल युटुवबाट उक्त गीत हँटाउन उनीहरुले चेतावनी दिने गरेका छन । सम्भ्रान्तको कोटीमा उक्लिएकाहरुलाई वास्तविता र यथार्थता पचाउन गाह«ो भइरहेको छ ।

तत्कालीन माओवादीको नेतृत्वमा भएको दशबर्षे जनयुद्धले मुलुकमा गणतन्त्र, धर्मनिरपेक्षता, सघीयता, समावेशिता जस्ता कुराहरु भए तर यसका निम्ति लडेका हजारौ योद्धाहरुको जीवन आज पनि कति कष्टकर छ भन्ने कुरा सपुतले आफ्नो सिर्जनामार्फत उजागर गरिदिएका छन् । जनवादी विवाह गराई दिने युद्धको भूमिबाट घाइते योद्धालाई छोडर भाग्नेहरु आज ऐøयासी जीवन बाँचिरहेका छन् । उनीहरु संसदमा, सरकारमा पुगेका छन् । देश परिवर्तन गर्छौ भन्नेहरु आफै परिवर्तन भएर रमाइरहेका छन् । जनयुद्धको नाममा व्यवस्था त परिवर्तन भयो तर व्यवस्था परिवर्तन गर्न लडेकाहरुको अवस्था झन झन कहालीलाग्दो भएको श्रव्यदृश्यले आम सर्वसाधारण नेपालीको मन छोएको छ भने जनयुद्धको नेतृत्वकर्ताहरुप्रति घृणा जन्माएको छ । शायद यसैले हुनुपर्छ क्षणिक आत्मसन्तुष्टि लिन सपुतमाथि घोषित अघोषित धम्की दिइएको हो ।
जनयुद्ध लडेको एउटा परिवारमा श्रीमति बनेकी सुरक्षा पन्तले जीवन्त चरित्र प्रस्तुत गरेकी छन् । देशभित्रै बाँच्ने आधार नपाएपछि उनी वैदेशिक रोजगारीमा जान्छिन् । शरीरमा गोलीका दागहरु बोकेर विदेशिन लाग्दा सानी छोरीले मातृत्व वियोगमा देखाएको कारुणीक दृश्यले जोकोहीलाई एकपटक अवाक बनाउँछ । जनयुद्ध लडेकाहरुले जीविकोपार्जनका लागि नगर वधु भएर दुई चार पैसा आर्जन गर्नुपर्ने बाध्यता माओवादीबाट भागेका नेतृत्वले मिल्काएको निवेदनको दृश्यले सबैलाइ भावुक बनाउँछ ।
