वि.सं. २०५५ साल भाद्रमा धरान फुटबल क्लब स्थापना भएसँगै अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको आयोजना ग¥यो । प्रारम्भमा सानो काठको घरको कोठाबाट क्लबले आफनो गतिविधि अगाडि बढाएको थियो । पहिलो पटक आयोजना गरेको गोल्डकप प्रतियोगितामा पूर्वाञ्चलमै सर्वाधिक राशीको ७५ हजारको पहिलो पुरस्कार विजेता टिमलाई प्रदान गरेको थियो ।
त्यसबेला पूर्वाञ्चलमा बुढासुब्बा गोल्डकप पहिलो गोल्डकप थियो । खेलप्रेमीहरुका बीचमा बुढासुब्बा गोल्डकप चर्चाको विषय बन्ने गरेको थियो । अन्यत्र पनि अन्य फुटबल प्रतियोगिताहरु हुन्थे तर गोल्डकप पर्वाञ्चलमै विरलै हुने गर्दथे ।
धरान फुटबल क्लले नै धरानमा गोल्डकपको इतिहास शुरु गरेको थियो । पहिलो गोल्डकप फुटबल प्रतियोगितामा धरान फुटबल क्लब र कलकत्ताको बेलगेरिया फुटबल क्लब फाइनलमा पुगेका थिए । त्यसबेला धरान फुटबल क्लब १–० ले वेलगेरियासँग पराजित भएको थियो । त्यसपछिका बर्षहरुमा धरान फुटबल क्लबले नियमित प्रतियोगिता गर्दै गयो, यसको स्तरीयतामा बृद्धि हँुदै गयो । पछि टुवोर्गको प्रयोजनबाट टाइटलमा परिणत भयो । तेस्रो प्रतियोगिताबाट बुढासुब्बा टुवोर्ग गोल्डकप भनेर सँगसँगै लिएर गएको थियो जुन अध्यावधिक रहेको छ । यसको मुल पार्टनरसीप भनेको धरान उपमहानगरापलिका जुन संयोजनको भूमिकामा रहँदै आएको छ । प्रतियोगितका लागि आवश्यक बजेट र अन्य प्रकारका सहयोग नगरपालिकाले हिजो पनि गरेको थियो र हालसम्म गर्दै आएको छ ।

प्रतियोगिताका लागि प्रायोजन गोरखा ब्रुअरीले १९ बर्षदेखि गदैै आएको भएपनि त्यसबेला सह प्रायोजकहरु थिएनन् । स–साना सहयोगहरु सबैले गर्दै आएका थिए । माइस नुडल्स सहप्रायोजकमा आयो । युके समाज धरान, हङकङ मञ्चबाट पनि केही सहयोग आएको थियो । धरान युके समाजबाट अहिले पनि गोल्डकपकालागि सहयोग भइरहेको छ । यहाँका अर्थात धरानका सबै वैंकर्सहरुले पनि नियमित सहयोग पु¥याइरहेका छन् । बजारबाट भनेजस्तो सहयोग प्राप्त नभएको धरान फुटबल क्लबका अध्यक्ष किशोर राईको कथन छ । उहाँ भन्नुहुन्छ यहाँका व्यवसायी, उद्योगपतिहरुबाट कमै सहयोग प्राप्त भएको छ । टिकटिङ्गमा पनि जुन रुपमा विगतमा दर्शकहरुको उपस्थिति रहन्थ्यो त्यो अवस्था अहिले छैन । यसको प्रमुख कारण खर्च निक्कै बढेर गएको छ भने आम्दानी बढ्न सकेन । टिमको डिमाण्डले पनि घाटा भएको अध्यक्ष राईको स्वीकारोक्ति छ । विगतमा २ सय देखि २ सय ५० मा एउटा टिमलाई राखिन्थ्यो भने अहिले एउटा टिमलाई कम्तिमा २ हजार दिनुपर्छ । खर्च सात आठ सय प्रतिशत बढेर गएको छ भने आम्दानीको स्रोत उही छ ।
अर्कोतर्फ धरानको बजार सानो छ । पुरस्कारको राशी बढेको बढ्यै छ । २३ आंै संस्करणमा विजेता टिमलाई नगद १० लाख र उपविजेतालाई ५ लाख दिने घोषणा गरिसकिएको छ । ७५ हजारबाट अहिले सम्म आउदा १० लाख पुग्नु धेरै ठूलो उपलब्धीको रुपमा लिनुपर्ने हुन्छ । यसका अलावा क्लबले पुरस्कारमा मोटर साइकलहरु पनि बाँडदै आएको छ । अध्यक्ष राई भन्नुहुन्छ अब यसलाई मुनाफामुखी बनाउने, स्तरलाई माथि उठाउने हो भने धरान नगरपालिकाले अब पुरस्कारमा मात्र होइन यसलाई व्यवसायिक क्लबको रुपमा अगाडि बढाउनै पर्छ । अब कम्तीमा पनि बजेटको ५० प्रतिशत नगरपालिका र अन्य स्रोतबाट ५० प्रतिशत क्लबले म्यानेजमेन्ट गर्नुपर्छ । यसो भएमा आगामी दिनमा आर्थिक आर्जन गरेर यो क्लबले अरु पनि फुटबल क्लबको गतिविधिमा उत्कृष्ट योगदान गर्न सक्छ । अहिले धरान फुटबल क्लब जिल्ला लिगको च्याम्पिएन भएको छ । चाँडै नै राष्ट्रिय लिग खेल्ने योजनामा रहेको छ । बुढासुब्बाले मुनाफा गरेर २०÷३० लाख खेलाडीमाथि लगानी गर्न सक्छ । यसो भए व्यवसायिकता दिन सकिन्छ । जसका कारण खेलप्रति नयाँ खेलाडीको आकर्षण बढ्छ । खेल्ने खेलाडीको रोजगारी सिर्जना हुन्छ । यसका लागि नगरपालिकाले पुरस्कारको राशी मात्र हैन व्यवसायिकताका लागि सकारात्मक कदम चाल्नै पर्छ । २३ आंंै टुवोर्ग बुढासुब्बा गोल्डको पेरिफेरिमा रहेर यसपटक धरानले साप्ताहिकले धरान फुटबल क्लबका अध्यक्ष किशोर राईसँग कुराकानी गरेको छ प्रस्तुत छन् कुराकानीको अंश :–
यतिबेला तपाई २३ औं बुढासुब्बा टुवोर्ग गोल्डकपको तयारीमा जुट्नु भएको छ तयारी कस्तो चल्दै छ ?
–तयारी त पहिलाकै जस्तै अहिले सामान्य पत्राचार गर्ने काम गरिरहेका छौं । ग्राउण्डमा पानी हाल्ने, रेखदेख गर्ने काम भइरहेको छ । केही प्राविधिक कुराहरु छन् जसका लागि प्राविधिक समितिहरुको निर्माण गरेर कार्यान्वयन गर्ने, विभिन्न उपसमिति, समितिहरु गठन गर्ने काम भइरहेको छ । जस्तै प्रचारप्रसार समिति, टिम तयारी समिति, आर्थिक समितिले आफ्नो काम अगाडि बढाइरहेको छ । बाहिरबाट आउने टिमहरुसँग सम्पर्क गर्ने काम भइरहेको छ । खासमा प्रतियोगिता सफलताका लागि गठन गरिएका समिति,उपसमितिहरुलाई
परिचालन गर्ने तयारी भइरहेको छ ।
तपाईमाथि जहिल्यै एउटा आरोप लगाउने गरिन्छ अन्य फुटबल क्लबहरुले दुई चार वटा प्रतियोगिता गराउँदा मुनाफा गरी आफ्नै भवन बनाइसके तर बुढासुब्बाले गर्न सकेन । यसमा तपाई कहाँ चुक्नु भयो ?
–हैन हैन हामी चुकेका छैनौैं । हाम्रो बाध्यता हो । कि त गोल्डकप बन्द गर्नुप¥यो । हाम्रो अहिलेको आम्दानीको हिसाबले गोल्डकप मुनाफामा जानै सक्दैन । घाटामा जान्छ जान्छ । आम्दानीको स्रोत बढ्ने ठाउँ कहीँ छैन । टुर्नामेन्टको खर्च बढेको छ । सबैले राम्रो टिम खोज्ने, राम्रो गोल्डकप खोज्ने काम मात्र भएको छ । गोल्डकप अरु ठाउँमा च्याउँ जस्तैे पलाएको छ । इटहरीमा गोल्डकप हुन्छ, भरौलामा गोल्डकप हुन्छ । पहिला एउटा गोल्डकप हुन्थ्यो जसका कारण बाहिरबाट पनि दर्शक हेर्न आउथे । धनकुटा, इलाम झापा, विराटनगर, राजविराजदेखिका दर्शक बुढासुब्बा टुवोर्ग गोल्डकप हेर्न आउथे । अब अहिले जहाँतही हुन थालेपछि दर्शक घट्नु स्वभाविक हो । यहाँ पनि धरानका मात्र मानिस दर्शक हुने भए । धरानका मानिसहरु स्तरीय प्रतियोगिता मात्र हेर्न चाहन्छन् । स्तरीय टिम ल्याउनका लागि त्यसै अनुसारको खर्च गर्नुपर्छ । गोल्कपको रेन्ज राम्रो बनाउनका लागि यसको आर्थिक दायरा बढाउनुको विकल्प छैन । धरान नगरपालिका स्थानीय सरकार भएकोले उसले यो प्रतियोगिताका लागि लाग्ने बजेटको आधा व्यवस्थापन गर्ने, धरानको बजारीकरण गर्ने कुरामा, धरानको प्रमोशन गर्ने कुरामा, आर्थिक आर्जन गर्ने कुरामा पनि उसले सबैसँग समन्वय गरिदिएमा
राम्रो हुन्थ्यो । हामीले भन्ने गरेका छौं धरान फुटबल क्लबलाई अहिले हामीलाई भवनको आवश्यकता होइन गोल्डकप प्रमोशन गर्ने कुरा, निरन्तर यसलाई सफल बनाउने कुरामा, धरानबाट नयाँ नयाँ खेलाडी उत्पादन गरेर राष्ट्रका निम्ति केही गर्ने बेला हो । अहिले हामीले लिग खेलिरहेका छौै, एन्फा एकाडेमी सञ्चालन गरिरहेका छौं । यी महत्वपूर्ण कार्य हैनन र ? एउटा क्लब भाडामा बसेर पनि सञ्चालन गरिरहेका छौं । कार्यक्रम हामीसँग छैन । यसको प्रमुख कारण पूँजी हामीसँग छैन । धरान फुटबल क्लबको स्रोत खोइ त ? नगरपालिकाले धरान फुटबल क्लबलाई स्थायी स्रोतको व्यवस्था खोई गरेको त ? हामीले भन्दै आएका छौं केही ठेक्कापट्टा दिनुप¥यो सौचालयको कुरामा हामीले माग गर्दा दिइएन । महोत्सव हामी चलाउँछौं, महोत्सव चलाएर हामी पैसाको व्यवस्था गछौं भन्यौ त्यो पनि दिइएन । अहिले सबै भन्नुहुन्छ गोल्कप राम्रो हुनुपर्छ तर खोई त ? नगरपालिकाले यसको अभिभावकत्व गरिदिए पुग्छ । बुढासुब्बा गोल्डकपलाइ सफल बनाउनका निम्ति अरु गोल्डकप भन्दा उत्कृष्ट बनाउनका लागि हामीले आर्थिक कुरामा सबैभन्दा बढी केन्द्रित हुनैपर्छ । नगरपालिकाले हामो खर्चको ५० प्रतिशत मात्र दिएपनि ५० प्रतिशत स्रोत हामी जुटाउँछौं । यसो भएमा प्रतियोगितामा घाटा हुदैन ।
हाल धरान उपमहानगरपालिकाले तपाईहरुको खर्चको ओभरल कति प्रतिशत खर्च गरिरहेको छ ?
–यसपटक विगतको भन्दा रामै्र दिएको छ । यो नै लास्ट एयर हो । धरान नगरपालिकाका पमुखलाई क्लबमै आमन्त्रण गरेर ल्याई तपाइ पनि फुटबलको मान्छे हो । खै त तपाइको पालामा पनि प्रतियोगितामा केही भएन भने । उहाँले १८ लाख पु¥याइदिनु भएको छ । १५ लाख पुरस्कारको लागि भयो र तीन लाख टिमको खर्च भन्नुभयो । हामीले २५ लाख मागेका थियौं । २५ लाख दिएको भए हामीलाई धेरै कुरामा सहयोग हुने थियो । अहिले पनि केही वितेको छैन । सफल भएपछि केही थपिदिनुस् भनेका छौं । खडेरी लागेको गोल्डकपलाई गुलजार बनाउने छौं । हेरौ उहाँले १८ लाख दिनु भएको छ सबै गरेर हाम्रो आम्दानी ६४ लाख आर्जन गर्ने लक्ष्य लिएका छौं । त्यसमध्ये ५२÷५५ लाख रुपैया आकार घटाएर खर्च गर्ने भनेका छौं । भोलि ६४ लाख मध्ये १८ लाख नगरपालिकाले र १० लाख प्रायोजकले दियो भने अरु ३० लाख उठाउनु प¥यो । ३० लाख कहाँबाट उठाउने ? हामी अप्ठेरो अवस्थामा छौंं । त्यो अनुमान न हो ६४ लाख उठाउने र ५२ लाख खर्च गर्ने कुरा । हाम्रो बजारबाट त्यति पैसा उठ्छ त ? अहिले कोभिडका कारण सम्पूर्ण व्यापार व्यवसाय नै चौपट्ट भएको अवस्था छ । धरान फुटबल क्लबको एउटै उद्देश्य भनेको सफलताका साथ गोल्डकप गराउने हो । अरु कुरा जस्तै भवन निर्माण अन्य गतिविधि गौण कुरा हो ।
२३ औं संस्करणमा आइपुग्दा पनि धरान फुटबल क्लबले दाता खोजेरै बुढासुब्बा टुवोर्ग गोल्डकप गरिरहेको छ । हामीले प्रतियोगिताका लागि स्थायी रुपमा स्रोत जुटाउन सक्दैनौं ?
–कति कोशिश गरेँ । कसले दिने ? नगरपालिकामा बसेर कलम चलाउने मान्छेले फुटबल वा खेलकुदका लागि केही गर्दैन । अहिलेसम्म नगरपालिकाले खेलकुदको विधान त बनाएको छैन । नगरपालिकाले धरानलाई खेलकुदको सहर भन्ने तर केही कुरा ग¥यो भने त्यसका विरुद्धमा लेख्ने, विरुद्धमा आवाज उठाउने तर आफूले कन्ट्रिव्युसनचाहिँ नगर्ने । एउटा खेलकुद विधान बनाएर अगाडि बढ्नुपर्छ कि पर्दैन ? हामीले स्थायी स्रोत साधनकालागि प्रयत्न नगरेको होइन । हामीले क्लबको सदस्य बढाउने कुरा पनि भनिरहेका छौं । क्लबको सदस्य बढाएर जाने कुरामा कार्यसमितिका सदस्य साथीहरुसँग छलफल गरिरहेका छौं । हामीले गोल्डकप फण्ड बनायौ तर सबैले पैसा दिएनन् । जम्मा भएको पैसाको व्याजबाट गोल्डकप गर्ने भन्यौ । गोल्डकपले घाटा खायो पछि त्यही पैसा निकालेर चलाउन बाध्य भयौं । देशको अवस्था अहिले पनि सुशासनको कुरादेखि लिएर हरेक कुरामा कमजोर छ । जब सम्म राज्य बलियो हुँदैन तबसम्म खेलकुदमात्र हैन अन्य विद्यागत कार्यक्रम व्यवसायिक हुन सक्दैन । हामी स्पोट्र्स पनि विजनेशन हो भनेर गइरहेका छौं । यसकालागि कानुन बन्नु प¥यो, बजेट विनियोजन हुनुप¥यो । अब स्थानीय सरकारले नै यसको अभिभावकत्व गर्नुपर्छ ।
अहिले तीन तहका सरकार छन् । तपाईले स्थानीय सरकारको मात्र कुरा गर्नुभयो । प्रदेश र केन्द्रले पनि सहयोग गर्लान् नि, हैन र ?
–मैले पहिलो आँगनको सरकार भएकोले त्यसको बढी कुरा गरें । किनकी हामी त्यसलाई छुन सक्छौं, त्यससँग खेल्न सक्छौं । प्रदेश सरकारले खेलकुदलाई दिने पैसा बन्द गरेको छ । नेपालमा यत्रा यत्रा गोल्डकप भएको छ, ऐतिहासिक गोल्डकप भएको छ । प्रदेश सरकारले त खेलकुदमा कुनै सोचै बनाएको छैन । नेतृत्वमा साथीहरु आउनु भएको छ तर खै त खेलकुदमा सोच ? हामीले केही दिन अगाडि केही कागज पेश गरेका छौं यसपटक पनि दिएन भने हामी गएर थ्रेड गर्ने पक्षमा छौं । हामीले नेताहरुलाई पनि खबरदारी गरेका छौं, यसपटकको बुढासुब्बा गेल्डकपमा, अरुपनि गोल्डकपमा, फुटबलको मात्र नभएर अरु पनि खेलकुदका कायक्रममा प्रदेशले कति बजेट छुट्याउनुपर्ने हो त्यो पैसा गएन भने भोलिका दिनमा तपाईहरुलाई छोड्ने छैनौ भनेका छौं । खेलकुदमा नाममात्रको बजेट छुट्याउने अनि धरानलाई फुटबलको वा खेलकुदको सहर भन्ने तर सहयोग नगर्ने । बुढासुब्बा गोल्डकपलाइ बजेट नदिने यस्तो पनि सरकार हुन्छ ? जसको इतिहास छ, जसले यो ठाउँको खेलकदको इतिहास रचेको छ उसलाई दिनुपर्दैन ? खेलकुद भनेको युवाको सुस्वास्थ्यको कुरा मात्र हैन खेलकुदले पनि देशको अर्थतन्त्रको बजेटलाई टेवा पु¥याउँछ । राम्रोसँग खेलकुदलाई परिचालन गर्न सके त्यसको बजार नेपालमा नहोला तर खेल्न सक्ने र खेल्ने राम्रो प्रतिभा नेपालले उत्पादन गर्न सक्यो भने विदेशी बजारबाट डलर, पाउन्ड,युरो ल्याउन सक्छौं । यसतर्फ सरकारले किन नीति र कार्यक्रम नबनाएको हो ? नेपाली खेलाडीमा खेल खेल्ने राम्रो प्रतिभा छ ।
एन्फाले सहयोग गर्छ कि गर्दैन ?
–एन्फाले त गरिहेको छ । तर यसको आफ्नो सर्टेन बजेट छ । एन्फाले पनि अहिले पैसाचाहिँ दिन सकेको छैन तर अन्य प्राविधिक सहयोगचाहिँ गर्छ ।
चैत्र २६ देखि वैसाख ३ सम्म २३ औ संस्करण गर्ने निर्णय गरिसक्नु भएको छ यसपटक कति टिमको सहभागिता रहन्छ ?
–हामीले अहिले ८ वटा टिम भनेका छौं । पछि टिम तयार हुन्छ ।
