उमेश थापा । नेपाली काँग्रेस प्रदेश नं. १ का निर्वाचित महामन्त्री । नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघबाट अढाइ दशक अगाडि नेपाली काँग्रेसको राजनीतिमा होमिनु भएका थापा धरानका प्रभावशाली युवा काँग्रेस नेताको पंक्तिमा दरिदैै आउनु भएको छ । झण्डै दुई दशकसम्म बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवामा रहँदा पनि उहाँ सुनसरी क्षेत्र न. १ बाट नेपाली काँग्रेसको एघारौ, बाह«ौ र तेह«ौ महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्वाचित हुनु भएको थियो ।
यस भन्दा अगाडि प्रतिष्ठानको जागिर र नेपाली काँग्रेसको सेरेमोनियल पद महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसँगै लिएर हिँड्नु भएका थापा अब कार्यकारिणी जिम्मेवारी अर्थात नेपाली काँग्रेसको प्रदेश नं. १ को महामन्त्रीमा निर्वाचित भएपछि उहाँले प्रतिष्ठानमा बसिरहनु उचित नहुने भन्दै बाहिरिनु भएको छ । उहाँलाई आइतबारै प्रतिष्ठानको अफिसर्स क्लबमा आयोजित एक कार्यक्रमका बीच औपचारिक विदाई समेत गरिएको छ ।
नेपाल रेडक्रस सोसाइटी सुनसरीको अध्यक्ष लगायत आधा दर्जन भन्दा बढी सामाजिक संघ संस्थामा आवद्ध थापा राजनीतिलाई समाजसेवाको रुपमा आगामी दिनमा अगाडि बढाउने सोचमा रहनु भएको छ। उहाँ भनुहुन्छ राजनीति भनेकै समाजसेवा हो । आफू प्रदेश नं. १ को नेपाली काँग्रेसको महामन्त्री जस्तो कार्यकारिणी पदमा निर्वाचित भएपछि अब संगठन विस्तारलाई पहिलो प्राथमिकता दिने, आगामी तीनै तहको निर्वाचनमा काँग्रसलाई वहुमत दिलाउनका लािग सत्रिय हुने बताउनुु हुने थापासँग यसपटक हामीले आशन्न तीनै तहका निर्वाचन, पार्टीको सांगठनिक गतिविधि र सत्ता गठबन्धन दलको औचित्यका सम्बन्धमा केन्द्रित भएर वार्ता गरेका छौं । प्रस्तुत छन् महामन्त्री थापासँग गरिएका वार्ताका सारसंक्षेप :-
तपाईले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवाबाट आइतबारदेखि औपचारिक रुपमै विदा लिनु भएछ, अचानक विदा लिनुको कारण के होला ?
–बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अचानक मैले राजीनामा दिएको चाहिँ होइन । जब म नेपाली काँग्रेस प्रदेश नं. १ को महामन्त्री पदमा मलाई अग्रज नेताहरु, साथीहरुले उठ्नुपर्छ भनेर अगाडि बढाउनुभयो र मैले पनि उठ्ने निधो गरे त्यसैबेला मैले राजीनामा दिएर महामन्त्रीमा निर्वाचन लडेको हुँ । त्यसपछि महामन्त्रीमा म विजयी भएपछि, कार्यकारिणी पदमा गइसकेपछि पूर्णकालीन
राजनैति नै मेरो एकमात्र लक्ष्य भयो । अब पूर्णकालीन नेपाली काँग्रेसको कार्यकर्ता भएर १ नं. प्रदेशमा संगठन विस्तार गर्न लागि पर्नेे छु ।
महामन्त्रीमा उठ्नु भन्दा अगाडि नै राजीनामा दिएको हो ?
–हो । मैले निर्वाचनमा उठ्नुभन्दा अगाडि नै राजीनामा दिएको थिएँ । मैले मंसिर १६ गते प्रतिष्ठानको सेवाबाट राजीनामा दिएको थिएँ ।
स्वीकृत भइसकेको थियो ?
–स्वीकृत त भएको थिएन । स्वीकृतको प्रक्रियामा थियो । अहिले आएर स्वीकृत भयो । मलाई बरबुझारत गर्नु भनियो मैले बुझबुझारत पनि गरिसके । फागुन १५ गतेबाट प्रतिष्ठानको सेवाबाट बाहिरिएको छु ।
यसभन्दा अगाडि पनि राजनीति र जागिरलाई सँगै लिएर हिँड्नु भएको थियो । अहिले त्यसरी हिँड्न सकिदैन थियो र ?
–सकिन्थ्यो होला । तर पहिला म पार्टीको कुनैपनि कार्यकारिणी पदमा थिइन । महाधिवेशन प्रतिनिधि र महासमिति सदसय मात्र थिएँ । त्यो भनेको सेरेमोनियल पदमात्र हो । यो दुई पद भनेको पार्टीको नेतृत्व चयन प्रक्रियामा सहभागी हुने मात्र थियो । म एघारौ, बाह«ौ र १३ औं महाधिवेशनमा नेपाली काँग्रेसको जिल्ला कार्यसमिति सुनसरीको सदस्यको रुपमा कार्यरत थिए । त्यो भनेको पार्टीको खासै कार्यकारिणी पदमा नहुँदा जिम्मेबारी कम थियो । अब अहिले सम्पूर्ण प्रदेश न. १ को कार्यकारिणी पदमा निर्वाचित भएपछि त्यसलाई न्याय गर्नुपर्छ भनेर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवाबाट अलग हुने निर्णय गरेँ ।
धरानमा एउटा स्थापित मान्यता के छ भने उमेश थापा जहाँ हात हाल्छन् त्यहाँ सफल हुन्छन् भन्ने छ । यसलाई तपाई कसरी लिनुहुन्छ ?
–त्यस्तोचाहिँ पक्कै होइन । सबैको माया, सद्भाव हो । एउटा टिम स्प्रिट पनि हो । सधै हाम्रो मार्ग दर्शकको रुपमा प्रदेशसभा सदस्य माननीय चन्द्रप्रसाद श्रेष्ठ रहनु भएको छ । यसका अलावा भीष्म काफ्ले जस्ता अग्रज दाइहरुको सामिप्यतामा धेरै काम गरियो । एक समय मीना सुब्बा पनि हुनुहुन्थ्यो । मीना दिदीसँग सामिप्यतामा रहेर काम गरियो । उहाँहरुको सामिप्यतामा काम गर्दै जाँदा हाम्रो जेनेरेशनका साथीहरु म लगायत अग्रज सुरेशमान श्रेष्ठ उमेरले सिनियर भएपनि पर्वत राई, सुजेन्द्र तामाङ्ग, अनिल श्रेष्ठ, सुभाष राईसँगै जुनियर भाइहरुमा सन्तोष विक, सन्तोष लिम्बु प्रवीण राईहरु सबैको सहयोगले, टिम स्प्रिटको भावनाले राजनीतिमा सफल भएको देखिन्छ । सबै साथीहरुको सहयोग समर्थन छ । यस हिसाबले हामीले राजनीतिलाई अगाडि बढाएका हौं । जहाँ हात हाल्यो त्यही सफलता पाउनु सबै साथीहरुको सहयोग सद्भाव र मायाँ नै हो ।
अबको सोच के छ त ?
–अब राजनीतिमा निरन्तर लागिरहने योजना छ । सामाजिक क्षेत्रमा लाग्ने हो । राजनीति भनेकै समाजसेवा हो । मैले राजनीतिलाई समाजसेवाको रुपमा बुझेको छु । अब म यही क्षेत्रमा आफूलाई समर्पित भएर लिएर जान्छु । म निष्ठा र इमान्दारिताका साथ जनताका कुराहलाई जनताका दुःख सुखको कुरालाई अगाडि बढाएर लिएर जान्छु । स्थापित मुद्दाहरुलाई समाधानतर्फ लैजान्छु । धरानमा धेरै स्थापित मुद्दाहरु छन् । नेपाली काँग्रेसका मूल्य मान्यताका साथ अगाडि बढाउन, निराकरण गर्न पहल गर्छु । अब मेरो ध्यान यसैमा केन्द्रित रहने छ ।
द्धअहिले बजार एउटा हल्ला छ उमेश थापा आगामी स्थानीय निर्वाचनमा धरान उपमहानगरपालिकाको मेयरको दाबेदार हुन् । यसप्रति तपाई के भन्नुहुन्छ ?
–खै बजारमा साथीहरुले, कसले कसले के के भन्नुहुन्छ, त्यो मलाई थाहा छैन । पार्टीको एउटा पदमा पुगिसकेपछि साथी भाइहरुले उमेश थापाको पनि दाबेदारी होला भनेर सदसयतापूर्वक कुरा गर्नुभएको होला । तर यसमा मैले कुनै निर्णय गरिसकेको छुइन । पार्टीको आफ्नो एउटा स्ट्यान्डर्ड नम्स हुन्छ । पार्टी जब निर्वाचनमा होमिसकेपछि निर्वाचनको प्रक्रियामा गइसकेपछि उमेद्वार छनौटको एउटा प्रक्रिया हुन्छ । त्यो पनि अहिले शुरु भइसकेको छैन । अहिले नै मैले म उमेद्वार हो, म मेयरमा उठ्छु भन्नु तर्कसँगत हुँदैन ।
उमेश थापाले आफूले भनेको होइन बजार हल्ला चलेको कुरा गरेको हुँ ?
–बजारमा अब विभिन्न खाले हल्ला चल्छन् । हल्लाको पछि लाग्नु भन्दा पनि समय र परिस्थितिले मान्छेलाई कहाँ पु¥याउँछ । समय नै बलवान हुन्छ । अब भोलिको दिनमा कस्तो परिस्थिति सिर्जना हुन्छ त्यसै अनुसार हिँड्नुपर्छ । अहिले मेरो कुरा बजार हल्लामै सीमित होस् ।
तपाई धरान उपमहानगरपालिकाको वैसाख ३० गते हुने निर्वाचनमा मेयरको आकांक्षीचाहिँ हो कि होइन ?
–आकांक्षा त मेरो मात्र होइन अरुका पनि छन् । राजनीति गर्दा समाजलाई कुनै न कुनै रुपले सेवा गरौ भन्ने हुन्छ । म फलानो पदमा नै उठ्छु भन्ने निर्णय गरेको छैन । समय परिस्थितिले नेतृत्वमा स्थापित हुन सक्नुपर्छ । मैले अहिले नै आकांक्षी हुँ भनेर घोषणा गरेर हिड्ने समय आएको छैन ।
आगामी स्थानीय निर्वाचनमा वर्तमान गठबन्धन मिलेर जानु राम्रो कि नेपाली काँग्रेस एक्लै निर्वाचनमा जानु राम्रो ?
–स्थानीय तह भनेको स्थानीय भुगोल, स्थानीय पार्टीको संगठन सबै कुरा हेर्नुपर्छ । पार्टीको संगठन, स्थानीय क्षमता सबै हेर्नुपर्छ । प्रदेश र संघको निर्वाचनमा राष्ट्रिय लेवलमा सहकार्य गरेर जाँदा नै राम्रो होला । अब स्थानीय लेवलको चुनावचाँिह काँग्रेसले आफनो उपस्थिति हेरेर निर्णय गर्नुपर्छ । धरान वा सुनसरीको सवालमा काँग्रेस अत्यन्तै बलियो छ । हामी यहाँ मजबुत छौं । यहाँ चुनाव काँग्रेस एक्लै लड्नुपर्छ । पहाडी क्षेत्रमा, त्यहाँको साँगठनिक अवस्थाको कारणले गर्दा समीकरण बन्लान्, गठबन्धन बन्ला तर राष्ट्रिय लेवलबाट पार्टीले निर्णय गरेर, प्रदेश लेवलबाटै पार्टीले निर्णय गरेर फलानो दलसँग यो ठाउँमा मिलेर जाने कुरा हुदैन । त्यहीको पार्टी कमिटीलाई छोडिदिनुपर्छ । जहाँ आफू मतबुत छौं त्यहाँ एक्लै लड्नपर्छ जहाँ आफू कमजोर छौं त्यहाँचाहिँ गठबन्धन दल, अन्य दलसँग समीकरण गरेर चुनावमा जाँदा राम्रो हुन्छ ।
अधिकांश नेपाली काँग्रेसका कार्यकर्ताहरुले निर्वाचनमा गठबन्धन गरेर जानु हुँदैन कँग्रेस एक्लै चुनावमा जानुपर्छ भनिरहेका छन् । तपाई त्यसमा के भन्नुहुन्छ ?
–वास्तमा विगतका निर्वाचनले के देखाएको छ भने काँग्रेसका कार्यकर्ता, काँग्रेसका मतदाताहरुले जो काँग्रेस पारम्परिक भोट बैंक छ र अर्को कार्यकर्ता यी दुवै काँग्रेसका भोट बैंक हुन् । यिनीहरुले विगतमा केही ठाउँमा भएको गठबन्धनमा इमान्दारिताका साथ भोट हालेको देखिन्छ । तर काँग्रेसको पक्षमा आइसकेपछि काँग्रेसलाई भोट हालेको देखिदैन । हामीले धेरै ठाउँमा यो अनुभव गरेका छौं । त्यसो भएको हुनाले पनि कार्यकर्ताहरुमा, हाम्रा मतदाता, शुभचिन्तकहरुमा काँग्रेसले एक्लै चुनाव लडेको उपयुक्त हुन्छ भन्नुभएको छ । म त्यहीँभित्र पर्छु । म पनि काँग्रेसको त्यही कायकर्ताको कोटीभित्र पर्छु । हामी एक्लै चुनाव लड्नुपर्छ भन्नेमा छु ।
तपाई एउटा महामन्त्री पनि हुनुहुन्छ । संगठनलाई अब कसरी अगाडि बढाउने सोचमा हुनुहुन्छ ?
–नेपाली काँग्रेसको यो १ नं. प्रदेशमा भन्नुपर्दा संगठनको आधार मजबुत छ । विगतको एउटा निर्वाचनलाई हेरेर मात्र त्यसैलाई आधार मान्नु हुँदैन । विगतको निर्वाचनलाई हेदै गर्दा तुलनात्मक रुपमा पहाडका दुई तीन वटा जिल्लामा सागठनिक आधार केही कमजोर हो कि भन्ने देखिएको थियो । तर अब अहिले १४ औं महाधिवेशन पश्चात नेपाली काँग्रेसमा ऊर्जा प्राप्त भएको छ । यतिबेला हरेक जिल्लाका साथीहरु संगठन विस्तारमा द्रुत गतिमा लाग्नु भएको छ । नेपाली काँग्रेस प्रदेश कार्यसिमितिले पनि काँग्रेसको संगठनलाई टोल टोलसम्म पु¥याउन एउटा अभियानको रुपमा लिएर गइसकेको छ । टोल कमिटीलाई गठन गर्नुपर्छ । काँग्रेसको विधानकै एउटा अंग बनिसकेपछि यतिबेला निर्वाचन क्षेत्र स्थानीय तहमा टोल कमिटी गठन भइरहेको छ । नेपाली काँग्रेस प्रदेश कार्यसमिति र केन्द्रीय कार्यसमितिलेपनि घर घरमा काँग्रेस जाउ भन्ने जुन अभियान चलाएको छ त्यसले संगठन अभियानको रुपमा लिएर गएको छ । अन्य पार्टीका साथीहलाई पार्टी प्रवेश गराउने कुरालाई पनि अभियानकै रुपमा लैजानुपर्छ । संगठन विस्तारको हकमा काँग्रेसको सदस्यता वितरणलाई अभियानका रुपमा लिएर जानुपर्छ भनेर प्रदेश कार्यसमिति लागेको छ । त्यसमा प्रदेश कार्यसमितिले आफनो कार्ययोजना बनाएर अगाडि बढिरहेको छ । समुच्चा प्रदेश कार्यसमिति संगठन विस्तारमा केन्द्रित भएको छ ।
अरु केही छ ?
–मलाई आफ्ना विचार राख्ने मौका दिएकोमा धेरै धेरै धन्यवाद ।



