घण्टाघरबाट हेर्दा

बाबुराम कामीको बकबक
आयाराम गयराम दलका कारिन्दा बाउराम कामी माने हिसिला पोइ हिजोआज निकै बकबक गर्न थाल्या छन् । मान्छेको आवरणमा लटपट्टिएका भगवानले तिन्को बुद्धिचाहिँ हरण गरेकै हुनुपर्छ । कहिले कता दौडन्छन् । कहिले कता बुर्र्कुसी मार्छन् । दौडिने र बुर्कुसी मार्ने सबै दरबाजाहरु बन्द भएसी हिजोआज उपिन्दर जादवको मलद्वारलाई हरिद्वार देखेर चमर हल्लाइरहेका छन् । नामको अगाडि डा. लेख्ने ती कहिले धर्मका विरुद्धमा बकबक गर्छन् त कहिले इतिहासका विरुद्धमा । अतिस्का दिन त तिन्ले यो मुुलुकाँ पृथ्वीनाराणण शाह भन्ने नै थिएनन् यो त काल्पनिक पात्र हो भनेर हावा फैल्याएछन् । हुन त उपिन्दर जादवको मलद्वारमा चमर हल्लाउनेको बुद्धि पनि के होस् ? तिन्ले इतिहास पढ्या भए पो बुझ्थे ? कुन दिन तिन्ले आफ्नै बाबुलाई बाबु होइन भने अन्यथा नमाने हुन्छ । बकबक पनि अरुलाई पच्ने सम्म मात्र गरेको वेश । अपच हुने गरी बकबक गर्दा तिनको थुतुनो उधारदेलान् भनेर हिजोआज घण्टाघरलाई पो चिन्ता लाग्न थाल्या छ ।


माकुनेको रोदन
आउने स्थानीय निर्वाचनमा माकुनेको हालत चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी जस्तो हुने लक्षण देखिएको छ । स्थानीय निर्वाचनबाट पत्तासाफ हुने भएसी बुइँ चढेर यतिका दिन डामेको साँडे झै भएका माकुने भन्ने जन्तु नै नेपालको राजनीतिबाट कोल्पाप्स हुने अस्थामा पुग्ने भएपछि विचराको चैन र निन्द्रा गायव हुने नै भयो । तिन्ले निर्वाचन सार्ने सानो प्रयास ग¥या हैनन् । तर कुनै जोर नचलेसी यतिबेला गठबन्धन कायम गर्ने भए मात्र वैसाखमा चुनाव गरम नत्र सारम भन्न थाल्या छन् । माकुनेको वैतरणी तार्ने जिम्मा लाँगेसले लिएको छैन । बडो ठूला ठूला डिङ हाक्थे । चुनाव भन्ने वित्तिकै सुरुवाल विगार्ने ? आफ्नै घरमा आगो लगाउनेले अर्काको घरप्रति भलो चिताउनै सक्दैन खुरुक्क आ–आफ्नो चुनाव चिन्हमा चुनाव लड्ने हो, वातै खलास । माकुने चिप्लियोस् कि प्रचण्डाउ चिप्लिउन् काँग्रेसलाई वाल मतलब ।
केसीको पार्टी चिलिम
जसको सिङ छैन उसैको नाम तीखे त्यसै भन्या होइन । अब हेरम न अपवित्र पाँच दलीय गठबन्धनमा छिरेको चित्रबहादुर केसीको राष्ट्रिय जनमोर्चा चिलिम भएछ । अर्थात अस्तिका दिन चोइटिएछ । हुन त केसीको पार्टी चोइटिनुको कुनै तुक नै छैन । नचोइटिदा पनि उस्तै चोइटिदा पनि उस्तै । न संसदमा तिघ्रा बजार्न सांसद् छन् न अब हुने चुनावमा जित्लान् । वित्थाँ गठबन्धनमा छिरेर विटुलो भए
केसी । यतिका दिनसम्म हिंग नभएपनि हिंग बाँधेको टालो भनेर जन्ताहरुले मत नदिए पनि पत्याइदिएका थिए । अब त हिंगका गन्ध नै नभएको टालोजस्तो भएको छ । मधेशीमा एउटा उखान छ बुढुवा सढिया गेले । गठबन्धमा छिरेर केसी पनि सढियाएछन् ।
उपिन्दरलाई बाह बजाउने भए
नन स्टप बोल्न नसक्ने, बोल्दा बेक लगाउँदै बोल्नुपर्ने लाँग्रेसका सभापति शेरबहादुर देउवाको काँधमा बन्दुक राखेर सत्ताका स्वाद लिँदै आगामी निर्वाचनमा खेलो फड्को मारुम्ला भनेर गजक्क परेका उपिन्दर जादव यसपटक घर न घटको हुने भएका छन् । डा. सिके राउतका कार्जेकर्ताहरुले जादव, माकुने , प्रचण्डाउको यतिबेला तराईमा हुर्मत लिन थाल्या छन् । तिनका कैयौ कार्जेकर्ताको डँडेल्नुमा भाटाको छाप बसाइदिएका छन् । तवा तवा बनाएसी’ जादव बडो टेन्सिनमा प¥या छन् । तराईमा गएर चुनाउ लड्न सक्ने अवस्थामा छैनन् । पहाड उक्लिउ भने कसैलाई पत्याइ दिँदैनन् । यो भन्दा ठूलो टेन्सिन अरु के हुन्छ ?
खुद्रा पसल हो रे
झालेमालेका नेता टोपबहादुर रायमाझीले भन्या प्रचण्डाउले चलाएको पार्टी खुद्रा पसल जस्तै हो रे । आउने निर्वाचनमा साफ हुन्छ रे । आखिरी रायमाझी खप्रओका चेला चपेटा न परे । त्यत्रा मान्छे सिध्याएर, त्यत्रा भौतिक संरचना नष्ट गरेर, त्यत्रा बैंक र व्यक्तिको सम्पत्ति लुटेर बनाएको पार्टी पनि कहीँ खुद्रे हुन्छ ? ती टोपबहादुर रायमाझी पनि हावामै बोल्दा रै’छन् । त्यो त होलसेल पार्टी पो हो
त । बरु अरु पार्टीचाहिँ खुद्रा हुन सक्छन् । फेरि प्रचण्डाउले खुद्रा पसल जस्तो पार्टी चलाउने कुरा पनि भएन । कुनदिन चतरामा आएर प्रचण्डाउले फेरि भैसी पूजा गर्दिन्छन् अनि टोपबहादुरले थापा पाउलान् खुद्रा हो कि होलसेल । थुुनोमा जे मन लाग्यो त्यही प्याच्च नबोल्नु भन्ने कुरा रायमाझीलाई कस्तो हेक्का नभएको होला ?
वित्थामा के रडाको ग¥या
लाँग्रेसका नेताहरु पनि कहिलेकाँही त बुझेर पनि बुझ पचाएको जस्तो हुँदारै’छन् । अब हेरम न सभापति आच्या बुढानिलकण्ठे मुखियाले पार्टीको केन्द्रीय सम्पादन समितिमा आफ्ना अरौटे, भरौटे चुनावमा हारेका, मनोनयन गरेर पनि हार्ने डरले मनोनयन फिर्ता लिएकाहरुलाई ग्यामग्याम्ती राखे भनेर एकथिरले नाक फुलाएका छन् । किन नाक फुलाएका होलान् ? त्यो केन्द्रीय सम्पादन समिति भन्या डम्पिङ साइड हो भन्ने कुरा बुझ्नु पर्दैन ? कसैले नपत्याउने, चुनावमा लाजमर्दाे ढंगले चिप्लिएका, चिप्लिने डरले मनोनयन फिर्ता लिएका, भनसुन गर्न सक्नेहरुलाई थन्क्याउने ठाम हो । डम्पिङ कार्य सम्पादन समितिमा त्यस्ता अनुहार , हुति नभएका, ल्याकत नभएकाहरुलाई थन्क्याइदिएपछि लन्ठै साफ । डम्पिङ साइडमा बस्न पाउँदा तिनीहरु पनि मख्ख । बात विरोध गर्नुमा छैन, बुझ्नुमा छ ।
देशव्यापी प्रदर्शन गर्ने रे
कस्ता कस्ता कहाँ गए केही लछारपाटो लागेन अब नाममात्रको क्रान्तिकारी माओवादीले एमसिसीको विरुद्धमा देशव्यापी प्रदर्शन गर्ने रे । अलिकति त पत्याउने गफ हान । के वित्थामा जोत हान्या ? क्रान्तिकारी माउवादीका अध्येक्षे वैधवाले आन्दोलनको घोषणा गरेछन् । विचराको उभिने हुती छैन, आन्दोलन गर्ने ? अलिकति पत्याउने गफ पो गर्नुपर्छ त । आन्दोलनमा ढुंगा, मुढा लाठा गर्ने पनि चाहिन्छ त्यसै आदोलन हुँदैन । कस्ता कस्ता मै हुँ भन्नेहरु सडकमा उफ्रिएर थाकेर गए अब हिरिक्क भएका वैधवालाई बुढेशकालमा के को जोश चलेको होला ? हुन त जमात लिएर केही दिन उफ्रदा कमिशनको अफर आउन सक्छ । एमसिसीको विरोध पनि व्यापारै होला जस्तो छ ।
६ करोडको पुल खित्रिक्क
अब नेपाली ठेकेदारहरुे पुल बनाइसकेपछि टेको झिक्ने कामचाहिँ गर्दै नगर्नु है । वित्थामा टेन्सन आइलाग्छ । अब हेरम न गण्डकी प्रदेशमा ६ करोडमा एउटा पुल बनेछ । रंग रोगन पनि भएछ अन्तमा पुल बनाउँदा प्रयोग गरेको टेको झिक्दा पुल खित्रिक्क बीचैमा भाँचिएछ । किन नभाचियोस् त ? पुलमा जे जति पोषणतत्व सिमेन्ट, रड, बालुवा, गिटी लाग्नुपर्ने थियो त्यसको आधा केन्द्रका भुँडेदेखि स्थानीय नव घ्याम्पेहरुको पटमा छिरेपछि पुल खित्रिक्क हुने नै भयो कुपोषण भएपति यस्तै हो । कि कसो हौ ?

तपाईको प्रतिक्रिया